विश्वकप क्रिकेटः प्रभावशाली ५ स्पिनरहरु

 जेठ ४, २०७६ शनिबार ९:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इंग्ल्याण्डमा सुरु हुने विश्वकपको पीच कस्तो होला सबैमा उत्सुकता छ । त्यहाँको गर्मी मौसमलाई हेरेर क्रिकेट विश्लेषकहरुले स्पिनरका लागि यो विश्वकप खास हुने बताउँदै आएका छन् ।

जहिलेदेखि एकदिवसीय क्रिकेटमा २ वटा नयाँ बलको प्रयोग हुन थाल्यो त्यसपछि स्पिनरले ब्याट्सम्यानलाई हैरान बनाउन थालेका हुन् ।

मध्यक्रममा विकेट लिनका लागि स्पिनर प्रयोग गर्ने चलन अन्तर्राष्ट्रिय क्रिकेटमा बढ्दो क्रममा रहेकाले आसन्न विश्वकपमा पनि स्पिनरको प्रर्दशनमा धेरैको ध्यान केन्द्रीत हुने छ ।

१. इमरान ताहिर (दक्षिण अफ्रिका)

इमरान ताहिर आउँदो विश्वकप खेल्ने बुढा खेलाडीमा पर्छन् । उनको यो अन्तिम विश्वकप पनि हो । बुढो बागको संज्ञा पाएका ताहिर नै दक्षिण अफ्रिकाको स्पिन बलिङका महत्वपूर्ण हतियार हुन् ।

अहिलेसम्म विश्वकप जित्न नसकेको दक्षिण अफ्रिकाका लागि स्पिन बलर रोज्दा इमरान ताहिर पहिलो रोजाईमा पर्छन् । कप्तान फाप डु प्लेसिसलाई विकेटको आवश्यकता पर्दा ताहिरको हातमा बल हुन्छ र उनले कप्तानलाई निराश पनि पारेका छैनन् ।  

उनले ९८ एकदिवसीय क्रिकेटमा १६२ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट प्रदर्शन ४५ रन खर्चिएर ७ विकेट हो । जारी समयमा उनको फर्म उत्कृष्ट छ । हालै आईपीएल क्रिकेटमा सर्वाधिक २६ विकेट लिएर पर्पल क्याप पनि जितेका थिए । 

२. सकिब अल हसन (बंगलादेश)


३२ वर्षीय सकिब उल हसनले बंगलादेशको स्पिन कमान सम्हाल्ने छन् । अनुभवी अलराउण्डर हसन टिमलाई आवश्यक परेकाबेला विकेट निकाल्ने क्षमता राख्छन् ।

सकिबले अहिलेसम्म १९८ एकदिवसीय क्रिकेटमा २४९ विकेट लिएका छन् । उनकै प्रदर्शनका कारण बंगलादेशले टेस्ट, एकदिवसीय र टी–२० मा सफलता पनि हात पारेको छ ।

तर सकिब अहिले चोट ग्रस्त रहेकाले उनी खेल्ने या नखेल्ने अझै तय नहुँदा बंगलादेशी टिम भने तनावमा रहेको छ ।
 
३.नाथन लायन (अस्ट्रेलिया)

नाथन लायन अस्ट्रेलियाको टेस्ट टिमका महत्वपूर्ण सदस्य हुन् । तर सिमित ओभरको खेलको अनुभव भने उनीसँग त्यती छैन् ।

अहिलेसम्म जम्मा २५ वटा एक दिवसीय क्रिकेट मात्रै खेलेका छन् । लायनको यो पहिलो विश्वकप पनि भएकाले स्पिन आक्रमणको जिम्मा उन कै हुने छ । उनको बललाई टर्न गर्ने र बाउन्स गर्ने क्षमताका कारण अस्ट्रेलियाली टिमका महत्वपूर्ण सदस्य हुन् ।

४. रासिद खान (अफगानिस्तान)

अफगानिस्तानका लेग स्पिनर हुन रासिद खान । उनले पछिल्लो समयदेखि खेलमा निकै सुधार गरेका छन् ।

रासिद आईसीसी एकदिवसीय वरियतामा तीन नम्बरमा छन् । २ वर्षदेखि लगातार शानदार फर्ममा रहेको अफगान टिमको सफलतामा उनको ठूलो हात रहेको छ ।

उनले फिल्डिङ गर्दा रन रोक्ने र बलिङ गर्दा विकेट लिने कलाका कारण ब्याट्सम्यानहरुलाई रन बनाउन अप्ठेरो हुने छ । आईपीएलको १२ औं संस्करणमा रासिदले १५ खेलमा १७ विकेट लिएका थिए ।
 
५. कुलदीप यादव (भारत)

भारतका चाइनाम्यान स्पिन बलर कुलदीप यादवले आसन्न विश्वकपमा उत्कृष्ट भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

भारतले अन्तिम एक दिवसीय २०१८ मा इंग्ल्याण्ड भ्रमणका बेला कुलदीपले उत्कृष्ट प्रदर्शन गर्दै इंग्लिस ब्याट्सम्यानलाई हैरान पारेका थिए । तीन म्याचको सिरिजमा कुलदीपले ९ विकेट लिए ।

यो सिरिज भारतले २–१ ले जितेको थियो । कुलदीपले अहिलेसम्म ४४ एकदिवसीय क्रिकेटमा ८५ विकेट लिएका छन् ।

भर्खरै सम्पन्न आईपीएल क्रिकेटमा कोलकता नाइट राइडर्सबाट खेल्दा ९ खेलमा जम्मा ४ विकेट हात पारे । तर पनि उनी विराट कोहलीको सेनाका महत्वपूर्ण सदस्य मानिन्छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया