थाहा नभएको रोगका कारण बाजुरामा दुई महिलाको मृत्यु

 बैशाख १९, २०७६ बिहिबार १५:५४:२८ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – हुम्लाको ताँजाकोट गाउँपालिकासँग जोडिएको बाजुराको हिमाली गाउँपालिकामा थाहा नभएको रोगका कारण दुई महिलाको ज्यान गएको छ । 

ज्यान जानेमा हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडीकी ४० वर्षीया  सञ्चकला बुढाको बुधबार दिउँसो ज्यान गएको  कुरा हिमाली गाउँपालिकाका स्वास्थ्य इञ्चार्ज धर्मबहादुर बुढाले बताउनुभयो ।  त्यसैगरी त्यसै गाउँपालिका नदापाटाकी ७५ वर्षीया हैकला भण्डारीको सोमबार दिउँसो ज्यान गएको रुगिनका स्थानीय बासिन्दा छप्की बुढथापाले जानकारी दिनुभएको छ ।

केही सातायता हिमाली गाउँपलिकाको छिमेकी जिल्ला हुम्लाको तांजाकोट गाउँपलिका महामारीका कारण १९ जनाको ज्यान गएको थियो । बाजुरा जिल्लाको  छिमेकी गाउँपालिकामा महामारी फैलएपछि  गाउँमा कतै महामारी नै   हो कि भन्ने अनुमान गरिएको कुरा जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बुढाले बताउनुभयो । 

क्युडीमा सामान्य रुघाखोकीको प्रकोप देखिएकाले अहेब धनबहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थ्यकर्मीको टोली पठाइसकेको बुढाले बताउनुभयो । स्थानीयका अनुसार गाउँमा एक सातादेखि फैलिएको रोगबाट अनि गाउँलेहरु बिरामी परेका छन् ।

बाजुराको सदरमुकाम मार्तडीबाट झण्डै ४० कोष पैदल दूरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुइँचो  छ । स्थानीय बासिन्दाका अनुसार टाउको दुख्ने, ज्वरो आउने थला पर्ने र नाखमुखवाट रगत बग्नेजस्ता लक्षण देखा परेको छप्की बुढथापाले टेलिफोन जानकारी दिनु भएको छ ।
      

अन्तिम अपडेट: बैशाख ६, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया