विश्वकप क्रिकेटका सम्झनलायक फाइनल प्रतिस्पर्धाहरु !

 जेठ ६, २०७६ सोमबार १४:३६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी एक दिवसीय विश्वकपका ११ वटा संस्करण सकिएका छन् । सन् १९७५ मा पहिलो एक दिवसीय क्रिकेट विश्वकप आयोजना भएको थियो ।

अहिलेसम्म पाँचवटा देशले विश्वकपको उपाधि जितेका छन् । त्यसमध्ये चारवटा देश उपविजेता पनि बनेका छन् ।

इंग्ल्याण्डले तीन पटक फाइनल खेले पनि उपाधि भने जित्न सकेको छैन । विश्वकपको फाइनल सँधै विशेष रहन्छ, तर सबै फाइनल रोमाञ्चक हुँदैन । सबै फाइनल खेलले रंगशालामा उपस्थित दर्शकको ढुकढुकी बढाउँदैन ।

अष्ट्रेलियाले विश्वकपको उपाधिमा ह्याट्रिक गर्दा देशका लागि रोमाञ्चक वातावरण बन्यो होला, तर दर्शकको दृष्टिकोणमा फाइनल निरस थियो । किनभने त्यो फाइनल कुनै ‘ड्रामा’ थिएन । यहाँ विश्वकपका उत्कृष्ट पाँच फाइनलको जानकारी दिँदैछौं ।

१९९६– श्रीलंका भर्सेस अष्ट्रेलिया

वेष्ट इण्डिजविरुद्धको सेमिफाइनलमा गुमाइसकेको खेल आफ्नो पक्षमा पार्दै फाइनल पुगेको अष्ट्रेलियाले २ सय ४१ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा आएको श्रीलंकाले २३ रनमा दुई विकेट गुमाइसकेको थियो ।

यसक्रममा उसले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सनथ जयसुर्या र रोमेश कालुविथारानालाई गुमाइसकेको थियो । तर, अरविन्द डि सिल्भाले अविजित १०७ रन बनाएपछि अष्ट्रेलिया पराजित भयो ।

यसक्रममा डि सिल्भालाई असन्का गुरुसिन्हा र कप्तान अर्जुना रनतुंगाले साथ दिँदै श्रीलंकालाई उपाधि जिताउन सफल भए ।

१९८३– भारत भर्सेस वेष्ट इण्डिज

विश्वकपको पहिलो संस्करणको विजेता वेष्ट इण्डिजलाई फाइनलमा ४३ रनले हराउँदै भारतले पहिलो पटक आईसीसी विश्वकपको उपाधि जित्यो । ६० ओभरको इनिङमा भारतले १ सय ८३ रनको झिनो योगफल तयार पार्‍यो ।

अलराउण्डरहरुको बाहुल्यता रहेको वेष्ट इण्डिजमा बलिङ आक्रमण अझै घातक थियो । त्यसैका कारण भारतले कम स्कोर बनाउन सक्यो । कृष श्रीकान्थले बनाएको ३८ रन नै सर्वाधिक स्कोर बन्यो ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजका लागि रिचार्डले विस्फोटक ३३ रन बनाए । उनलाई कपिल देवले क्याचआउट गरेपछि खेलको वातावरण नै फेरिन पुग्यो ।

त्यसपछि वेष्ट इण्डिजका ब्याट्सम्यानहरु एक पछि अर्को रुपमा पेवेलियन फर्किए । फलस्वरुप वेस्ट इण्डिज १ सय ४० रनमा प्याक भयो । मोहिन्दर अमरनाथले १२ रन दिएर तीन विकेट लिँदा म्यान अफ द म्याच बने ।

२०११– भारत भर्सेस श्रीलंका

स्कोरकार्ड अनुसार १० बल बाँकी छँदा नै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै भारतले श्रीलंकालाई हरायो । तर त्यो म्याचमा व्यापक ‘ड्रामा’ले स्थान पायो । पहिला ब्याटिङ गर्दै श्रीलंकाले २ सय ७४ रन बनाएको थियो ।

जसमा माहेला जयबर्द्धनेले शतक प्रहार गरे । लक्ष्य पच्छ्याउने क्रममा भारतका ओपनर वीरेन्द्र सहबाग (०) र सचिन तेन्दुल्कर (१८) सस्तैमा आउट भए । मुम्बईमा भएको फाइनलमा घरेलु टिमका लागि उत्कृष्ट खेलाडीको अपेक्षा सबै समर्थकले गरेका थिए ।

यस्तै जिम्मेवारी गौतम गम्भीर र महेन्द्र सिंह धोनीले निभाए । यी दुई खेलाडीले १ सय ९ रनको साझेदारी गरे । व्यक्तिगततर्फ गम्भीरले ९७ रन र धोनीले अविजित ९१ रनको योगदान दिएपछि भारतले जित निकाल्यो ।

सेट ब्याट्सम्यान गम्भीरको विकेट लिएपछि श्रीलंकाली टिममा खेल जित्ने आशा पलाएको थियो । तर धोनीले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले २८ वर्षपछि पहिलो उपाधि जित्यो ।

१९९२– पाकिस्तान भर्सेस इंग्ल्याण्ड

सन् १९९२ को विश्वकप फाइनल सँधै सम्झन लायक रहनेछ । कारण दुईवटा छन् । पहिलो– उत्कृष्ट फर्ममा रहेको इंग्ल्याण्डलाई हराउला भन्ने कुनै कल्पना थिएन ।

त्यसभन्दा पनि पाकिस्तान फाइनलमा पुग्छ भन्ने नै एउटा आश्चर्यको कुरा थियो । किनभने त्यही प्रतियोगिताको समूह चरणमा इंग्ल्याण्डले पाकिस्तानलाई ७४ रनमा प्याक गरेको थियो । त्याे म्याचमा वर्षा बाधक बनेपछि पाकिस्तान भाग्यमानी बन्दै नकआउट चरणमा पुग्न सफल भएको थियो ।

फाइनलमा इंग्ल्याण्डलाई २५० रनको योगफल आवश्यक थियो । पाकिस्तानले ६ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो । जवाफी पारीमा ६९ रन बनाउँदा चार विकेट गुमाएपछि इंग्ल्याण्ड संकटमा पर्‍यो ।

त्यसपछि निल फेरब्रदर र एलन ल्याम्बले ७२ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई आशा दिलाए । तर, वासिम अक्रमले दुबै ब्याट्सम्यानलाई दुई बलमा आउट गरेपछि इंग्ल्याण्डको संकट चुलियो ।

खेलमा अक्रमले १० ओभरमा ४९ रन दिएर तीन विकेट लिँदा पाकिस्तानले जित हात पार्‍यो । अक्रमले ब्याटिङतर्फ पनि २१ बलमा ३३ रन बनाएका थिए ।

१९८७– अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड

भारतको कोलकातास्थित इडेन गार्डेनमा भएको यो फाइनल फाइनलजस्तै थियो । किनभने क्रिकेट विश्वकपको फाइनलमध्ये सबैभन्दा प्रतिस्पर्धात्मक फाइनल यही नै थियो । इंग्ल्याण्डलाई ७ रनले हराउँदै अष्ट्रेलियाले उपाधि जित्यो ।

इंग्ल्याण्डलाई अष्ट्रेलियाले २ सय ५४ रनको लक्ष्य दिएको थियो । लक्ष्य पच्छ्याउने क्रममा अष्ट्रेलियाले दुई विकेटको क्षतिमा १ सय ३५ रन बनाएकाे थिए । कप्तान माइक ग्याटिङले उत्कृष्ट ब्याटिङ गरेका थिए । ग्याटिङ ४१ रन बनाएर रिभर्स स्वीप प्रहार गर्ने क्रममा आउट भए ।

उनीसँगै क्रिजमा रहेका एलन बोर्डरले पारी सम्हालेका थिए । तर उनी पनि टिमले २ सय २० रन बनाउँदा व्यक्तिगत ४५ रनमा आउट भएपछि इंग्ल्याण्डकाे लय धरापमा पर्‍याे ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया