१५ जना सम्पर्क अधिकृत सगरमाथा आधार शिविर नै पुगेनन्

 जेठ ३०, २०७६ बिहिबार १९:२३:५४ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

काठमाण्डाै – यस वर्ष पनि सगरमाथा आधार शिविरका लागि खटाइएकामध्ये १५ जना सम्पर्क अधिकृत कार्यक्षेत्रमा नपुगेको पाइएको छ ।

सम्पर्क अधिकृत आधार शिविर नपुग्दा आरोहीलाई समन्वय गर्न कठिनाई हुने गरेको गुनासो बढिरहेको बेला यो वर्ष पनि समस्या दोहोरिएको हो । 

यस वर्ष खटाइएका ३७ जना सम्पर्क अधिकृतमध्ये २२ जना मात्र सगरमाथाको आधार शिविरमा पुगेको पर्यटन विभागले जनाएको छ । कतिपय सम्पर्क अधिकृतहरु उचाइका कारण र कतिपय बाटोमा लडेर फर्किएको विभागका महानिर्देशक डुण्डुराज घिमिरेले जानकारी दिनुभयो । 

गएका वर्षहरुमा सम्पर्क अधिकृत आधार शिविर नपुग्ने गरेको गुनासो बढेपछि यस वर्षको सुरुमा नै पर्यटन विभागले तत्काल खटाएको कार्यक्षेत्रमा जान सम्पर्क अधिकृतहरुलाई निर्देशन दिएको थियो । निर्देशनका बाबजुद पनि १५ जना अधिकृत बाटोबाटै फर्किए अथवा काठमाण्डौबाटै हिँडेनन् । 

पर्यटन विभागले एउटा विदेशी आरोहण समूहका लागि एक जना सम्पर्क अधिकृत खटाउने गरेको छ । नेपाली आरोहण समूहका लागि भने विदेशीका लागि खटाइएका मध्येकै सम्पर्क अधिकृतलाई जिम्मेवारी तोकिने गरेको विभागले जनाएको छ । पर्यटन व्यवसायीहरुले भने कर्मचारीहरु भत्ताको लोभमा उचाइमा जान नसक्ने अवस्था भए पनि जिम्मेवारी लिने र कार्यक्षेत्रमा नजाने गरेको बताउँछन् । 

सम्पर्क अधिकृतहरुले आधार शिविरमै बसेर आरोहीहरुलाई सहजीकरण गर्नुपर्ने हुन्छ । तर तोकिएका सम्पर्क अधिकृतहरु आधार शिविरमा नपुग्ने र पुगे पनि एकाध रात बिताएर फर्कने गरेको कारण सगरमाथामा समस्या बढिरहेको व्यवसायीहरु बताउँछन् । 

यस वर्ष देखिएको ट्राफिक जामको समस्या पनि समन्वय अभावमा भएको व्यवसायीहरुको भनाइ छ । सम्पर्क अधिकृत काठमाण्डौमा बसेर आरोहीहरुको प्रतिवेदन बनाउँदा यस वर्ष चार जना विदेशी र पाँच जना नेपालीले सगरमाथा आरोहण नै नगरी आरोहण गरेको विवरण बुझाएका थिए । उजुरी परेपछि छानबिन गर्दा सगरमाथा नचढेको पाइएको विभागले जनाएको छ । 

उजुरी नपरेमा कतिपय आरोहीले सगरमाथा नचढिकनै प्रमाणपत्र लिएको पनि हुन सक्ने व्यवसायीहरु बताउँछन् । यसको उदाहरणका लागि गएको वर्ष विभागले आरोहण नगरिकनै प्रमाणपत्र लिएको भन्दै एक जना आरोहीको प्रमाणपत्र फिर्ता गरेको थियो । 

आरोही घाइते भएमा उद्धार, ज्यान गएमा मुचुल्का उठाउने, प्रतिबन्धित वस्तु लैजानबाट रोक्ने, अवैध रेकर्ड बनाउने होड रोक्नेलगायतका कामको निगरानी पनि सम्पर्क अधिकृतले गर्नुपर्छ । तर सम्पर्क अधिकृत नै आधार शिविर नपुग्दा विश्वमै चर्चाको विषय बनिरहेको सगरमाथा आरोहणमा समस्याहरु थपिँदै गएका छन् । 

पर्यटन विभागले विभागका कर्मचारीको साथै आरोहणसम्बन्धी काममा संलग्न अन्य व्यक्तिलाई पनि सम्पर्क अधिकृत तोक्ने गरेको छ । राम्रो भत्ता पाइने आशाले धेरै कर्मचारीहरुको सम्पर्क अधिकृत बन्ने आकांक्षा हुन्छ । आरोहण व्यवसायीहरु भने उचाइमा आउने विभिन्न समस्यालाई ध्यान दिएर कम्तीमा तोकिएको समयसम्म आधार शिविर बस्न सक्ने किसिमको मानिसलाई पठाउनुपर्ने बताउँछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया