विश्वकप क्रिकेट : अस्ट्रेलियासँग न्यूजिल्याण्ड ८६ रनले पराजित

 असार १५, २०७६ आइतबार ६:५३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दोस्रो हार व्यहोरेको छ । लगातार पाँच खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको न्यूजिल्याण्ड पछिल्ला दुई खेलमा पराजित भएपछि तेस्रो स्थानमा झरेको छ । पाकिस्तानसँग पराजित भएको न्यूजिल्याण्ड शनिबार राति शीर्ष स्थानको अस्ट्रेलियासँग पनि ८६ रनले स्तब्ध भयो ।

न्यूजिल्याण्डका केन विलियमसनले सर्वाधिक ४० रन जोड्नु बाहेक रस टोलरले ३० रनको योगदान गरे । यस्तै मार्टिन गुप्टिलले २० रन जोड्दा टम लाथम १४ र मिचेल सेन्टनर १२ रनमा पेभेलियन फर्किए । न्यूजिल्याण्डका अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि ४३.४ ओभरमा सवै विकेट गुमाउँदै १४३ रनमा समेटिएको थियो ।

न्यूजिल्याण्डका मिचेल स्टार्कले सर्वाधिक पाँच विकेट लिएका थिए । ९.४ ओभर बलिङ गरेका स्टार्कले २६ रन दिएर ५ विकेट लिँदा एक ओभर मेडन राखेका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २४३ रन बनाएको थियो । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ह्याट्रिक सहित चार विकेट लिएका थिए ।

लर्डसमा पहिला ब्याटिङ गरको अस्ट्रेलियाका लागि उस्मान ख्वाजा र विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले शतकीय साझेदारी गरेका थिए । १५ रन हुँदा पहिलो विकेट गुमाएको अस्ट्रेलियाले ४६ रन बनाउँदा स्टीव स्मिथलाई ५ तथा डेभिड वार्नरलाई १६ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उस्मान ख्वाजाल र मार्कस स्टोइनिसले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर जेम्स निशमले लगातार दुई ओभरमा स्टोइनिसलाई २१ तथा म्याक्सवेललाई १ रनमा पेभेलियन पठाएपछि अस्ट्रेलिया दबावमा आएको थियो ।

त्यसपछि ख्वाजा र केरीले १०६ रनको साझेदारी गरेपछि अस्ट्रेलिया २ सय रन नजिक पुगेको थियो । दुवै जनाले अर्धशतक पूरा गरेका थिए । ४३ औं ओभरको अन्तिम बलमा केरी ७१ रन बनाएर आउट भए भने ट्रेन्ट बोल्टको अन्तिम ओभरको दोस्रो बलमा ख्वाजा पनि ८८ रनमा आउट भएका थिए । बोल्टले त्यसपछि लगातार २ विकेट लिँदै ह्याट्रिक पूरा गरे ।

बोल्टले मिचेल स्टार्क र जेसन बेहरनडर्फको विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन् । बोल्ट जारी विश्वकपमा ह्याट्रिक लिने दोस्रो बलर बनेका छन् भने न्यूजिल्याण्डबाट पहिलो खेलाडी बने । न्यूजिल्याण्डका बोल्टले चार विकेट लिँदा लकी फर्गुसन र जेम्स नीशमले दुई–दुई विकेट हात पारे । कप्तान केन विलियम्सनको नाममा एक विकेट रह्यो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया