रवीन्द्र मिश्र नेतृत्वको पार्टीको नाम फेरियो

 बैशाख १४, २०७६ शनिबार २०:३५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - रवीन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टीको नाम परिवर्तन भएको छ । 

वैशाख ११, १२ र १३ गते पार्टी संयोजक रवीन्द्र मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले पार्टीको नाम परिवर्तन गरी साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको छ । 

केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न शनिबार गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले पार्टीको नाम परिवर्तन गरिएको जानकारी दिनुभएको हो ।

विवेकशील नेपाली दल र साझा पार्टी एकीकरणपछि विवेकशील साझा पार्टी नाम राखिएको थियो । तर तत्कालीन विवेकशील नेपाली दलतर्फका संयोजक उज्ज्वल थापाको समूह छुट्टिएर गएपछि पार्टीको नामबारे अन्योल भएको भन्दै पार्टीको नाम साझा विवेकशील पार्टी राखिएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल निर्वाचन आयोगमा आफ्नो दल दर्ता गर्ने प्रक्रियामा रहेको छ ।

आचार्यले भन्नुभयो, ‘हालैको समयमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरूपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सिर्जना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन तथा धेरै शुभेच्छुकहरूको अनुरोधलाई आत्मसात गर्न पार्टीले आफ्नो नाम ‘विवेकशील साझा पार्टी’बाट ‘साझा विवेकशील पार्टी’मा परिवर्तन गर्ने निर्णय गरेको छ ।’

साथै पार्टीले आउँदो जेठ १ गतेदेखि कम्तीमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तरक्रिया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने  बताएको छ । 

पार्टीको केन्द्रीय समितिको बैठकले देशको रुपान्तरणको सोच र अभियानमा युवाहरुको यथोचित प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीले तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने निर्णय गरेको छ ।


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया