विदेशमा अड्किन्छ लास : स्वदेशमा धड्किन्छ सास

 असार १०, २०७६ मंगलबार ८:२२:२९ | उज्यालो सहकर्मी

अरुको जग्गामा घर बनाएर बसेका पाँचथरकी कल्पना शिवाका श्रीमान मानबहादुर आफ्नै जग्गामा घर बनाउने सपना बोकेर २०७५ साल मंसिरमा परदेश लागेका थिए । तर विदेश पुगेको ३ महिना नपुग्दै आत्महत्या गरेको खबर आयो । कल्पनाले चार दिनपछि मात्र श्रीमान बितेको खबर पाउनुभयो । श्रीमानको लास भने त्यसको पाँच महिनापछि गएको शुक्रबार मात्रै काठमाण्डाै आइपुग्यो । पाँच महिनासम्म छोराछोरी सम्हाल्दै लास कुर्न कल्पनालाई पलपल जिउँदै मर्न पर्‍यो ।

विदेशमा कमाउन गएको आफ्नो मान्छे बित्यो रे भन्ने सुन्नुपर्दा एउटा पीडा, अनि लास आउने बाटो हेरेर महिनौं तड्पिनुपर्दाको अर्को पीडा । पाँचथरकी कल्पना शिवा र उहाँका परिवारले जस्तै पीडा भोग्ने परिवार अरु पनि धेरै छन् । यस्तै मध्येमा पर्नुहुन्छ, नुवाकोटका शुकबहादुर तामाङ । उहाँले पनि साउदीमा बितेका छोराको लास लिन ४२ दिन कुर्न पर्‍यो ।

नुवाकोटका शुकबहादुर तामाङले त ४२ दिन मात्र कुर्नु पर्‍यो । साउदीबाट धेरैको शव आउन त तीन महिनादेखि ५ वर्षसम्म लाग्छ । साउदीबाट ल्याउनका लागि पाँच वर्षसम्म लागेको ‘रेकर्ड’ छ । रामेछापका बमबहादुर तामाङको काजकिरिया गरेको पाँच वर्षपछि मात्र शव आयो ।

साउदीमा अवैधानिक बसेका कारण बमबहादुर जेल परेको र जेलमै निमोनिया भएपछि उपचारको क्रममा पाँच वर्ष पहिले ज्यान गएको थियो  । उपचारमा लागेको झण्डै ८ लाख रुपैयाँ अस्पतालको खर्च तिर्न नसक्दा शव आउन ढिलाइ भएको हो । सन् २०१३ मा मृत्यु भयो । परिवारले काजकिरिया पनि त्यही बेला गरे तर शव भने २०१७ मा मात्रै आयो । 

प्रक्रिया नै लामो

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार गएको १० वर्षमा ६ हजार ७ सय ९० जनाको रोजगारीकै क्रममा विदेशमा ज्यान गएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३ देखि ४ वटा शव बाकसमा आउने गर्छ । विदेशमा काम गर्न गएका नेपालीको मृत्यु हुने तथ्यांक जति डरलाग्दो छ, शव आउन ढिलाई हुँदा परिवारले खेप्नुपर्ने पीडा र वेदना झन् कहालीलाग्दो छ ।

सबै प्रक्रिया पूरा गरेर शव ल्याउन कम्तिमा एक हप्तादेखि बढीमा पाँच वर्षसम्म लागेको प्रवासी नेपाली समन्वय समितिले गरेको एक अध्ययनले देखाएको छ । ज्यान गएको कारण र देशअनुसार शव आइपुग्ने अवधि फरकफरक छ । नेपाली कामदारको शव नेपाल आउन कतारबाट एक हप्तादेखि तीन हप्तासम्म, मलेसियामा एक हप्तादेखि साढे २ महिनासम्म, अनि साउदीबाट तीन महिनादेखि ५ वर्षसम्मको समय लाग्छ । 

आत्महत्या गर्ने र हत्या भएका व्यक्तिको शव नेपाल आउन धेरै समय लाग्छ । अनि कागजपत्रविहीन भएर काम गरिरहेका व्यक्तिको शव झिकाउन पनि समय लाग्छ । यी व्यक्तिहरुको कागजपत्र मिलाउन र गन्तव्य देशमा शव स्वदेश पठाउनका लागि गर्नुपर्ने प्रक्रियामै बढी समय लाग्छ ।

कामदारको मृत्यु भएपछि कम्पनीले दूतावासमा सम्पर्क गर्छ । दूतावासले परिवार वा म्यानपावरलाई खबर गर्छ वा साथीभाइले पनि खबर गर्न सक्छन् । परिवार सम्पर्कमा आएपछि उनीहरुले खोजी गर्ने भए । उता प्रक्रिया भइरहेको हुन्छ, यो मानिसले शव बुझ्छ भन्ने आधिकारिकता हुन पर्छ । कम्पनीले अस्पतालबाट मृत्युको रिपोर्टसहित कामदारले तलब तथा अन्य सेवा सुविधासहित पाउनुपर्ने सेवासुविधा लेबर कोर्टमा डिपोजिट गर्नु पर्छ । त्यसपछि रोजगारदाता कम्पनीले यी सबै कागजपत्र दूतावासमा पेश गर्छ । दूतावासले सबै कुरा बुझेर, शव पठाउन ठिक छ भनेर एनओसी जारी गर्नु पर्छ । त्यसपछि कम्पनीले शव नेपाल पठाउँछ।

गन्तव्य देशमा प्रक्रिया भैरहँदा स्वदेशमा पनि परिवारले शव ल्याउनका लागि बोर्डमा वा कन्सुलर सेवा विभागमा निवेदन दिनुपर्छ । शव आउने बेलामा दूतावासले कुन एअरलाइन्समार्फत र कहिले आउँछ भनेर जानकारी परिवारलाई दिनुपर्छ । परिवारले आफू शव बुझ्नेबारे निश्चित गर्नुपर्छ । सरकारले उपलब्ध गराउने निःशुल्क सवारीका लागि शव आउने दिन निश्चित भएपछि परिवारले वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुपर्छ ।

शव छिटो ल्याउन के गर्दैछ सरकार ?

नेपाली नागरिक देशमा होओस् या परदेशमा । सास होओस् या लास । उसको संरक्षणको जिम्मेवारी सरकारको हो । एक त विदेशमा कामदारको ज्यान जाने घटना नै रोक्नुपर्ने काममा सरकार लाग्नुपर्छ भने अर्कोतिर ज्यान गएको अवस्थामा छिटोभन्दा छिटो शव नेपाल फर्काउने पहल गर्नुपर्छ ।

विदेशबाट शव छिटो ल्याउने प्रक्रिया के हुन सक्छ ? यसबारे सरकारले के पहल गरिरहेको छ त ? यस विषयमा हामीले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)का अध्यक्ष कुलप्रसाद कार्कीसँग कुराकानी गरेका छौँ । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया