नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर, अनुदानको ...
मंसिर १९, २०८१ बुधबार
नेपालमा सडक पूर्वाधारको अवस्था राम्रो छैन । ठूला ठूला राजमार्ग बन्नै सकेका छैनन्, बनेका केही राजमार्ग पनि अत्यन्तै अव्यवस्थित छन् । शहरी सडक त झन धुलो, हिलो र खाल्डाखुल्डीले विजोग अवस्थामा रहेका छन् । नेपालमा राम्रो सडक छ भनेर गर्वले भन्न लायक कुनै पनि सडक छैनन् ।
सरकारले नीति तथा कार्यक्रम अनि बजेटमा हरेक वर्ष सडक पूर्वाधारका नयाँ नयाँ र आकर्षक आयोजना ल्याउँछ । तर तिनको कार्यान्वयन नहुँदा वर्षौंदेखि लथालिङ्ख अवस्थामा रहेको सडक पूर्वाधारको अवस्था जस्ताको त्यस्तै छ ।
यसै विषयमा अर्जुन पोख्रेलले नेपाल सरकारका पूर्व सचिव तथा पूर्वाधार विज्ञ किशोर थापासँग गरेको कुराकानी :
अहिलेको सडक पूर्वाधारको अवस्था तपाइँलाई कस्तो लाग्छ, राम्रो, मध्यम या खत्तम ?
अहिले नेपालका सडक पूर्वाधारका कुनै पनि संरचना आहा भन्न लायक छैनन् । चित्त बुझाउने खालका पनि छैनन्, त्यही भएर मलाई त खत्तम नै लाग्छ ।
सडक पूर्वाधारका संरचनालाई किन खत्तम भन्नुभएको ?
हाम्रा जति पनि सडक आयोजना छन्, कुनै पनि आयोजना राम्रा छैनन्, कुनै पनि आयोजना तोकिएको समयमा पूरा भएका छैनन् ।
बरु सानातिना आयोजना सम्पन्न भएका होलान्, तर हामीले राष्ट्रिय गौरवका भनेका, राष्ट्रिय राजमार्ग नाम दिएका र लाइफलाइन नाम दिएका कुनै पनि आयोजना ठिकठाक छैनन् । अहिलेको नीति तथा कार्यक्रम हेर्नुभयो भने पनि त्यहाँ नयाँ नयाँ आयोजना राखिएका छन्, ती पूरा हुने कुनै ग्यारेन्टी छैन ।
सडक निर्माणका पुराना आयोजना वर्षौदेखि अलपत्र परिरहेका छन्, हामीले के सोचेर फ्याट्टै नयाँ ल्याउँछौं, सरकारको नियत के होला ?
तपाइँले ठिक भन्नुभयो । हामीकहाँ वर्षौंदेखि अलपत्र धेरै सडक छन्, तर पनि सरकारले हरेक वर्ष नयाँ नयाँ आयोजना ल्याएकै हुन्छ । यसको लागि दुई वटा कारण छन् । एउटा राजनीतिक दल या नेताले आफ्नो क्षेत्रमा योजना पार्नको लागि नयाँ योजना थोपरिहाल्ने, अर्को दाताको कन्सर्न रहेको कुरा ।
आफू सत्तामा रहेको बेला भोलि चुनावलाई पनि सजिलो होस् न त भनेर नयाँ योजना हालिहाल्ने चलनका कारण पुराना आयोजना रोगी बन्दै जाने र नयाँ आयोजना पनि थपिने क्रम बढेको छ ।
अर्को दाताहरुले पनि उनीहरुको इच्छा अनुसार फलानो ठाउँमा फलानो संरचना बनाउँदा उपयुक्त भन्ने लागेपछि आयोजना निर्माणमा सघाउँछन् । ती आयोजनामा लगानी हुन्छ, तर खै नमिलेको के नमिलेको जस्तो भएर ढिलाई भैहाल्छ ।
हामीकहाँ कुनै पनि सडक आयोजनाको तोकिएको समयमा पूरा भएको विरलै मात्र उदाहरण पाइन्छ । हामीकहाँ पैसा नभएर हो कि जाँगर नभएर वा बुद्धि कै कमी भएर हाे ?
यसलाई म बुद्धि नभएको भन्न रुचाउँछु । जाँगर नभएको होइन । हामी नेपाली त जाँगरिलै मान्छे हो नि, अरब, मलेसिया, यूएई लगायतका देशलाई हाम्रै नेपालीको जाँगरले विकसित बनाइरहेको छ । तर हाम्रो देशमा भने जाँगर हुँदा पनि त्यसो हुन सकेन ।
हामी विकासको दिशामा विस्तारै अघि बढिरहेका छौं । यहाँको स्रोत साधन, प्राकृतिक विपत्ती, हाम्रा चाडबाड लगायतका कारण विकसित देशको तुलनामा हाम्रा आयोजना ढिलो नै सम्पन्न हुन्छन् । त्यसमाथि लोकप्रियता कमाउन पाँच वर्ष लाग्ने आयोजनाको म्याद हामीले २ वर्षमै झारिदिन्छौं । तर आयोजना १० वर्षमा पनि पूरा हुन्न । तर शासकहरुले नागरिकलाई २ वर्षमै आयोजना बन्छ भनेर सपना देखाइरहेका हुन्छन् ।
बरु पाँच वर्ष लाग्छ भनेर म्याद राखौं, चार वर्षमै सक्न मिल्छ नि । त्यस्ता उदाहरण पनि छन् नि । त्यसैले हामीले आयोजनामा पटक्कै बुद्धि लगाउन सकेनौं भन्ने लाग्छ मलाई त ।
अर्को कुरा जसले थोरै रकमा ठेक्का हाल्छ, उसैले आयोजना निर्माणको जिम्मेवारी पाउने व्यवस्था छ । यसले गर्दा एकातिर आयोजना ढिलाइ हुने र गुणस्तरहीन काम भैरहेका भन्ने सुनिन्छ, सडक पूर्वाधारको हकमा पनि यही हो ?
पहिले पहिले भन्दा अहिले ठेक्क प्रक्रिया निकै सुध्रिएको छ । पहिले धेरै कुरा अस्पष्ट थिए, मान्छेले कमजोर कानुनको फाइदा उठाएर सडक पूर्वाधारसहितका धेरै आयोजनामा मनोमानी गरे ।
तर जब हामीले सार्वजनिक खरिद ऐन संशोधन र नियमावली ल्यायौं, त्यसपछि यो क्षेत्र सुधार भएको छ । पहिले खरिद प्रक्रियामा धेरै झण्झट थिए, मान्छेहरुले त्यसमै टेकेर धेरै भ्रष्टाचार गरे । कानुनकै कुरा गर्ने हो भने त विश्वका धेरै देशको तुलनामा हाम्रो सार्वजनिक खरिद ऐन धेरै राम्रो छ । तर पनि कानुनका छिद्रमा टेकेर धेरै तलमाथि गरिरहेका छन् ।
तर नतिजामा त त्यस्तो देखिएन नि ?
ठेक्कापट्टामा हुने अनियमितता, गुण्डा परिचालन गरेको भरमा ठेक्का पाउने लगायतका बेथिती त हराएका छन नि । अहिलेको समस्या ठेक्का लगाउँदा हैन, ठेक्का पाइसकेपछि हुने गडबडीमा छ ।
ठेक्का पाएपछिका समस्या त धेरै समाधान भएका छैनन् । अहिले भैरहेका सडक पूर्वाधारको अवस्थाले पनि त्यसलाई नकारेका छैनन् ।
हाम्रै देशका केही ठूला ठेकेदार कम्पनीले विदेशका केही पूर्वाधारमा पनि ठेक्का पाउँछन् र काम गर्छन, बेलैमा सक्छन् । तर नेपालमा काम गर्दा भने तिनै कम्पनीले ढिलाई गरिरहेका हुन्छन, यसमा ठेकेदार कम्पनीको नियत पनि ठिक देखिएन हैन र ?
यसमा ठेकेदारको गलत नियत त देखियो नै, काम लगाउने निकाय पनि उत्तिकै गैरजिम्मेवार देखिन्छ । यस्तै स्थानीय बासिन्दादेखि सरकारी अनुगमन टोलीको पनि उत्तिकै हात रहेको हुन्छ ।
काम गर्ने ठाउँका स्थानीय बासिन्दाका माग, बनको समस्या, मुआब्जाको समस्या, निर्माण सामग्री आयातमा सहज लगायतका काममा सहजीकरण गर्ने त सरकारको काम हो नि ।
तर यहाँ त ठेकेदारले निर्माणको काम पाइसकेपछि सरकारले फर्केर नहेर्ने । काम गरे गर नगरे मर भन्ने जस्तो सोचाई पनि उत्तिकै गलत छ ।
हामी सडक पूर्वाधारको विषयमा कुराकानी गरिरहेका छौं, हामीले सडक विस्तार गर्न खोज्छौं, तर सकिरहेका छैनौ, समस्या माथि समस्या देखिरहेका छन् । तपाइँ चाहिँ मुख्य समस्या के मा देख्नुहुन्छ ?
अबका केही वर्षमा हाम्रा धेरैजसो सडक चिल्ला होलान् भन्ने धेरैको आशा छ । तर अहिलेकै हिसाबले हेर्दा त सडक नै हराउलान भन्ने पीर पो छ । कुनै पनि देशमा जाँदा त्यहाँ विकास कस्तो छ भनेर जाँच्ने पहिलो कुरा भनेकै सडक हो । त्यहाँको सडकले नै अरु विकासको पूर्वानुमान गर्न सकिन्छ । त्यो देशको सडक र ट्राफिकले नै त्यो देश कस्तो हो भन्ने बुझाउँछ ।
तर यो कुरामा हामी धेरै नै पछि परेका छौं । हामीसँग बाटो नै नभएको पनि होइन, तर भएको बाटो राम्रो गर्ने र व्यवस्थित नै गर्न सकेनौं । सडकको जुन राम्रो प्रविधि र इञ्जिनियरिङ हो त्यसलाई हामीले जोड्नै सकेनौं ।
अहिले हाम्रो सडक इञ्जिनियरले होइन ठेकेदारले बनाइरहेका छन् । गलत यहीँ नै भैरहेको छ । सडकमा जति इञ्जिनियरिङ प्रयोग हुनुपर्ने हो त्यो भएकै छैन ।हाम्रो छिमेकी देशका सडक र पूल पनि यस्ता बनिसके, जुन हामीले कल्पना पनि गर्न सक्दैनौं । सडक पूर्वाधारसँग जोडिएका सडक स्वयं, पूल, सुरुङ लगायतका संरचनामा विश्वले अकल्पनीय फड्को मारिरहँदा हामी भने सडकका खाल्डा कसरी पुर्ने भन्नेमै अल्झियौं ।
हाम्रा सडकको अवस्था तत्कालै सुधार होला त ?
भएका सडकमा पनि ट्राफिक व्यवस्था चुस्त होस, सवारी साधनले पनि पालना गरुन, ठाउँ ठाउँमा व्यवस्थित बस स्टण्ड, पैदल मार्ग , साइकल मार्ग होस्, हामीले चाहेको त्यस्तै हो । तर हामीकहाँ त्यस्तो कुरा धेरै पर छ जस्तो लाग्छ । यी सामान्य कुरा हुन तर हाम्रो सरकारले भ्यूटावरका योजना बनाउँछ, सडक सुधारका योजना बनाएर कार्यान्वयन गर्दैन ।
यो सरकारले पनि सडकमै ध्यान देओस् । कमसेकम पाँच वर्षपछि केही राम्रा सडक देखाएर मैले यति त गरेँ भनेर सरकारले भन्न सकोस् । सरकारलाई चर्चित हुन भ्यू टावर हैन २/४ वटा चिटिक्कका सडक बनाए पुग्छ ।
हामी सडकको मामलामा यति धेरै पछि परेको देख्दा मलाई दुःख लाग्छ । हाम्रा कुरुप सडकले देशकै बेइज्जत गरिसके । सबै नेपालीले अनुभव गरेको कुरा सडक नै राम्रो भएन । हामी देशका कुनै पनि सडकमा आनन्दले गाडी चलाउन पाएका छैनौं ।
हाम्रो सडक विभाग केही वर्षअघि नेपाल सरकारको एकदम शक्तिशाली र चुस्त विभाग थियो । अहिले सबैभन्दा निकम्मा विभाग हुन पुगेको छ । हामीले चाहने हो भने यही पैसाले हाम्रा सडक चिटिक्क हुन सक्छन् । तर खै किन हो हामीले त वर्षौंदेखिका रोगी सडकको उपचारै गरेनौं ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।