अमेरिकाबाट यसरी पठाइँदैछ नेपालको पहिलो स्याटेलाइट

 वैशाख ४, २०७६ बुधबार १५:५४:७ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – नेपालले अन्तरिक्षमा पहिलो पटक उपस्थिति जनाउँदैछ । अहिलेसम्म आफ्नो स्याटेलाइट नभएको नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाउन लागेको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हो । भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका छन । जसलाई प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन । 

विश्वविद्यालयले आफ्नो ‘बर्ड–३’ परियोजना अन्तर्गत नेपाल, जापान र श्रीलंकाको ‘नानो स्याटेलाइट’ छुट्टाछुट्टै समयमा प्रक्षेपण गर्न लागेको हो । जसको संयोजन जापानको ‘ज्याक्सा’ले गर्नेछ । अन्तरिक्षको अध्ययन अनुसन्धान गर्ने अमेरिकाको नासा जस्तै जापानको ‘ज्याक्सा’ हो ।

नेपाल र श्रीलंकाले पहिलोपटक स्याटेलाइट पठाउन लागेका हुन् भने जापानले दुवै स्याटेलाइटको अनुगमन र नजिकबाट निरीक्षण गर्नेछ । 

नेपाली भूउपग्रहलाई ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ नाम दिइएको छ । तीनै स्याटेलाइट ‘नानो’ अर्थात सानो क्षमताका भएका नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । 

नेपाली स्याटेलाइट : जापानमा बन्यो, अमेरिकाबाट उड्ने !

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नो उपस्थिति देखाउन लागेको स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयमा बनेको हो । अन्तरिक्ष अनुसन्धानमा निकै अगाडि बढिसकेको यो विश्वविद्यालयले भूउपग्रह निर्माणदेखि प्रक्षेपणसमेत गर्ने गरेको छ ।

बिहीबार बिहान २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियाबाट नेपालको स्याटेलाइट प्रक्षेपण गरिनेछ । नासाको मुख्यालयबाट नेपाली झण्डा र नास्टको लोगो अंकित स्याटेलाइट पहिलोपटक प्रक्षेपण हुनुले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा पनि टेवा पुग्नेछ । 

यसअघि नेपालका कुनै पनि प्रविधि नासा मुख्यालयसँग जोडिएका थिएनन् । नेपालको विज्ञान तथा प्रविधिको विकासमा यो महत्वपूर्ण कोशेढुंगा हुने नास्टका वैज्ञानिकहरुको विश्वास छ ।

आउँदो तीन वर्षमा पूर्ण क्षमताको ‘मेगा स्याटेलाइट’ निर्माण गरेर प्रक्षेपण गर्ने महत्वाकांक्षी योजना बनाएको सरकारका लागि पनि यो ‘नानो स्याटेलाइट’ प्रक्षेपण सहकार्यको प्रस्थान बिन्दु बन्नेछ ।

‘नानो स्याटेलाइट’ प्रक्षेपणपछि पनि त्यसबाट आउने सबै जानकारी जापानकै विश्वविद्यालयबाट लिनुपर्नेछ । परीक्षणका रुपमा रहने नेपाली स्याटेलाइटलाई नासाले पनि आफ्नो निगरानीमा राख्नेछ ।

स्याटेलाइटबाट फाइदा के–के हुन्छ ?

सानो आकारको यो स्याटेलाइटले तत्काल नमुनाको मात्रै काम गर्नेछ । अमेरिकाबाट प्रक्षेपण भइसकेपछि एक महिनासम्म ‘इन्टरनेसनल स्पेस’मा बस्नेछ । यसपछि बिस्तारै यसलाई नेपाली आकाशको माथि ल्याउने प्रयत्न हुनेछ ।

जसबाट नेपालको भूभाग, मौसमी अवस्था, भौगोलिक बनाउटबारे अध्ययन गर्न सहज हुनेछ । अहिले महंगो मूल्य तिरेर भारत, चीनलगायत तेस्रो देशको स्याटेलाइटबाट काम चलाइरहेको नेपालले यसपछि ‘मेगा स्याटेलाइट’ निर्माण सुरु गर्नेछ ।

नेपाली युवा वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठ नानाे स्याटेलाइट निर्माण गर्दै

यसका लागि नास्टले खुमलटारमा रहेको आफ्नो कार्यालय परिसरमा ‘ग्राउण्ड स्टेशन’ निर्माण गर्दैछ । झण्डै २० लाखको लगानीमा ग्राउण्ड स्टेशन निर्माणका लागि नास्टले बोलपत्रसमेत आह्वान गरिसकेको छ । जेठ २० गतेसम्म निर्माण गरिसक्ने उद्देश्य राखिएको स्टेशनका लागि विदेशबाट उपकरण मगाउने काम पनि भइसकेको छ ।

एक महिनापछि स्याटेलाइटले पठाएका तस्बिर खुमलटारमै रहेको ग्राउण्ड स्टेशनले ‘रिसिभ’ गरेर अनुसन्धानका लागि सहयोग गर्नेछ । अहिले स्याटेलाइटले पठाएका तस्बिर जापानमा रहेको क्युटेक विश्वविद्यालयको ग्राउण्ड स्टेशन, नासाको मुख्यालयमा पनि प्राप्त हुनेछन् । 

यो स्याटेलाइटले तत्कालै तस्बिर पठाउनुबाहेक अरु काम गर्ने छैन । सूचना प्रविधिका क्षेत्रमा अहिले भइरहेका सबै काम अन्तर्राष्ट्रिय स्याटेलाइटबाटै हुनेछन् । तस्बिरबाहेक नेपालको मौसमी अवस्था, पर्वतीय श्रृङ्खला, हिमनदीको अवस्थालाई अनुसन्धान गर्न पनि यसले सहयोग पुर्‍याउनेछ ।

यसका साथै मेगा स्याटेलाइट निर्माण, यसको प्रक्षेपण र सञ्चालनका लागि पनि न्यानो स्याटेलाइट सहयोगी बन्नेछ । 

बिहीबार रात अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने नेपाली स्याटेलाइटको नासाले प्रत्यक्ष प्रसारण गर्नेछ । 

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया