स्पेन भर्सेस रुस : अनुभव र साहसको भिडन्त

 असार १७, २०७५ आइतबार १०:३४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०१० को विश्व विजेता स्पेनले समूह चरणमा आश्चर्यजनक रुपमा इरान र मोरक्कोबिरद्ध संघर्ष गर्नुपरेको थियो । मोरक्कोसँगको खेलमा डेभिड डि जियाले गम्भीर त्रुटी गरे पनि डिएगो कोष्टाले स्पेनको उद्धार गरेका थिए । स्पेनिस टोलीमा इस्को असाधारण देखिन्छन् । र, यही स्पेनले घरेलु टोली रुससँग लुज्निकी रंगशालामा प्रतिस्पर्धा गर्दैछ ।
 
यता सुरुवाती दुई खेलमा साउदी अरब र इजिप्टविरुद्ध शानदार देखिएको रुसले आफ्नो वास्तविक परीक्षा अर्थात उरुग्वेविरुद्धको खेलमा खरो उत्रन सकेन । विशेष गरी टिममा त्यस्ता जिम्मेवार प्रतिभा देखिएनन् जसले दवाव थेग्न सकुन् ।
 
रुसका स्ट्राइकर अर्तिम ज्युवाले स्पेनविरुद्धको अन्तिम १६ को प्रतिस्पर्धा सुरु हुनुअघि भनेका छन् कि आफ्नो टोली विश्वकप यात्रामा साहसी अण्डरडगको रुपमा प्रस्तुत हुनेछ ।
 
ज्युवा स्टानिलाभ चर्चेसोभको टोली रुसका मुख्य हतियार हुन्, जसले पहिलो खेलमा साउदी अरव र दोस्रो खेलमा इजिप्टविरुद्ध गोल गरेका थिए ।
 
समूह चरणको अन्तिम खेलमा उरुग्वेसँग ३–० ले पराजित भएपछि अगाडिका खेलहरुमा रुसको उत्साह कमजोर भएको छ । यद्यपी स्टार खेलाडीहरुले भरिएको स्पेनिस टोली बलियो रहेको ज्युवाले स्वीकार गरेका छन् । उनले भनेका छन् कि यो उनीहरुका लागि बलियो प्रतिस्पर्धी हो ।
 
‘३२ वर्षमा पहिलो पटक हामी नकआउट चरणमा पुगेका छौं ।’ उनले भने, ‘हेर्नुहोला कि हामी के गर्न सक्छौं । हाम्रो लागि यो खेल बक्सिङ फाइटजस्तो हो । एकातर्फ युवा र साहसी व्यक्ति र अर्कोतर्फ अनुभवी सेनानी । हेरौं, कसले जित्छ ।’
 
‘जुनसुकै टिमले जुनसुकै टोलीलाई हराउने सामर्थ्य राख्छ ।’
 
ज्युवा स्पेनिस स्टार डिफेण्डर सर्जियो रामोस र जेरार्ड पिकेलाई कमजोर बनाउन केन्द्रित रहनेछन्, तर, उनले बुझेका छन् कि त्यो काम सहज छैन । उनले समूह चरणमा स्पेनको संघर्ष पनि बुझेका छन् ।
 
मलाई लाग्दैन कि स्पेन कमजोर टिम हो, उनीहरु एक शीर्ष टोली हुन् । समूह चरणमा भएका कमजोरी गणना हुँदैन ।’ उनले भने, ‘हामीलाई थाहा छ कि स्पेनविरुद्ध हामीले के गर्नुपर्छ । तर, निश्चित रुपमा उनीहरु मुख्य दावेदार हुन् ।  यो निकै कठिन खेल हुनेछ । उरुग्वेले हामीलाई एउटा राम्रो सवक सिकाएको छ ।’
 
रुसले लुज्निकी रंगशालामा विश्वकपको सुरुवाती खेल साउदी अरवसँग खेलेको थियो । घरेलु दर्शकलाई मन्त्रमुग्ध बनाउँदै रुसले ५–० गोलले खेल जितेको थियो । स्पेनिस मिडफिल्डर मार्को एसेन्सियोले भनेका छन् कि आइतबारको खेल पनि घरेलु दर्शकमाझ निकै शानदार हुनेछ ।
 
उनले प्रशिक्षक फर्नाण्डो हेइरोको प्रोत्साहनको खुलेर प्रशंशा गरे । रियल मड्रिडका स्ट्राइकर एसेन्सियोले भने, ‘हामीसँगको खेलमा रुसको पछाडि उनीहरुका समर्थक हुनेछन् । हामी यस्तो म्याच खेल्न गइरहेका छौं, जुन फाइनल जस्तै हुनेछ । हामी कि जित्छौं, कि घर फर्कन्छौं ।’


 
‘हाम्रा प्रशिक्षक हेइरो उत्कृष्ट लिडर हुन् । उनले हामीलाई हरेक समय प्रेरित गरिरहेका छन् ।’
 
रुसले शुक्रबार पूर्ण टोलीका साथ प्रशिक्षण गरेको थियो । जहाँ एलन जागोभ पनि सामेल थिए । जो, साउदी अरवबिरुद्धको खेलमा मात्र २४ मिनेटमै चोटका कारण बाहिरिएका थिए ।
 
प्लेयर्स टू वाच
 
डिएगो कोष्टा, स्पेन
 
एथ्लेटिको मड्रिडका स्ट्राइकर डिएगो कोष्टाले विश्वकपमा ३ गोल गरिसकेका छन् । पोर्चुगलविरुद्धको खेलमा शानदार दुई गोल गरेका उनले इरानविरुद्ध एक गोल गरेका थिए । रुसविरुद्धको आजको खेलमा उनी रंगशालाभर रहेका रुसी समर्थकलाई चुप गराउन उपयुक्त मौकाको खोजीमा हुनेछन् ।

इगर अकिनफिभ, रुस

रुसी क्लब सिएसकेए मस्कोभाका गोलरक्षक अकिनफिभले जारी विश्वकपमा आफूलाई प्रमाणित गर्न सकेका छैनन् । तर, स्पेनको शक्तिशाली आक्रमणको डटेर सामना गर्न उनले सर्वश्रेष्ठ प्रदर्शन गर्नु जरुरी हुन्छ ।
 
म्याच फ्याक्ट्स
 
– सोभियत संघ टुक्रिएपछि रुसले स्पेनलाई अहिलेसम्म हराउन सकेको छैन । २ बराबरी र ४ हार व्यहोरेको छ । पछिल्लो समय दुई टोलीले नोभेम्बर २०१७ मा ३–३ गोलको बराबरी खेलेका थिए ।
 
– स्पेन पछिल्लो २३ खेलदेखि अपराजित छ (१५ जित र ८ बराबरी) । जुन, विश्वकपमा सहभागी ३२ टोलीमध्ये सबैभन्दा धेरै हो । उसले सन् २०१६ को युरोकपको नकआउट चरणमा इटलीसँग २–० ले पराजित भएयता एउटा खेल पनि हारेको छैन ।
 
–सन् २००६ को विश्वकप यता स्पेनले खेलेका ३३ मध्ये ३२ खेलमा बल पोजिसनमा विपक्षीलाई पछि पारेको छ । सन् २००८ को युरो फाइनलमा भने उसलाई जर्मनीले पेलेको थियो ।
 
– रुसले समूहको अन्तिम खेलमा उरुग्वेविरुद्ध मात्र ३ शट प्रहार गर्न सकेको थियो । सन् १९९४ यता घरेलु टोलीले गरेको सबैभन्दा थोरै आक्रमण हो यो । त्यतिबेला अमेरिकाले ब्राजिलविरुद्ध पनि ३ शटमात्र प्रहार गर्न सकेको थियो ।
 
– सन् २०१० को फाइनलमा नेदरल्याण्ड्सलाई हराउन विजयी गोल गरेका स्पेनिस स्टार मिडफिल्डर आन्द्रेस इनिएष्टाले त्यस यताका सबै ठूला प्रतियोगितामा गरी ३२ शट प्रहार गरेका छन्, तर गोल गर्न असमर्थ छन् ।

 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया