त्रिभुवन विमानस्थलको रन वे परिवर्तन : पहिलो चरणको काम लगभग सकियो, खराब मौसम बन्यो ‘च्यालेन्ज’

 जेठ ११, २०७६ शनिबार १९:४५:१५ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्ने पहिलो चरणको काम लगभग सकिएको छ । ३ हजार ५० मिटर लामो धावनमार्गमा पहिलो चरणमा बीचको भाग अर्थात जहाज गुड्ने ठाउँको पुरानो पिच हटाएर नयाँ पिच हाल्ने काम थालिएको थियो ।

अहिले ट्याक्सी वे जोडिएको ठाउँबाहेक अरु ठाउँमा लगभग पहिलो चरणको काम सकिएको आयोजनाका निर्देशक बाबुराम पौडेलले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

‘हामीले २६ सय मिटर भन्दा धेरै भागको पुरानो पिच हटाएर नयाँ राखिसकेका छौँ, ट्याक्सी वे सँग जोडिएको भाग बाहेक मुख्य धावनमार्गको बीचको भागमा हामीले ओल्लो छेउदेखि पल्लो छेउसम्मकै पिच परिवर्तन गरिसकेका छौँ ।’ निर्देशक पौडेलले भन्नुभयो  । 

पहिलो चरणका के काम भयो, दोस्रो चरणमा के हुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । अहिले ३ हजार ५० मिटरमा नै ३० देखि ५० सेन्टिमिटर गहिराइसम्म खनेर पुरानो पिच उप्काउने र नयाँ पिच हाल्ने काम भैरहेको छ ।

पहिलो चरणमा सेन्ट्रललाइनका वरपर अर्थात् जहाँ जहाज उड्ने क्रममा र बस्ने क्रममा गुड्छन् त्यहाँ वरपरको पिच उप्काएर नयाँ पिच हालिएको छ । अलिहे ओल्लो छेउदेखि नै पल्लो छेउसम्मको सेन्ट्रल लाइनको पिच उप्काएर नयाँ पिच हालिएको छ । तर पुरै धावनमार्गको भने पिच फेर्ने काम बाँकी छ ।

पहिलो चरणको काम २/३ दिनमा सकिनेछ, त्यसपछि दोस्रो चरणको काम सुरु हुनेछ । दोस्रो चरणमा धावनमार्गको सबै भागको पुरानो पिच उप्काएर नयाँ हालिनेछ । अहिले गरेको पिचमा थप फिनिसिङ गरिनेछ । 

‘तुलनात्मक रुपमा मुख्य चुनौती मानिएको सेन्ट्रल लाइन वरपरको पिच परिवर्तन गरिसकिएको छ, पहिलो चरणको काम सकिनै लागेको छ, त्यसपछि हामीले दोस्रो चरणको सम्पुर्ण भाग पिच गर्नेछौँ ।’ आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले उज्यालोसँग भन्नुभयो ।

मौसमको ‘च्यालेञ्ज’

७५ वर्ष पुरानो धावनमार्ग फेर्ने काम गएको चैत १८ गतेदेखि सुरु भएको हो । त्यसको लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरिँदै आएको छ । राति १० बजे विमानस्थल बन्द हुनेबित्तिकै धावनमार्ग भत्काउने र नयाँ पिच हाल्ने काम हुन्छ । जुनसुकै हालतमा पनि राती भत्काएको पिच अर्को दिन बिहान ८ बजेसम्म ठिकठाक बनाउनुपर्ने चाप हुन्छ । ठाउँ हेरेर ३० देखि ५० सेन्टिमिटर गहिरोसम्म खनेर पुरानो पिचको ठाउँमा नयाँ पिच हालिन्छ । 

सम्झौता अनुसार असारको १८ गतेभित्र धावनमार्गसहित ट्याक्सी वे को पनि पुरानो पिच भत्काएर नयाँ पिच हालिसक्नुपर्नेछ । तर यसको लागि बेमौसमी वर्षा चुनौती बनेको छ । काम सुरु भएको पहिलो हप्ताभर पनि राती पानी परेकोले काम हुन पाएको थिएन । अहिले पनि कहिलेकाँही राति पानी पर्दा समस्या हुनेगरेको छ । 

‘कहिलेकाहीँ राती पानी पर्छ, त्यसले हाम्रो सेड्युल नै तलमाथि पार्ने डर हुन्छ, पिच टाल्ने बेलामा पानी प¥यो भने त झनै तनाव हुन्छ, अर्को दिन ८ बजेसम्म त हामीले जसरी पनि विमानस्थल ठिकठाक पार्नुपर्छ, त्यसैले वर्षा नै चुनौती बनेको छ ।’ आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले भन्नुभयो । 

अहिलेसम्म निर्माण सामग्री र अरु व्यवस्थापकीय कुराका कुनै कमी नभएको तर मौसम नै कहिलेकाँही बाधक बनेको उहाँको भनाइ छ । 

७० वर्षपछि पिच फेर्न जुरेको साइत 

खासमा हरेक १०/१२ वर्षमा विमानस्थलको पिच परिवर्तन गर्नुपर्ने हो । अन्तर्राष्ट्रिय उदाहरण हेर्ने हो भने पनि बढीमा १५ वर्षभित्र सबैजसो विमानस्थलले पुरानो पिच भत्काएर नयाँ राख्छन् । तर हामीकहाँ ४६ वर्षसम्म पनि पिच फेरिएको छैन । ७० वर्षअघि सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सन् १९७५ अर्थात् आजभन्दा ४४ वर्षअघि विस्तार गरिएको थियो । रन वे ३ हजार ५० मिटर बनाइयो र पिच गरियो । त्यतिखेर पनि पुरानो पिच फेरिएन विस्तार गरेको क्षेत्रमा मात्रै नयाँ पिच हालियो । 

विमानस्थलमा बेला बेलामा धावनमार्गमा चिरा पर्ने समस्यालाई टालेर समाधान गरिँदै आएको थियो । ८ बर्षअघिदेखि भने समस्या बढ्दै गयो । दिनमै ३ पटकसम्म धावनमार्गमा चिरा देखिन थाल्यो । पछिल्ला २ वर्षमा त धावनमार्ग धेरै नै फाटन थाल्यो । धावनमार्गकै कारण जहाज आकासमा होल्ड हुन थाले । 

त्यसपछि तात्तिएको नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पाेरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम थालेको हो । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया