आईपीएल २०१९ : प्रतियाेगिताकाे पहिलाे खेलमै धाेनी भर्सेस काेहली !

 चैत ९, २०७५ शनिबार ९:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग आईपीएलको १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

भारतीय क्रिकेट टोलीका सबैभन्दा सफल कप्तान महेन्द्र सिंह धोनी र वर्तमान कप्तान विराट कोहलीले नेतृत्व गरेकाे दुई टिमबीचको खेल चेन्नईकाे एमए चिदाम्बरम र‌ंगशालामा आज साँझ सवा ८ बजेदेखि सुरु हुनेछ ।

आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई साविक विजेता पनि हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराट कोहलीले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमने-सामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेकाे छ भने ७ खेलमा आरसीबीले जित हात पारेकाे छ । एक खेल भने नतिजाविहीन भएकाे छ । चेन्नईका लागि सुरेश रैना, शेन वाट्सन तथा अम्बाती रायुडुले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएकाे छ भने बेंग्लाेरबाट कप्तान विराट काेहलीसहित एबी डि भिलियर्स, शिमरन हेटमेयर, शिवम दुबे तथा हेनरिक क्लासेनले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गर्न सकिन्छ । 

दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ काे पहिलाे खेल नै राेमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।

यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ ।चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् ।

नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघिको सिजनमा अन्तिम तीन खेलमा मात्र अवसर पाएका सन्दीप यसपटक सुरुवातदेखि नै पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: असार २९, २०७६

तपाईको प्रतिक्रिया