‘भारतबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण स्थगित गर्नु उपभोक्ता हितविपरीत’

 असार २३, २०७६ सोमबार १७:३७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय मानवअधिकार आयोगले भारतबाट आउने तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्नु संविधान र उपभोक्ताको हित विपरीत भएको जनाएको छ ।

सरकारले विषादी परीक्षण थालेर पनि स्थगित गरेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मानवअधिकार आयोगले विज्ञप्ति निकालेर नागरिकको उपभोक्ता हित अधिकार सुनिश्चित नगर्नु संविधान विपरीत भएको जनाएको हो । आयोगले नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुने र गुणस्तरहीन वस्तु तथा सेवाबाट हानी नोक्सानी भएमा क्षतिपूर्ति पाउने हकको सुनिश्चिता गरेको उल्लेख गरेको छ ।

यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ आम उपभोक्ताको सूचित र सुरक्षित हुन पाउने अधिकारलाई सुनिश्चित गरेकाले सरकारको निर्णय संविधान र उपभोक्ता हक अधिकारविपरीत रहेको आयोगको ठहर छ । भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको भन्दै मानवअधिकार आयोगले यसबाट नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्ने जनाएको छ ।

साथै आयोगले विषादीजन्य तरकारी तथा फलफूललाई निरुत्साहित गर्न र स्वदेशी उत्पादन बढाउन तथा स्वस्थ भएर बाँच्न पाउने उपभोक्ताको  हक अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया