व्यापारीको ‘ठगी’ बारे समाचार लेख्दा पक्राउ परेका पत्रकार अर्जुन गिरी रिहा

 वैशाख ५, २०७६ बिहीबार १७:२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पोखराका पत्रकार अर्जुन गिरी काठमाण्डौ जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् । 

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई रिहा गर्ने निर्णय गरेको हो ।

पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डव न्यूज डट कमका सम्पादक अर्जुन गिरीलाई व्यवसायी विपेन्द्रराज बतासका बारेमा समाचार लेखेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई साइबर क्राइमअन्तर्गत पक्राउ गरिएको बताइएको थियो ।

तर एकजना व्यापारीको ठगीका बारेमा समाचार लेखेकै भरमा गिरीलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशैभर उनको रिहाइको माग गर्दै प्रदर्शन भएको थियो ।

पत्रकार महासंघले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर समाचार लेखेकै कारण साइबर क्राइम मुद्दामा पत्रकार पक्राउ परेको घटनाप्रति खेद व्यक्त गरेको थियो ।

पत्रकारहरुसँगको भेटमा मन्त्री बाँस्कोटाले गिरी पक्राउ प्रकरण निकै दुःखद भएको बताउनु भएको थियो । प्राविधिक कमजोरीका कारण गिरी पक्राउ परेको बताउँदै मन्त्री बाँस्कोटाले आयन्दा यस्तो घटना नदोहोरिने बताउनुभयो ।

विद्युतीय कारोबार ऐनमा भएको कमिकमजोरीलाई सच्चाएर ऐन संशोधन गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो । महासंघले आजै गृहमन्त्रालयमा पनि ज्ञापन पत्र बुझाएको थियो । 

महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ मा भएको व्यवस्थाले पत्रकारहरुलाई अपराधी जसरी नै पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेज गर्न माग गरेको छ । 

लोकतान्त्रिक गणतन्त्रमा पनि प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ ले राखिएको भन्दै महासंघले त्यसलाई हटाउन माग गरेको हो ।  
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया