आइफा अवार्ड आयाेजना हुन्छ तर सरकारले पैसा दिँदैन : सञ्चारमन्त्री बाँस्काेटा

 असार १७, २०७६ मंगलबार १४:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - रासस

काठमाण्डाै - सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ ।

मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गर्नुभयो । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले त्यस अवार्डबारे प्रश्न उठाएपछि उहाँले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको प्रष्टयाउनु भएको हो ।

मन्त्री बास्कोटाले आइफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पार्नुभयो । उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले आइफा अवार्ड आयोजना गर्न स्वीकृति दिएको पनि बताउनुभयो ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले त्यस अवार्डका लागि अरबाैँको बजेट दिन लागेको भन्दै आपत्ति जनाउनुभयो ।

समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको त्यस अवार्डको आयोजनामा  नेपाल सरकारले नै लगानी गर्न किन पर्‍यो ? भनि प्रश्न पनि गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया