आयोजकलाई हराउँदै आर्मीले जित्याे झापा गाेल्डकपकाे उपाधि

 फागुन २७, २०७५ सोमबार १७:३१:१३ | सुश्मा राजवंशी
unn.prixa.net

झापा - झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । झापाको डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली झापा ११ लाई ५–३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भयो ।

उपाधि जितेसँगै आर्मीले नगद १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । उपविजेता झापाले नगद ६ लाख ५ हजार पाएको छ ।

झापाले भने यस पटक पनि उपाधि जित्न सकेन ।२२ औं मिनेटमा झापाका खेलाडीले आर्मीका कप्तान भरत खवासलाई फल गरेपछि डी बक्सबाहिरबाट पाएको फ्रीकिकलाई सन्तोष तामाङले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

यसैगरी ३३ औं मिनेटमा भरत खवासले गोल गर्दै अग्रता दोब्बर बनाए । नवयुग श्रेष्ठले प्रहार गरेको बल क्लियर गर्न नसक्दा खवासले जाली चुमाएका थिए । तर ४३ औं मिनेटमा झापा ११ ले एक गोल फर्काएको थियो । फ्रान्सिसले गोल गर्दै पहिलो हाफमा अग्रता दुई एकमा झारेका थिए ।

५४ औं मिनेटमा झापाका लागि हेमन गुरुङले गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए । ७५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गदै आर्मीलाई ३–२ को अवस्थामा लगेका थिए । ८५ औं मिनेटमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले ४–२ को अग्रता बनाउन पुगेको थियो । त्यसपछि पनि आर्मीले गोल थपेको थियो । टेकबहादुर बुढाथोकीले इन्ज्युरी टाइममा गोल थप्दै आर्मीलाई ५–२ काे अवस्थामा लगेका थिए ।

अन्तिम समयमा झापा ११ ले थप एक गाेल गर्दै अन्तर ५- ३ मा झारेकाे थियाे ।

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि पनि हात पारेको थियो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया