नमुना संसदमा प्रश्न – महिनावारी भएको बेला टाउको दुख्यो भन्नुपर्ने अवस्थाको अन्त्य कहिले ?

 बैशाख १९, २०७६ बिहिबार १०:१९:२७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – ‘माननीय सदस्यहरु, सम्माननीय सभामुख’ भनेर एक जना कर्मचारी जस्तै देखिने व्यक्तिले संसद बैठकमा सभामुखको आगमन भएको जानकारी गराए । त्यसपछि सभा हलमा बसिरहेका सबै उठे । 

एक जना सभामुख परिचय पत्र लगाएकी र अर्को जना महासचिवको परिचय पत्र लगाएका व्यक्ति हलमा प्रवेश गरे । राष्ट्रिय गानको धुन बज्यो । त्यसपछि सभामुखले बैठक सुरुवात गरिन् ।

उनले ६ जना सांसदहरुलाई शून्य समयको १/१ मिनेट समय दिइन् । शून्य समयको सदुपयोग गर्दै सांसद आकृति भण्डारीले ‘नेपाली समाजमा लाजका कारण छात्राहरुले महिनावारी भएको बेला टाउको दुख्यो भन्नुपर्ने अवस्थाको अन्त्य कहिले होला ? यस विषयमा सरकारले केही काम गरेको छैन’ भन्दै सभामुखमार्फत  सरकारलाई प्रश्न गरिन् ।

उनले ‘भाषण र नाराले मात्रै देश चल्छ ?’ भन्दै सदनलाई जानकारी गराउन अनुरोध गरिन् । त्यो विषयले हलमा सहभागीलाई गम्भीर बनायो । 

धनकुटामा नमुना संसदको अभ्यास गर्दै नमुना युवा सांसदले शून्य समयमा सरकारका काम कारबाहीबारे छलफल गर्दाको क्षण थियो यो । जहाँ प्रतिपक्षीले सरकारको विरोध गरे । सत्तापक्षले सरकारको समर्थन गरे । सत्तापक्षकै कतिपय नमुना सांसदले छुवाछूत, भेदभाव, बोक्सी प्रथा लगायतले प्रश्रय पाइरहेको भन्दै सरकारको आलोचना गरे । 

साइबर क्राइम, विकृति विसंगति, चोरी डकैती, लुटपाट जस्ता घटनामा समेत नियन्त्रण हुन नसकेको विषय सत्तापक्षकै कतिपय नमुना सांसदले उठाए । सरकारले युवा तथा किसान लक्षित कार्यक्रम ल्याउन नसकेको गुनासो सदनमा उठेको थियो । 

शून्य समय, विशेष समय, मन्त्रीसँग प्रश्नोत्तर, प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा मन्त्रीले जवाफ दिए । नमुना युवा प्रधानमन्त्री भूमिका पोख्रेलले सरकार हरेक नागरिकको बाँच्न पाउने अधिकारका लागि तयार रहेको बताइन् । 

प्राकृतिक विपत्तिमा तत्काल सरकारले उद्दार गरेको, त्यसपछि उपचार र राहत सेवा दिएको भन्दै सरकारका तर्फबाट कुनै किसिमका कसर बाँकी नरहेको उनले बताइन् । 

संघीय संसदको झल्को दिने गरी व्यवस्थापिका संसद, यसको प्रक्रिया साथै नीतिगत व्यवस्थाबारे गरिएको नमुना अभ्यास जिल्ला युवा सञ्जाल र धनकुटा नगर समितिले गरेको हो । सहभागी नमुना प्रधानमन्त्री, सभामुख र मन्त्रीबाहेक अन्य नमुना सांसद सबै आ–आफ्नो मौलिक पोशाकमा सजिएका थिए । 

धनकुटा नगरपालिकाको १० वटै वडाबाट ३/३ जना युवाले सहभागिता जनाएको कार्यक्रम धनकुटा नगरपालिकाको हलमा ३ दिनसम्म चलेको थियो । तेस्रो दिन नीति तथा कार्यक्रम पास गर्दै संसद बैठक टुंगिएको जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङले बताए । उनका अनुसार संसदमा सरकार, संसद र प्रतिपक्षीले खेल्नुपर्ने भूमिकाबारे अभ्यास गरिएको थियो । उनले चुनावी प्रक्रियाबाटै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, गृहमन्त्री र अन्य मन्त्री चयन गरिएको जानकारी दिए । 

सभामुखमा अश्मिता निरौला चुनिएकी थिइन् । राष्ट्रपतिमा सावित्रा राई, प्रमुख प्रतिपक्षी दलका नेता आकृति राई चुनिएका थिए । संसदमा सदस्य ३० मध्ये २७ जना सांसद प्रधानमन्त्रीको चुनावमा सहभागी भए । प्रधानमन्त्रीमा भूमिका पोख्रेल चुनिइन् । 

गृह मन्त्रीमा विनय रार्ई, अर्थ मन्त्रीमा सजन शाक्य, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा विना गौतम, युवा तथा खेलकुद मन्त्रीमा संगिता राई, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा सुजता तिमल्सिना र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नर्वदा मिश्र चुनिए । 

नमुना संसदको अभ्यासमा सुरुका दुई दिन प्रशिक्षण दिइएको थियो । त्यसपछि बैठकको अभ्यास गरिएको थियो । नमुना संसदमा विधेयक निर्माण, दर्ता, पारित गर्ने प्रक्रियाको अभ्यास गरिएको थियो । 

युवा संसद र सरकारको अभ्यास गर्दै युवाका समस्या, मुद्दा र सम्भावनाका विषयलाई सुझावको आधारमा धनकुटा नगरपालिकामा पेस गरिने जिल्ला युवा समितिका अध्यक्ष छाराहाङको भनाइ छ । नमुना युवा संसद बैठकको पुरै हेरेका प्रतिनिधीसभा सदस्य राजेन्द्र राईले संसदीय अभ्यासले युवामा अनुशासन सिकाएको बताउनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया