सचिवले ‘सांसदहरुले गलत बुझेको’ टिप्पणी गरेपछि राज्यव्यवस्था समिति बैठकमा केहीबेर तनाव

 असार ८, २०७६ आइतबार १३:७:३६ | उज्यालो सहकर्मी

काठमाण्डाै - संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले ‘सांसदहरुले गलत बुझेको’ टिप्पणी गरेपछि राज्यव्यवस्था समितिको बैठकमा केहीबेर स्थिति तनावपूर्ण बनेकाे छ । 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री लालबाबु पण्डितले भनेका कुरालाई समितिका सदस्यहरुले गलत बुझेको भन्दै स्पष्ट पार्ने कोशिस गरेपछि समिति सदस्य पूर्व गृहमन्त्री जनार्द्धन शर्माले प्रतिकार गर्दा स्थिति तनावपूर्ण बनेको हो ।

समिति सदस्यहरुले गलत बुझे भन्ने अधिकार सचिवलाई नभएको भन्दै समिति सदस्य शर्माले प्रतिकार गरेपछि सभापति शशी श्रेष्ठले रुलिङ गर्दै ५ नम्बर बुँदाको विश्लेषण रोकी ६ नम्बर बुँदामा प्रवेश गर्न सचिवलाई ध्यानाकर्षण गराउनुभयो ।

समिति सदस्य शर्माले भन्नुभयो, गलत तरिकाले व्याख्या गरेको भनेर भन्नुहुन्छ उहाँले । त्यो भन्ने राइट छैन । हामीले लोकसेवाबाट गरौँ भन्दाभन्दै रक्त सम्बन्ध भन्ने पनि उहाँ, हामी चुप लाएर बस्या छ । आज फेरि गलत ढंगले व्याख्या गरेका छैनौँ । रोक्ने होइन । यो कुरा उहाँले भन्न पाइदैन ।

संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा नम्बर ५को  श्रेणी र तहगत व्यवस्थामाथि मन्त्रीले भनेको भनाइलाई समिति सदस्यहरुले गलत बुझेको भन्दै त्यसबारे थप प्रष्ट पार्ने प्रयास गरेपछि सचिव र समिति सदस्यबीच भनाभन भएको हो ।

समितिको बैठकमा ५ नम्बर बुँदामा विवाद भएपछि त्यसलाई छोडेर ६ नम्बर बुँदाको छलफल अगाडि बढाइसकेको बेला सचिवले ५ नम्बर बुँदामा प्रवेश गर्दै समिति सदस्यहरुले मन्त्रीको कुरालाई गलत बुझेको अभिव्यक्ति दिनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया