माइतीघरमा ‘सप्ताह’ लगाउन खोज्दै उपसचिव पोख्रेल

 चैत १, २०७५ शुक्रबार १०:२९:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – बिहीबार बिहान ८ बजेतिर काठमाण्डौको माइतीघरमा सप्ताह लगाउने भन्दै नेपाल सरकारका एकजना उपसचिव पुगे । माइतीघरमा सकभर जुलुस, अनसन, धर्ना, प्रदर्शनलगायतका क्रियाकलाप हुन नदिन प्रहरी बसिरहेको हुन्छ । धर्ना, प्रदर्शनभन्दा फरक खालको क्रियाकलाप गर्न उपसचिव बिहानै माइतीघर पुगेका थिए ।

उपसचिवले सप्ताह लगाउने भन्दै झोलाबाट ब्यानर झिकेर माइतीघरको पर्खालमा टाँस्न थालेपछि प्रहरी जिल खायो । उपसचिवलाई प्रहरीले सोध्यो, ‘तपाइँले कस्तो सप्ताह लगाउन खोज्या हो ?’

उपसचिवले जवाफ दिए, ‘मेरो सप्ताह धार्मिक सप्ताह होइन, देशमा सुशासनको लागि एकहप्ते दबाब कार्यक्रम हो, यसलाई मैले सप्ताहको रुपमा लिएको छु ।’ 

माइतीघरमा विरोधका कार्यक्रममा कडाइ गरेको प्रहरीले त्यहाँ धर्ना बस्न नपाइने जानकारी दियो । तर उपसचिवले भने सुशासनको लागि आफूले अभियान चलाइरहेको र यसलाई प्रहरीले रोक्न नमिल्ने बताए । 
त्यसपछि प्रहरीले आफूभन्दा माथिल्लो निकायलाई जानकारी गरायो । माथिको आदेश आयो, ‘हाकिमसाबलाई माइतीघरमा बस्न नदिनु ।’ माथिको आदेशपछि प्रहरीले ब्यानर र पर्चा कब्जामा लियो र उनलाई गाडीमा राखेर प्रहरी वृत सिंहदरबार पुर्‍यायाे ।  दिनभरी वृतमै राखियो, बेलुकी छ बजे मात्रै छोड्यो । 

यसरी सप्ताह लगाउन खोज्ने उपसचिव हुनुहुन्थ्यो, ईश्वरी पोख्रेल । उपसचिव पोख्रेल शुक्रबार पनि बिहानै माइतीघर पुग्नुभयो । सुशासनको सप्ताह लगाउने अडान लिएका उपसचिव पोख्रेल माइतीघरमा धर्नामा बस्न थालेको जानकारी त्यहाँका प्रहरीले हाकिमलाई सुनाए । उपसचिव पोख्रेललाई हिरासतमा राख्नको लागि आदेश आएको छ । अहिले पोख्रेललाई स्वास्थ्य परीक्षणको लागि वीर अस्पताल लगिएको छ । 

सुशासनको पक्षमा बोल्न नपाइने कस्तो लोकतन्त्र : उपसचिव पोख्रेल

प्रहरीले पक्राउ गरेर स्वास्थ्य परीक्षणको लागि वीर अस्पताल पुर्याउनुअघि उज्यालो अनलाइनसँग उपसचिव पोख्रेलले भन्नुभयो, ‘हामीले लोकतन्त्र ल्याएका छौं, सुशासनको लागि बोल्दा हिरासतमा जानुपर्ने कस्तो लोकतन्त्र ल्याएका रहेछौं भनेर म चकित परेको छु ।’ जहाँ पुर्‍याए पनि आफू सुशासनको लागि दबाबमुलक सप्ताहबाट पछि नहट्ने उहाँको भनाई छ । 

देशमा संविधान कानुनले भन्दा मन्त्री र सचिवहरुले जे बोल्यो त्यही हुने गरेको उहाँको भनाई छ । उहाँले आफू सरकारी पदमा रहँदा धेरै कुशासन देखेको र त्यही कुरालाई बाहिर ल्याउन कोसिस गरेको दावी गर्नुभयो । 

शिक्षा सेवाका उपसचिव पोख्रेल कर्मचारी समायोजना पनि असन्तुष्ट हुनुहुन्छ । समायोजन फारम नभरेका पोख्रेललाई सरकारले अर्घाखाँचीको भूमिकास्थान गाउँपालिकामा पठाएको छ । 

यसअघि सरुवामा सचिवको मनोमानी भएको भन्दै अर्का उपसचिव प्रेम सञ्जेलले पनि असन्तुष्टि जनाउनुभएको थियो । लामो विवादपछि सञ्जेलले श्रम कार्यालय विराटनगर पुगेर काम थाल्नुभएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया