चर्को विरोधपछि भूमिकास्थान नगरपालिकाले ह्वात्तै घटायो कर तथा सेवा शुल्क

 फागुन ३०, २०७५ बिहिबार १५:१७:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – जिल्लामै सबैभन्दा बढी कर लिइरहेको भूमिकास्थान नगरपालिकाले करको दर ह्वात्तै घटाएको छ ।  नगरपालिकाले कर घटाएपछि स्थानीयहरु खुशी भएका छन् । 

नगरपालिकाका स्थानीय नागरिकले कर सारै बढी भएको र जिल्लाका अन्य स्थानीय तहमा भन्दा बढी भएको भनेर गुनासो गरेपछि नगर कार्यपालिकाको चौथोे नगरसभा बैठकले  औसतमा ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेको हो । 

जन्म दर्ता र मृत्यु दर्ताको सेवा शुल्क पाँच सय रुपैयाँ लिँदै आएकोमा यसलाई घटाएर ८ रुपैयाँमा झारिएको छ । नेपालकै कानुनअनुसार ३५ दिन सम्म निःशुल्क, ३५ दिनपछि जन्म दर्ता र मृत्यु दर्ताको लागि पाँच सय लिने गरिएकोमा ३५ देखि ७० दिनसम्म आएमा ८ रुपैयाँ र त्यसभन्दा पछि आएमा ५० रुपैयाँ बनाइएको नगर उपप्रमुख खडानन्द बेल्वासेले बताउनुभयाे । 

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि रामराज्य नै होला भन्ने सोचेर जनआन्दोलनमा होमिएका स्थानीयहरु नगरपालिकाले कर बढाएकोमा आक्रोशित बनेका थिए । तर बढाएको कर घटाएपछि अहिले स्थानीयहरु मात्र हैन राजनीतिक दलहरुले पनि कर घटाउने निर्णयको स्वागत गरेका छन् । नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले कर घटाउने निर्णयले नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको बताएका छन् । 

नगरपालिकाले जग्गाको करको पनि दर घटाएको छ । खरको छानो भएको घरको कर वार्षिक ५० रुपैयाँ लिने गरिएकोमा यसलाई अहिले शून्यमा झारिएको छ । सम्पत्ति करअन्तर्गत कच्ची घरको एक सय, पक्की घरको दुई सय र फुसको घरको ५० रुपैयाँका हिसाबले भूमिकास्थान नगरपालिकाले कर उठाउने गरेको थियो  । तर अहिले पक्की घरको एक सय र कच्ची घरको पचास रुपैयाँ बनाइएको छ । सबैतिरबाट कर बढी भएको र घटाउनु पर्छ भन्ने आवाज आएपछि कर घटाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले बताउनुभयो । 

व्यवसाय करअन्तर्गत कपडा, फेन्सी र किराना पसलको दुई हजार र एक हजार,  औषधि पसलको एक हजार कर उठाउने गरेकोमा अहिले घटाएर सात सय रुपैयाँ बनाइएको छ ।  

स्थानीय तहको चुनाव सम्पन्न भएपछि सिंहदरबारको अधिकार घरघरमा भन्ने नारा आए पनि कर ह्वात्तै बढेपछि नागरिक चिन्तित बनेका थिए  । जिल्लामा रहेका ६ वटै स्थानीय सरकारले फरक–फरक कर लिने गरी नगर तथा गाउँसभाको बैठकबाट निर्णय गरी कार्यान्वयनमा लागेका छन् । 

नेपालकै काुननमा लेखिएअनुसार ३५ दिनसम्म जन्म, मृत्यु, बसाइसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको निःशुल्क व्यवस्था भए पनि त्यसपछि भने दस्तुर तिर्नु पर्नेछ । विवाह दर्ताका लागि  यहाँका स्थानीय तहले एक सय देखि पाँच सयसम्म शेवा शुल्क लिने गरेका छन् ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया