कक्षा १२ र ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र चाेरी नहाेस् भनेर सीसी क्यामेरा

 बैशाख १४, २०७६ शनिबार १२:४३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । 

देशभर एकैसाथ आइतबार १५ गते बिहान ७ बजेबाट सुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी गरी कुल ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीको सहभागिता रहने उहाँले बताउनुभयो । उहाँका अनुसार, कक्षा १२ र कक्षा ११ मा ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख ९३ हजार ५ सय ४९ छात्रा परीक्षामा सहभागी हुनेछन् । 

वैशाख २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ । जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ । 

कक्षा ११ को परीक्षामा सबैभन्दा कम मनाङ्ग जिल्लाबाट ५१ जना र कक्षा १२ मा ५९ जना तथा सबैभन्दा धेरै काठमाण्डौ जिल्लाबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन् ।

बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको छ । जसमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र काठमाण्डौमा १ सय २२ रसबैभन्दा कम मनाङ/मुस्ताङमा १/१ परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो । 

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । 

परीक्षा केन्द्रमा सीसी क्यामरा 

गत चैतमा सम्पन्न एसईई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सीसी क्यामरा जडान गरेको छ । 

बोर्डले केन्द्र नजिकै सीसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी दिँदै उहाँले बोर्डको मुख्यालयमा रहेको कन्ट्रोल रुमबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने व्यवस्था गरिएको बताउनुभयो । 

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ । 

बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी बल्क एसएमएसको व्यवस्था गरेको छ भने कुनै त्रुटी देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटी सच्याएर बोर्डलाई जानकारी गराउने र यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ । 

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था गरेको अर्यालले जानकारी दिनुभयो । 

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्ट्रेसन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ । बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्न सक्ने व्यवस्था गरेको सदस्य-सचिव अर्यालले जानकारी दिनुभयो।

परीक्षाका लागि प्रदेश १ मा १ सय ९७, २ मा १ सय १५, ३ मा ३ सय ३, गण्डकीमा १ सय १८, प्रदेश ५ मा १ सय ६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा १ सय १९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

परीक्षामा १ हजार १ सय ७ केन्द्राध्यक्ष, १ हजार ४ सय ८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १ सय ७ निरीक्षक, १ हजार ४ सय ८९ कर्मचारी, २ हजार २ सय १४ कार्यालय सहयोगी र १३ हजार १ सय ८४ सुरक्षाकर्मीसहित ३४ हजार ४ सय ९० जनशक्ति परिचालन गरिने छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया