काम सपार्न नखोज्नेहरूको जमघटमा गफ : त्यसैले देश बिग्रियो !
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – बाजुराका जयराज सार्की र गुल्मीकी सुशीला भुषाल दुवै उच्च शिक्षा पढ्दै थिए । एउटै कक्षा पढ्ने उनीहरुबीच घनिष्ठता बढ्न थाल्यो । सुरुमा साथी बनेका उनीहरु भेटघाट बाक्लिन थालेपछि प्रेमी प्रेमिका बने । गोप्य रुपमा भेट्थे । सुखदुःख साटासाट गर्थे ।
तर यो गोप्य रहन सकेन । उनीहरुबीचको प्रेम सुशीलाका दाइ र दिदीको कानमा पुग्यो । सुरुमा उनीहरुलाई पनि यो पत्यार लागेको थिएन । आफ्नी बहिनी दलित समुदायका केटासँग ‘डेट’ गर्छिन् भन्ने कुराले उनीहरुको मनमा ‘भूकम्प’ गयो ।
एकदिन जयराज ‘नोटबुक’ लिन सुशीलाको कोठामा पुगेका थिए । नोटबुक लिएर फर्किने क्रममा सुशीलाका दाईले देखे ।
यसपछि जयराज र सुशीलालाई हेर्ने दाइ र दिदीको दृष्टिकोण बदलियो । सुशीलामाथि कुटपिट र जयराजमाथि ज्यान लिने धम्की सुरु भयो । दाइ र दिदीको यो अत्याचारपछि दुवैजना विवाह गर्ने निष्कर्षमा पुगे ।
भागेर विवाह गरेपछि सुशीलाका दाइ र दिदीले अनामनगरमा बालबिवाहको उजुरी दर्ता गराए । त्यतिबेला सुुशिलाको उमेर विहेका लागि पूर्ण थिएन । प्रहरीले दुवैलाई आफन्तको जिम्मा लगाएर सहमति गरायो । तर उनीहरु छुट्टिन सकेनन् । उमेर नपुगे पनि परिस्थितिले बिहे गराएको थियो । यो दुई वर्ष अघिको कुरा हो ।
‘त्यतिबेला मेरो उमेर पुगेको थिएन । यद्यपि बिहे रहरले भन्दा बाध्यताले गरेकी थिएँ । तर अहिले चुनौतीपूर्ण भए पनि स्वीकार गरेकी छु’ सुशीलाले भनिन् ।
ज्यान जोगाउँदै, भाग्दै !
सुशीलाको उमेरका कारण प्रहरीले दुवैजनालाई आफन्तको जिम्मा लगाएको थियो । तर उनीहरु फेरि एक भए । काठमाण्डौबाट भागेर कैलाली पुगे । प्रहरीको सहमति पनि लत्याएपछि आफन्त थप आक्रोशित भए ।
सुशीलाका आफन्तबाट भाग्दै
भाग्दै यो जोडी कहिले काठमाण्डौ, कहिले धनगढी, अनि कहिले बाजुरा पुग्यो । तर धम्की आउन छाडेन ।
जयराजलाई जहाँ भेट्यो त्यही मारिदिने सुशीलाका दाई कमल भुषालको धम्की थियो । उनी सरकारी जागिरे हुन् । आफ्नो कूलको इज्जत फालेको भन्दै उनी जयराजलाई मार्ने धम्की दिँदै गए ।
सुशीलाकी दिदी रुमा पनि दाइकै पक्षमा थिइन् । पेशाले उनी शिक्षिका हुन् । तर आमाबुवा, दाइ र परिवारको सहमति विपरित विवाह गरेको भन्दै रमा पनि जयराजलाई नै ‘ठिक’ पार्ने धम्की दिन लागिन् ।
विवाह गरेलगत्तै यो जोडी भूमिगत बन्यो । नम्बरहरु फेरि फेरि चलाउनु परे पनि सामाजिक सञ्जाल फेसबुक भने नियमित प्रयोग गर्थे । दाइ कमल र दिदी रुमाले फेसबुकमार्फत नै धम्कीकै शैलीमा एकअर्काबाट छुट्टिन पटक–पटक चेतावनी दिए ।
तर यो जोडीले आफ्नो प्रेमको बलिदान दिन मानेनन् । फलस्वरुप उनीहरुले घर छाडे । गाउँ छाडे । शहरका गल्ली गल्ली पनि फेर्दै हिँडे । यसरी दुई वर्ष गुजारे ।
दाइको धम्की : बरु जेल बस्छु, मारेरै छाड्छु !
रिसाउनु, अत्याउनु, धम्क्याउनु फरक कुरा हो । तर पटक–पटक मारिदिने धम्की आइरहेपछि जयराज–सुशीलाको धैर्यको बाँध टुटेको हो । ‘जतिबेला पनि मारिदिने भन्छन् । हाम्रो कूलको इज्जत फालिस्, अब तँलाई बाँकी राख्दैनौं, आफूले नसके पनि मान्छे लगाएर उडाइदिने भन्छन् । दिनका दिन धम्की आउन थालेपछि डर लाग्न थाल्यो । साँच्चै मरिन्छ कि भन्ने पनि लाग्यो । अनि काठमाण्डौ आएँ’ जयराजले भने ।
सुशीलाका दाई कमलले म्यासेन्जरमा पठाएको धम्कीपूर्ण चेतावनीलाई जयराजले ‘स्क्रिनसट’ गरेर सुरक्षित राखेका छन् । त्यसमध्येको एउटा स्क्रिनसटमा कमलले धम्की दिँदै लेखेका छन् ‘बरु जेल बस्छु । छोड्ने वाला छैन । मान्छे लगाएर हुन्छ कि कसरी हुन्छ उडाइदिने (मारिदिने) हो ।’ यसलाई सामान्य रुपमा नलिन र होशियार हुन भन्दै थप धम्की दिँदै उनले लेखेका छन्, ‘साले सार्की ! तेरो त इज्जत थिएन । हाम्रो बेइज्जत गरिस् ।’
जयराज दलित हुन् । जयराजलाई होच्याउँदै नेपाल सरकारका निजामति कर्मचारी रहेका कमलले धम्की दिएका छन्, ‘जसरी भए पनि तिमीहरु मरेको देख्न र सुन्न तयार छौँ हामी । जति छिटो मर्छौ, त्यति छिटो हामी खुशी हुन्छौं ।’
दिदीको धम्की : जहाँ जे पनि हुन सक्छ !
जयराजको मेसेन्जरमा यस्ता अनगिन्ती धम्की छन् । धम्की जयराजलाई मात्रै होइन, सुशीलालाई पनि दिदी रुमाले गालीगलौज गर्दै धम्की दिएकी छन् ।
जसमध्ये एउटा स्क्रिनसटमा यस्तो धम्की देखिन्छ, ‘मरिस् की जिउँदै छस, ‘सर्किनी’ ! तँ मर्छेस् यता नआए हुन्छ । ख्याल गरेस्, जहाँ जे पनि हुन सक्छ ।’
दाइ र दिदीले आफूलाई यसरी होच्याउन थालेपछि सुशीला एकहोरिएकी छिन् । बिहे गरेकै कारण आफू दाइ दिदीबाटै मारिन्छु भन्ने कुरा उनले कल्पना समेत गरेकी थिइनन् ।
तर लगातार जसो दाइ दिदीबाट धम्की आइरहेपछि उनलाई पनि असुरक्षित रहेको आभास हुन थाल्यो । अनि बलियो गरी जयराजको हात समातेर उनी ज्यान जोगाउन लागिन् ।
‘मेरो खुसीले बिहे गर्दा आफन्तबाटै यति धेरै ‘टर्चर’ हुन्छ भनेर मैले सपनामा पनि सोचेकी थिइनँ । तर जब दिदीबाट लगातार धम्की आउन थाल्यो । मलाई मेरोभन्दा बढी जयको चिन्ता लाग्यो । ढिला गर्दा जे पनि हुन सक्छ भनेर काठमाण्डौ आएकी हुँ’ उनले भनिन् ।
सुरुमा उनीहरुले दाइ र दिदीको धम्कीलाई सामान्य रुपमै लिएका थिए । तर धम्की रोकिनुको साटो झन् बढ्न थालेपछि उनीहरुले बस्दै आएको धनगढीको कोठा पनि छाडे । आफूले नसके पनि मान्छे लगाएर मार्छु भन्ने धम्कीले उनीहरु दुवैजना सुरक्षाका लागि काठमाण्डौ हिँडेका हुन् ।
सकेसम्म कानुनी बाटोबाटै समाधान गर्ने उद्देश्यले यो समस्या सुरुमा उनीहरुले अधिवक्ता रामबहादुर मिजारलाई सुनाएका थिए । मिजार जयराज र सुशीलाको बिहेपछि उत्पन्न समस्यादेखि नै ‘अपडेट’ छन् ।
राष्ट्रिय दलित आयोगमा कानुनी सल्लाहकार तथा परामर्शदाता भएर काम गरेका मिजारले कानुनी बाटोभन्दा ‘भूमिगत’ भएरै बस्न सल्लाह दिए । तर उनको सल्लाहले पीडकको हौसला बढ्दै गयो । पीडित जयराज र सुशीलामाथि अन्याचार बढ्दै गयो ।
‘सुरुमा बिहे गर्दा उनीहरुको उमेर पुगेको थिएन । त्यतिबेला प्रहरीले छुट्याई दिएर आफन्तको जिम्मा लगाएको थियो । तर अहिले उमेर पुगेको छ । त्यति समस्या नहोला । धम्की त त्यतिबेलादेखि पनि आइरहेकै थियो’ उहाँले भन्नुभयो ।
१५ औँ मृतक बन्नु पर्ने त होइन ?
छोराले बाहुनकी छोरीसँग बिहे गरेकै कारण दैलेखका सेते दमाईले ज्यान गुमाउनु परेको थियो । कालिकोटमा बाहुनको चुलो छोएकै निहुँमा मनवीर सुनारको हत्या भयो । काभ्रेका अजित मिजार बाहुनकी छोरी बिहे गरेकै कारण मारिनुपरेको हो । जसको शव अहिले पनि शिक्षण अस्पतालमा अलपत्र छ ।
जातीय विभेदकै कारण सेते दमाई, मनवीर सुनार, अजित मिजार गरी १४ जनाले ज्यान गुमाइसकेका छन् । आफू पनि अनाहकमा ज्यान गुमाउनुपर्छ कि भन्ने चिन्ता जय–शुशीला दम्पत्तिलाई छ । अहिलेसम्म दलित भएकै कारण ज्यान गुमाएका थोरैले मात्र न्याय पाएका छन् ।
काठमाण्डौ आए लगत्तै केही सञ्चारकर्मी, मानवअधिकारकर्मी, दलित अधिकारकर्मी, कानुन व्यवसायीसँग परामर्श लिएका उनीहरुले मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उजुरीपछि छानबिन अगाडि बढाइएको आयोगमा कार्यरत कर्मचारी मधु सोनामले बताउनुभयो ।
‘निकै नै धम्की खेपेपछि उजुरी गरेका रहेछन् । हामीले प्रक्रिया अगाडी बढाएका छौं । सरकारी जागिरे रहेका केटीका दाईको बयान लिने योजनामा छौँ’ उहाँले भन्नुभयो ।
मलाई थाहा छैन : कमल
जय–सुशीला दम्पत्तीलाई गाउँ शहर छाड्दै भागेर हिँड्नुपर्ने अवस्था निम्त्याएका सुशिलाका दाइ कमल भुषाललाई यसबारे जिज्ञासा राख्दा उनले आफूलाई यसबारे कुनै जानकारी नभएको भन्दै पन्छिन खोजे ।
‘मलाई केही थाहा छैन’ उज्यालो अनलाइनसँगको कुराकानीमा उनले भने, ‘बहिनीले अन्तरजातीय बिहे गरेको हो । तर धम्की दिएकोबारे मलाई थाहा छैन ।’
प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा कार्यरत रहेका भुषालले आफू निजामति कर्मचारी रहेको स्वीकार गरे पनि धम्कीबारेको जिज्ञासापछि फोन काटेर पन्छिन खोजे ।
२१ मार्चको टिठलाग्दो तस्विर !
काठमाण्डौमै ज्यान जोगाउँदै हिँडिरहेको यो जोडी बिहीबार एक कार्यक्रममा भेटियो । २१ मार्च अर्थात सबै प्रकारका जातीय विभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन बुद्धनगरमा राष्ट्रिय दलित आयोगलगायतका संघ संस्थाले कार्यक्रमको आयोजना गरेका थिए ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल प्रमुख अतिथि रहेको कार्यक्रम अवधिभर एक कुनामा बसेर यो जोडीले नेताहरुका भाषण सुने । सबैका भाषणपछि कार्यक्रम सकियो । सबै लाखापाखा लागे । यो जोडी पनि कार्यक्रमबाट बाहिर निस्कियो ।
अँध्यारो अनुहार लगाएका दुवैजनाले एक जना नेतालाई आफ्नो समस्या सुनाए । उनीहरुका कुरा ध्यान दिएर सुनेपछि अरु पनि झुम्मिए । अन्तरजातीय विवाह जोडी भन्दै धेरैले बधाई दिए ।
कतिले सामुहिक फोटो पनि खिचे । उनीहरुले पूर्वमन्त्री मीन विश्वकर्मा, दलजित श्रीपाइली, नेता गणेश विकसम्मलाई आफ्ना समस्या सुनाएका थिए ।
तर सबैले अब भाग्न पर्दैन भनेर आश्वासन दिए । पूर्व मन्त्रीदेखि सांसदसम्मले उनीहरुका समस्या सुने । आश्वासन दिए । आ–आफ्नो बाटो लागे ।
काठमाण्डौ आएको हप्ता दिन पुग्नै लाग्दा यो जोडी एक होटलमा बसिरहेको छ । पूर्वमन्त्री, नेता, सांसदसम्मलाई समस्या सुनाउँदा पनि उनीहरु सुरक्षित महसुस गर्न सकिरहेका छैनन् ।
‘सबैले आत्तिनु पर्दैन भन्छन् । उजुरी गरेपछि न्याय मिल्छ पनि भन्छन् । तर धम्की आउन छाडेको छैन’ कार्यक्रमस्थलबाट बाहिरिंदै गर्दा जयराजले भने, ‘गोजी रित्तिन थालिसक्यो । होटलमा कति दिन बस्नु ? फेरि यति गरेर पनि ज्यान बाँचे त हो ?’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ।
JK Sunwar-Okhaldhunge
March 27, 2019, 3:19 p.m.बधाई छ जोडीलाई / बहिनीको इच्छामा दाइ दिदिले तगारो हाल्नु एकाइसौ शताब्दीमा पनि अति पुरानो विचारमा अडिग रहनु समयअनुरुप भएन / आखिर बहिनी विवाह गरेर अर्कैको छोरासंग जाने हो नि अनि मन र विचार नमिल्नेसंग जीएवन गुजार्नुभन्दा त मन मिल्ने संगै जीवन सुखमय हुन्छा / तसर्थ बुद्धिमानी यसमै देखिन्छ कि केटि पट्टिको दिदि र दाइले आफ्नो प्यारो बहिनीको इच्छालाई नै भगवानको इच्छा र समयको माग सम्झी यसलाई स्विकार्नु राम्रो /desh विकाश हुनलाई समाज विकाश हुन अति जरुरी छ , हैन भने त नेपाल जस्ताको तस्तै रहनेछ /