९ महिनादेखि इलाका प्रशासन कार्यालय बन्द, समस्यामा सेवाग्राही

 असार २०, २०७६ शुक्रबार १३:४४:२६ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – उमाकुण्ड गाउँपालिका –५ प्रितिको लाप्चानेमा भएको इलाका प्रशासन कार्यालय गएको ९  महिनादेखि बन्द हुँदा उत्तरी भेगका सेवाग्राही मारमा परेका छन् ।

उत्तरी क्षेत्रको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका अन्तर्गत गुम्देल, वाम्ती, चुचुरे, प्रिति, भुजी, गुप्तेश्वर, कुभुकास्थली र ठोसे, लगायत ८ वटा वडाका नागरिकहरुलाई सहज र सरल तरीकाले सेवा प्रदान गर्ने उद्धेश्यले संचालन भएको इलाका प्रशासन कार्यालय ६ महिना सञ्चालन पछि बन्द भएको थियो । यो कार्यालयमा कार्यरत कार्यालय प्रमुखको अन्यत्र सरुवा भएको र पछि गृह मन्त्रालयले कर्मचारी पठाउन नसकेको भन्दै बन्द भएका थियो ।

कार्यालयमा १ जना अधिकृत, २ जना नायव सुब्बा १ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी भए पनि अधिकृतको दरबन्दी कायम गरिएको थियो । कार्यालय सञ्चालन भएको केही महिनामै कार्यालय प्रमुखको सरुवा  भएर गएपछि पुनः अर्को कार्यालय प्रमुख जिल्लामा नआउँदा कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण कामहरु ठप्प भएको हो ।

जिल्ला सदरमुकाम मन्थलीबाट दुई दिन टाढा पर्ने यो इलाका प्रशासन कार्यालय सञ्चालन हुँदा स्थानीय नागरिकले सहज तरीकाले नेपाली नागरिकता, राहदानी, नाता प्रमाणित जस्ता सेवाहरु गाउँबाटै पाएका थिए । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले भन्नुभयो ‘केही समय सञ्चालनमा आएको इलाका प्रशासन कार्यालय तत्काल संचालन हुनुपर्छ भनेर सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयदेखि तालुके अड्डासम्म धाउँदासमेत अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन ।’

बन्द भएको इलाका प्रशासन कार्यालय पुनः संचालन गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले पटक–पटक गृह मन्त्रालयमा परिपत्र गर्दासमेत अधिकृत स्तरको कर्मचारी नपठाएपछि बन्द भएको कार्यालय पुनः सञ्चालन गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी लिलादेवी पाण्डेले जानकारी दिनुभयो ।

कर्मचारी अभावका कारण बन्द भएको यो कार्यालयल चाँडै सञ्चालनमा ल्याउनको लागि आफूले सम्बन्धित निकायमा पत्राचार गरिसकेकाले जतिसक्दो छिटो कार्यालय संचालन गरी नागरिकलाई सेवा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया