नेभिगेशन

ऋषि भन्छन् : मेरै नाम बेचेर अरु लखपति बने, मलाई छाक टार्नै समस्या

अर्घाखाँची – २०७२ साल वैशाख १४ गतेको टिकट थियो । मेडिकल रिपोर्ट पनि आइसकेको थियो । दुई दिनपछि विदेश जाने तयारी गरेकाले काम केही थिएन । दिउँसो नयाँ बानेश्वरमा साथी भेट्ने योजना बनिसकेको थियो । खाना खाएपछि बाहिर निस्कनै लाग्दा सिंगो घरै घुम्न थाल्यो । रिंगटा लागेर भाउन्न भएजस्तो भयो खै के भएको हो कुरा नबुझ्दै उनी रहेको सयपत्री होटलको भवन गर्ल्याम्मै ढल्यो ।

अलिपछि थाहा पाउँदा ऋषि खनाललाई कुनै अँध्यारो गुफाभित्र बसेजस्तो भयो । अनि देब्रे खुट्टा शरीरबाट छुट्टिएजस्तो लाग्यो । अँध्यारोमा छामछाम छुमछुम गर्दा छेवैमा कोही भेटिएजस्तो लाग्यो, तर बोली कसैको आएन । आफू बसेको घर लडेको र आफू त्यसमै च्यापिएको उनलाई थाहा भयो । सक्दो चिच्याए । तर अहँ कसैले सुनेन । 

अवस्था सुन्ने खालको पनि त थिएन । काठमाण्डौको गोंगबु क्षेत्रमा ऋषि च्यापिएका जस्ता अरु धेरै घर भत्किएका थिए । दिन हो कि रात कुनै टुंगो भएन । अवस्था कस्तो थियो भने उनी होशमा आएको केही घण्टामा मोबाइल बज्यो, तर मोबाइल झिक्न हात गोजीसम्म पुर्याउन सक्ने अवस्था नै थिएन । भोक प्यासको कुनै सीमा नै थिएन । बाँच्नका लागि हरसम्भव उपाय अपनाउनुको विकल्प थिएन । अनि उनले आफ्नै पिसाव खाएर पनि प्यास मेट्ने निधो गरे । 

हल न चलसँग समय बित्दै जाँदा बिस्तारै केही आवाज जस्तो सुनिन्थ्यो । अहिले सम्झँदा त्यो घर भत्काउन आएको डोजरको थियो । त्यो सुन्दा उनलाई भगवान आएजस्तो लाग्थ्यो । तर मिलिक्कै त्यो आवाज हराउँथ्यो । 

दिनरात याद नभएपनि उनको अनुमानमा २ दिनपछि  केही शव गन्हाउन थालेका थिए । तर बिस्तारै नाकले गन्ध पनि खुट्याउन छोडेको थियो । बेलाबेलामा त दिमागले पनि काम नगरेजस्तो भयो । पुरिएका बेला सबैभन्दा धेरै याद आमा र छोराको आयो । पुरिएको ३ दिनसम्म पनि मानिसको चाल नपाएपछि बाँच्ने आश मर्यो । कोही उद्धार गर्न आउँछन् भन्ने पनि लाग्न छाड्यो ।

बेला–बेलामा आउने आवाजको पनि विश्वास लाग्न छाड्यो । शरीर पुरै सेतो भैसक्यो, छाम्दा पनि छाला नै आउला जस्तो लाग्थ्यो । मानिस एकदिन मर्छ भन्ने सबैलाई थाहा छ । तर अब म मर्दैछु भन्ने अनुभूति हुँदा पनि केही गर्न नसक्दाको पीडा कस्तो हुँदो हो ? 

तर अचानक कतैबाट उज्यालोका किरण उनको आङसम्म परे । कस्तो अचम्म । अब मर्दैछु भनेर आशै मारिसकेको जीवनले नयाँ किरण देख्न पाउला जस्तो भयो । उनी बोल्न सक्ने अवस्था थिएनन् । बिस्तारै जीवनका किरण छिराएको त्यो प्वाल  अलि ठूलो भयो । कोही बोल्यो, ‘ए ए यहाँ त कोही जिउँदै भेटिएला जस्तो छ । लाइट ल्याउ, लाइट ल्याउ, अक्सिजन ल्याउ’  आदि–आदि । अलिबेरमा उनलाई एउटा पाइपबाट अक्सिजन आयो । अक्सिजन आउन थालेपछि उनालाई खाना खाएजस्तो लाग्यो । सशस्त्र प्रहरी र नेपाली सेनाले बनाएका प्वाल केहीबेरमा ठूलो भयो । कसैले उनको मुखसम्म पानी पुर्‍यायो ।

८२ घण्टा घरभित्र च्यापिएर बसेको मानिस जसले केहीपल्ट आफ्नै पिसाव पियो उसको मुखमा पानी पर्दा कस्तो अनुभव हुँदो हो ? यसको पनि केवल अनुमान मात्र गर्न सकिन्छ । १२ गते पुरिएका ऋषिको १६ गते उद्धार भयो । ऋषिलाई बाहिरी दुनियाँमा आउँदा संसार जितेजस्तो लाग्यो । उनीसँग बाँच्नको लागि पुग्दो आत्मबल थियो । ‘खुट्टा नथिचिएको भए दाँतले कोट्याएर भए पनि म बाहिर निस्कन्थे होला ।’ ऋषिले राति १२ बजे घरमा फोन गर्नुभयो । आमाको बोली सुन्दा आवाजै निस्केन । श्रीमतीसँग पनि मात्र सुकसुक निस्कियो । 

चार वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–१ ढाकाबांग साम्ने गाँउका ऋषि खनाल अहिले पनि झस्किन्छन् । जिन्दगीमा आफूमाथि ठूलो बज्रपात भएको र दैवले आफूलाई ठगेको दिनको सम्झना नआए पनि हुन्थ्यो तर बेलाबेलामा झस्काइ रहन्छ ऋषिलाई ।

विदेश जाने भनेर घरबाट निस्केका उनी विदेश पुग्न त पाएनन् नै । विदेशमा गएर धन कमाएर परिवारलाई सुखसँग पाल्ने उनको सपना त पूरा भएन नै विदेश जान हिँडेकै कारण स्वदेशमै बसरे गरिखाने खुट्टा पनि गुमाउनुपर्यो । भाग्यले बाँचेका ऋषि आफू र परिवारलाई कसरी बचाउने भन्ने चिन्तामा छन् । २ वटा वैशाखीको भरमा उनको जिन्दगी चलिरहेको छ । 

काठमाण्डौको गोंगबुमा रहेको भूकम्पले भत्किएको साततले गेष्ट हाउसले च्यापिएका ऋषि खनालको ८२ घन्टापछि जीवितै उद्दार गरिएको थियो  । सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्दार टोलीको १० घन्टा लामो प्रयासपछि  खनालको उद्दार गरिएको थियो । उनले  आफ्नो उद्धारका लागि स–साना ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान तानेका थिए ।

चिन्ता दुई छाककै 

८२ घण्टासम्म च्यापिएर पनि बाँच्न सफल भएकोमा ऋषि खुशी त छन् नै तर त्यो खुशीले मात्रै छाक टर्ने रहनेछ । उनलाई अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्ताले पिरोलिरहेको छ । 

‘बरु उति नै बेला मरेको भए आजसम्म घरकाले पनि बिर्सन्थे होलान् तर अहिले मेरो एउटा खुट्टा काटिएको छ । ल हेनुर्स् त म अब कसरी श्रीमती र छोरालाई पाल्न सक्छु ?’ खुट्टा देखाउँदै ऋषिले आफ्नो दुःख सुनाए ।

उपचारका लागि ऋषि पटक–पटक काठमाण्डौ गए । उपचार खर्च सरकारले व्यहोरेको छ । ‘काठमाण्डौ आउजाउ, औषधि खर्च गर्दा ढाई लाख रुपैयाँभन्दा बढी सकियो  । आजसम्म त बाँचेकै छु’, विगत भुल्ने प्रयास गरे पनि ऋषिलाई भविष्यकै चिन्ता छ ।  

सीप सिक्ने चाहना

‘म र मजस्ता भूकम्पमा परेर अंगभंग भएका  साथीहरुले सीप सिकेर जीविकोपार्जन गर्न चाहेका छाैँ ।  काठमाण्डौमा विभिन्न संघ सस्थाले निःशुल्क सीपमूलक तालिम दिने बताएका थिए । तर ती संस्थाले सम्पर्क नै गरेनन्’,  कसैको आश गर्नुभन्दा स्वावलम्बी भएर बाँच्ने इच्छा छ ऋषिको । 

८२ घण्टा घरमा च्यापिएर पुनर्जन्म पाएका ऋषिको अनुभव : गोजीमा मोबाइल बज्थ्यो, झिक्न हात पुगेन

 

काठमाण्डौमा भाडा तिरेर बस्ने र बिहान बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर आफूजस्तै साथीहरुले सीपमूलक तालिम लिन नसकेको उनले बताए । 

‘खानेबस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर हातखुट्टा गुमाएका साथीहरुले सीप सिकेर केही काम गरेर खान सक्ने थियाैँ’, सरकारले अपांगहरुलाई केही गरेर भए पनि ढुक्कसँग जीवन जिउने वातावरण मिलाइदिनु पर्ने उनको माग छ । 
 
छोराको फी तिर्न धौधौ

उनको अहिले देब्रे खुट्टा काटिएको छ । आर्थिक रुपमा विपन्न ऋषिको घरमा बुवाआमा, श्रीमती र एक छोरा छन् । परिवार पाल्ने र ५ वर्षका छोरा कसरी पढाउने भन्ने चिन्ताले नै उनलाई दिनरात सताउँछ । 


गाँउकै बोर्डिङ स्कुलमा डेढ वर्ष पढाए पनि छोराको फी तिर्न नसकेर छोरालाई सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना गरिदिएको ऋषिकी श्रीमती कविता खनालले बताइन् । 

अपाङ्ग परिचयपत्र पनि नपाएको गुनासो

उनलाई कतैबाट सहयोग त आएन नै ।  सामान्य प्रक्रियाबाट पाइने अपाङ्ग परिचयपत्रसमेत उनले पाएका छैनन् । 

‘अपाङ्ग परिचय पत्र पनि पाउन नसक्ने हामी कति अभागी । ‘क’ वर्गको परिचयपत्र भए २ हजार मासिक त आउने थियो त्यही पनि छैन । कसले हेर्छ र  हामीलाई ? सरकार र विभिन्न संघसस्थाले सहयोग गर्छ भनेर रेडियोले भन्छ, खै त हामीलाई सहयोग गरेको ?’ आँखाभरि आँसु पार्दै उनले भने । 

‘मेरै नाम बेचेर अरु लखपति’

‘मेरो बारेमा डकुमेन्ट्री, चलचित्र लेखेर बनाएर धेरैले लाखौँ आम्दानी गरेका छन्’, आफ्नो दुःखकष्ट बेचेर धेरै जना लखपति भए पनि आफूलाई कसैले पनि सहयोग नगरेको ऋषिको गुनासो छ ।  उनले भने, ‘सबैले सहयोग गर्छौँ भन्छन् तर कसैले गर्दैनन् ।  गाँउमा बसेको छु विदेश पनि जान सकिनँ ।’ 

यो समस्या अर्घाखाँचीका ऋषिको मात्र हैन, हजाराैँ भूकम्प पीडितको छ । भूकम्पबाट घाइते बनेका अपांग तथा घाइतेहरुलाइ लक्षित गरेर सीप सिकाउनेतर्फ सरोकारवालाहरुको ध्यान जानु आवश्यक देखिन्छ । 

प्रकाशित मिति:
थप विशेष