डाक्टरका मागको औचित्य छैन, वार्ता हुँदैन, राजीनामा दिए काँध थाप्न तयार छु : मन्त्री पण्डित

 चैत २६, २०७५ मंगलबार २१:१:१० | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ – ५ दिनदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरी आन्दोलनमा लागेका सरकारी डाक्टरको माग जायज नभएको भन्दै सरकारले तत्काल काममा फर्कन निर्देशन दिएको छ । 

डाक्टरको आन्दोलन संविधान र संघीयता विरोधी भएकोले कर्मचारी समायोजनमा पुनर्विचार गर्न नसकिने सरकारको चेतावनी छ । आफ्नो माग सम्बोधनका लागि सरकारले तत्काल वार्तामा बोलाए आन्दोलन फिर्ता लिने डाक्टरहरुले बताए पनि वार्ताको औचित्य नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको तर्क छ । मन्त्री पण्डितसँग उज्यालो सहकर्मी टेकमान शाक्यले संक्षिप्त कुराकानी गरेका छन् ।

डाक्टरले आन्दोलन गर्ने, तपाईँहरुले समाधान नखोज्ने अनि बिरामी भने मर्कामा परिरहने कहिलेसम्म ? 

डाक्टरसाबहरुले आन्दोलन गर्नुको कुनै औचित्य छैन । उहाँहरुको कुनै माग जायज छैन । उहाँहरुका कत्तिपय मागहरु संविधानसँग बाझिएको, संविधानभित्र अट्नेगरी नभएको र कतिपय कुराहरु उहाँहरुसँग पटक–पटक बसेर प्रष्ट भैसकेपछि पनि ‘रडाको’ को रुपमा लिने र सेवा बन्द गर्ने कुरा अपराधपूर्ण छ । संसारका कुनै देशका डाक्टरहरुले यसरी आन्दोलन गरेको रेकर्ड छैन ।

अति आवश्यकीय र संवेदनशील क्षेत्रमा बन्द गर्न नपाइने प्रावधान छ । यो निजी क्षेत्रका क्लिनिकहरुलाई प्रोत्साहित गर्ने कदम हो । तत्काल बन्द गरी काममा फर्कनुको अर्को विकल्प छैन । काममा फर्किएन भने डाक्टरहरु कारबाहीमा पर्छन् ।

तपाईँहरुले मागअनुसार नै समायोजन गर्छौँ भनेर आफ्नै तालमा समायोजन गर्नुभयो भन्ने डाक्टरहरुको तर्क छ नि ?

त्यो उहाँहरुको गलत बुझाइ हो । कत्तिपय भ्रमपूर्ण प्रचार गर्नुभएको छ । संविधान, संविधान अनुसार संघीयता र संघीयता अनुसार स्वास्थ्य क्षेत्रलाई तीन तहमा विभक्त गरिसकेको कारणले डाक्टरहरुले आफ्नो कुरा मात्रै बुझ्ने, देशको संविधान र ऐन कानुनलाई नबुझ्ने, आफ्नो कर्तव्य बिर्सने र सरकारी सेवामा आउँदा  खाएको सपथ पनि बिर्सिएर अस्पताल बन्द गरिएको छ । यो कदम गलत छ । यसैमा अल्झिराख्ने हो भने सरकारले कडा कारबाही गर्छ ।

डाक्टरहरुले माग सम्बोधन गर्न सरकार गम्भीर नभए सामूहिक राजीनामा दिने भनेका छन् । डाक्टरहरुको सामूहिक राजीनामा आयो भने, त्यसको भोलिपल्ट आउने चुनौती सामना गर्न सक्नुहुन्छ ?

डाक्टरसाबहरुले झुटो कुरा गरेर अल्मल्याउन खोज्दै हुनुहुन्छ । उहाँहरुले राजीनामा पनि दिनुहुन्न । उहाँहरुले आ–आफ्नो अस्पतालमा काम गर्नुपर्छ । यदि उहाँहरुले राजीनामा दिएको खण्डमा म काँध थाप्न तयार छु । तर, सेवाग्राहीलाई दुःख दिने काम भैरह्यो भने दण्ड हुन्छ ।

संघमा पनि आउन पाउने वा आफूखुशी सरुवा हुन पाउनुपर्ने भन्ने सरकारी डाक्टरहरुको माग छ । यो माग सम्बोधन गर्‍यो भने के हुन्छ ?

त्यो संविधानसम्मत हुँदैन । मिल्न सक्ने कुराहरुमा सरकारले स्पष्ट बनाइसकेको छ । यो संविधान र संघीयता विरोधी कुरा हो । 

त्यसो भए, अति आवश्यक क्षेत्र भनिएको स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यतिका दिनसम्म आन्दोलन भैरहँदा समाधानको बाटो किन नअपनाएको त ?

समाधानको बाटो अवलम्बन भैसकेको छ । उहाँहरु मेरो गोरुको बाह्रै टक्का भनेर हिँड्नुभएको छ । एउटा गीत छ नि, ‘मलाई त्यही केटी चाहिन्छ...’ भन्ने जस्तो गरेर रडाको गर्नुको कुनै अर्थ छैन ।

वार्ताका लागि ढोका खुला भयो भने, आन्दोलन छोडेर टेबलमा बस्न तयार छौँ भनेर डाक्टरहरुले भनेका छन् नि ?

सरकार कुनै वार्ता गर्न तयार छैन । गलत काम गर्नेसँग वार्ता गर्नुको कुनै औचित्य छैन ।

माग पूरा नभए, अझै दमन गरिए, कठोर आन्दोलनको अप्रिय मार्गमा जाने भनेर डाक्टरहरुले विज्ञप्ति नै निकालेका छन् ?

उहाँ डाक्टरहरु जसरी आउनुहुन्छ, सरकार त्यसैअनुरुप प्रस्तुत हुन तयार छ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

2 Comments

  • SHYAM KANDEL

    April 10, 2019, 8:44 p.m.

    DOCTORS ARE ANOTHER LOOTERS OF NEPAL. THEY DO NOT HAVE RIGHT TO CLOSE SERVICES IN HOSPITALS. THEY CAN RESIGN AND OPEN BUSINESS IN THE MARKET. GOVERNMENT HOSPITAL DOCTORS ARE TAKING MORE ADVANTAGE IN NEPAL THAN THOSE IN PRIVATE HOSPITALS.

  •  0 Reply
  • bnb

    April 10, 2019, 1:54 a.m.

    It is a democratic right of government employees to go on strike if they feel severely disadvantaged and if they have fully exhausted all other negotiation avenues. However, no other government in the world keeps paying the salary to an employee when she/he goes on strike. Why Nepal government cannot implement this policy? When such policy is implemented most strike action fail automatically because of the drop in participation rate.

  •  0 Reply

तपाईको प्रतिक्रिया