देशभर मनसुन सक्रिय, धेरैजसो भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

 असार २३, २०७६ सोमबार ८:५०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभर मनसुन सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले मनसुन सक्रिय भएको हो । 

मनसुनको समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायुमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भनेर बुझ्ने गरिन्छ ।

देशभर मनसुन सक्रिय हुँदा सोमबार देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरी नै मनसुनी बादल देखिएकाले पानी पर्ने सम्भावना भएको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो । 

रिमालका अनुसार सोमबार देशको केही ठाउँमा ठूलो र धेरै ठाउँमा मध्यमखालको पानी पर्ने सम्भावना छ । भारतमा बनेको न्यूनचापीय रेखा उत्तरतर्फ सरेकाले अबको केही दिन देशभरको मौसम बदली भएर पानी पर्ने उहाँले बताउनुभयो ।

नेपालमा सामान्य समयभन्दा १० दिन ढिलोगरी ५ असारमा कमजोर अवस्थामा पूर्वी भागबाट मनसुन प्रवेश भएको थियो । तर प्रवेश भएको केही दिनमै मनसुन रोकिएपछि वर्षा हुन सकेको थिएन । गएको शनिबारदेखि मनसुन सक्रिय हुँदा देशका धेरैजसाे भूभागमा वर्षा भइरहेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया