सन्यासका बारेमा बोल्न चाहेनन् रोनाल्डो, प्रशिक्षक भन्छन् : रोनाल्डोले धेरै गर्न बाँकी नै छ

 असार १७, २०७५ आइतबार १४:३५:१० | उज्यालो सहकर्मी

उरुग्वेसँगको हारपछि नकआउट चरणबाटै बाहिरिए पनि पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो सन्यासको बारेमा बोल्न चाहेनन् ।

धेरैले सन् २०२२ सम्म रोनाल्डो पोर्चुगिज टिममा नबस्ने अड्कल काटिरहँदा रोनाल्डोले भने यो समय आफ्नो भविष्यको बारेमा कुरा गर्न उपयुक्त नभएको बताए । 

विश्वकपको नकआउट चरणमा रोनाल्डोले पहिलो गोल र असिष्ट नै गर्न सकेका छैनन् । शनिबार एडिन्सन काभानी प्रेरित उरुग्वेले २–१ ले हराउँदा पोेर्चुगलका लागि भने पेपेले एक गोल गरेका थिए । 

कतार विश्वकपमा रोनाल्डो ३७ वर्ष पुग्नेछन् तर उनले फिश्ट रंगशालाबाट बाहिरिँदै गर्दा आफू  मात्रै होइन प्रशिक्षक तथा अन्य खेलाडीको भविष्यबारे कुरा गर्न उपयुक्त समय नभएको बताए । 

‘हाम्रो टिम विश्वकै उत्कृष्ट टोली बन्नेछ । हाम्रो टिम मत्हत्वाकांक्षी र आशावादी खेलाडीहरुले भरिएको छ । पोर्चुगलले आगामी खेलहरु जित्दै जानेछ र पोर्चुगिज नागरिकलाई गौरवान्वित बनाउनेछ’, रोनाल्डोले भने । 

‘हामीले उरुग्वेले भन्दा राम्रो खेलेका हौँ, फुटबलमा राम्रो खेलेर मात्रै हुँदैन, जसले बढी गोल गर्छ त्यसैले जित्छ । हामीले जित्न चाहेका थियौँ । हामी प्रतिस्पर्धामा उत्रियौँ तर उरुग्वेलाई बधाई दिनुपर्छ’, रोनाल्डोले भने । 

पोर्चुगलको राष्ट्रिय टिमको प्रतिनिधित्व गर्नु पाउनु आफ्नो लागि निकै खुशीको कुरा भएको बताउँदै रोनाल्डोले आफ्ना साथी तथा टेक्निकल स्टाफको सहकार्यको प्रशंसा गरे ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले पनि रोनाल्डोले अझै धेरै गर्न बाँकी रहेको बताउँदै सन्यास दिने बेला नभएको बताएका छन् । सन् २०२० को युरोकप र त्यसको दुई वर्षपछि हुने विश्वकपसम्म रोनाल्डो टिममै रहने आशा उनले राखेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया