प्रधानमन्त्री रोजगार कार्यक्रम : एक महिने ‘जागिर’ले कतै खुशी, कतै चिन्ता

 जेठ २६, २०७६ आइतबार १४:५१:४९ | बेदानन्द जाेशी
unn.prixa.net

भक्तपुर – सूर्यविनायक नजिकै इम्पेरर ब्यांकटको प्राङ्गण । मध्यान १२ बजेको टण्टलापुर घाम । शुक्रबार प्रधानमन्त्री रोजगार कार्यक्रममा उपस्थित भएकाहरुलाई चर्को घामको वास्तै थिएन ।

सरकारले एक महिनाको काम दिंदैछ भन्ने सुनेर खुशी भएका उनीहरुलाई प्रधानमन्त्री र मन्त्रीको उपस्थितिले थप उत्साहित बनायो । प्रधानमन्त्री र मन्त्रीले हातमा बेल्चा र साबेल थमाएपछि उनीहरु झन् फुरुंग भए । 

शरीरमा पहेंलो ज्याकेट र टाउकोमा पहेंलै हेल्मेट लगाएका उनीहरुले रमाइलो मान्दै बाटो खने । सूर्यविनायककी ६५ वर्षीया ललीदेवी सञ्जेलले पनि खुशी हुँदै बेल्चा र साबेल समाउनुभयो । आफ्नो आयस्रोतको बाटो केही नभएकोले घरमै बसेर सरकारी काम गर्न पाउँदा खुशी लागेको उहाँले सुनाउनुभयो ।

उमेरले बुढो भए पनि आफूमा काम गर्ने जाँगर र हौसला युवा अवस्थाको जस्तै भएको भन्दै उहाँले उत्साहित हुँदै भन्नुभयो, ‘म त दिनभरी काम गरे पनि थाक्दिनँ, बाजी थाप्ने हो ?’

कोदालो समाउने काम जति पनि गर्न सक्ने भन्दै उहाँले आफूजस्ता नपढेका र बेरोजगारहरुलाई सरकारले ल्याएको यस्तो काम निकै नै राम्रो भएको बताउनुभयो ।

शुक्रबार भक्तपुरमा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उहाँजस्तै धेरै स्थानीय उत्साहित देखिन्थे । ज्यानको बाजी लगाएर युवाहरुको विदेश जानुपर्ने बाध्यतालाई यस कार्यक्रमले घटाउने सूर्यविनायककै ३५ वर्षीय शिवप्रसाद घोरासैनीले बताउनुभयो । 

बेरोजगार भएर बस्नुभन्दा आफ्नै गाउँटोलमा काम गर्न पाउनु एकदमै राम्रो भएको उहाँको भनाइ छ । ‘नेपाल सरकारको यस्तो कार्यक्रमप्रति निकै आभारी छु’ उहाँले भन्नुभयो, ‘अब नेपालमा काम पाइएन भनेर युवाहरुले विदेशिनुपर्ने भएन ।’

एक महिनापछि के गर्ने भन्ने चिन्ता

भक्तपुरमा मात्रै ७५० जना बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम पाएका छन् । तर अहिलेको काम एक महिनाको लागि मात्रै हो । त्यसपछि काम पाइने हो कि होइन भन्ने चिन्ताले पनि उनीहरुलाई सताउन थालेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक महिने काम पाउनुभएकी ६५ वर्षीया गोमादेवी संग्रौलाले मनमा उत्साह भए पनि पछि के गर्ने भन्ने चिन्ताले पनि सताउनु थालेको बताउनुभयो । 

‘म आफैं मृगौलाको डाइलायसिस गराइरहेको छु । सरकारले उपचार गरिदिनुपर्यो । हामीजस्ता गरिबले हप्तैपिच्छे १०/१० हजार रुपैयाँ कहाँबाट ल्याउने ?’ एकातिर आफू बिरामी र अर्कोतर्फ घरमा छोराहरु बेरोजगार हुनुपर्दाको छटपटी उहाँले एकैसाथ पोख्नुभयो, ‘घरमा चार जाना छोराबुहारी बेरोजगार छन्, लोकसेवाको तयारी गरिरहेका छन् । बरु लोकसेवामा नाम निकाल्न प्रक्रिया सजिलो गरिदिए हुने नि ।’

सूर्यविनायक नगरपालिकाका ४५ वर्षीय नवराज थापालाई पनि भविष्यको चिन्ता छ ।  आफू पहिले खाली बसेको र अहिले दिनकै सातसय रुपैयाँ पाउने गरी काम पाउँदा आशावादी भएको उहाँले बताउनुभयो । ‘तर यो कार्यक्रम सधैं टिक्छ कि टिक्दैन भन्ने चाहिँ विश्वास छैन’ उहाँले भन्नुभयो ।

‘खाली बस्नुभन्दा त यसरी काम पाइए राम्रै गुजारा हुन्छ नि’ उहाँले भन्नुभयो, ‘तर एक महिनाको लागि मात्र भनेर ल्याएको यो कार्यक्रम सधैँभरी रहिरहोस्, केही दिनको लागि आएर पछि फेरि के गर्ने भन्ने नहोस् ।’

‘योग्यताअनुसारको काम भएन’

चाँगुनारायणकी २१ वर्षीया भूमिका थापाले स्नातक पास गर्नुभएको छ । पढाईअनुसारकै काम पाइन्छ भनेर उहाँले बेरोजगारको सूचीमा नाम दर्ता गराउनुभएको थियो । तर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उहाँले बेल्चा र साबेल समातेर बाटो खन्ने काम पाउनुभयो । 

‘मैले त पढाइअनुसारको काम दिन्छ होला भन्ठानेको, बाटो बनाउने पो रैछ’ उहाँले हाँस्दै भन्नुभयो, ‘पढाइ अनुसारको काम दिनु नि बरु ।’ काम सानो ठूलो नभए पनि सरकारले नै पढाइको कदर गरेन भने अरु कसले गर्छ भन्ने उहाँको प्रश्न थियो । ‘काम गर्न अप्ठ्यारो त भएन, तर कमसे कम पढाइको कदर त हुनुपर्यो नि’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारको सूचीमा दर्ता भएकालाई तत्काल स्थानीय तहमा हुने विकास निर्माणको काममा लगाइएको छ । 

सूचीकरण भएकामध्ये आर्थिक अवस्था कमजोर भएकालाई छनोट गरी बाटो बनाउने, ट्याङ्की, इनार सफा गर्ने, फोहोर व्यवस्थापन गर्ने लगायतका स्थानीय आवश्यकताका आयोजनामा काममा लगाइएको हो । 

तत्कालको लागि यसरी काम दिनु स्वागतयोग्य भए पनि योग्यताअनुसारको काम नभएको भक्तपुरका ३२ वर्षीय साजन लामाको गुनासो छ । १४ वर्ष शिक्षण पेशा गरेकाले साजनलाई आफूलाई त्यही क्षेत्रमा रोजगारी दिनुपर्ने उहाँ भनाई छ । 

‘मैले १४ स्कुल पढाएँ, अब मैले स्कुलमै जागिर पाए त हुन्थ्यो नि,’ उहाँले भन्नुभयो, ‘युवाहरुको योग्यता, सीप र अनुभव अनुसारको काम दिने हो भने यो कार्यक्रम प्रभावकारी हुने थियो,’ साजन सरकारलाई युवाको सीप र क्षमता अनुसारको रोजगारी दिन सुझाव दिनुहुन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया