श्रीमतीको सुहाग, छोराको हाँसो र परिवारको खुशी एकैपटक लुटियो

 असार ३०, २०७६ सोमबार १५:५९:५७ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीले सबै नेपाली कामदारका परिवारमा खुशी मात्र ल्याउँदैन । कसैको परिवारमा आँसुको भल पनि बगाइदिन्छ । परिवारको गरिबी पार लगाएको मात्र छैन, कसैको जिन्दगी पनि लुटेर लगेको छ । यसरी लुटिनेमा प्रभाषका बुवा पनि हुन् । 

हाँस्न नसिक्दै बुवा विदेश गएपछि एक्लिएका प्रभाष जब बुवा भन्न सिक्ने भए, तब उनका बुवा उनीबाट सधैंका लागि टाढा भए । 

दुई महिनाको प्रभाषलाई छोडेर धन कमाउन मलेसिया पुगेका बाराका उमाशंकर प्रसाद यादव १० महिना नबित्दै बाकसमा बन्द भएर नेपाल फर्किए । त्यतिबेला प्रभाषले भर्खरै ‘बा’ भन्न सिकेका थिए । 

बुवा बाकसमा फर्किएपछि आमा र काकासँगै राहत बुझ्न वैदेशिक रोजगार विभागको कार्यालय पुगेका प्रभाष घरी  वल्लो कोठातिर दगुर्थे, घरी पल्लो कोठा । आफ्नी आमालाई शान्तसँग बस्न दिइरहेका थिएनन् । विभागमा आएका अरु मानिस भएतिर दगुर्थे । बेस्सरी खुट्टामा समात्थे । आमाको काखबाटै टाउको मोडेर निर्दोष आँखा ठूला पार्दै जोकोहीलाई भन्थे, ‘बाबा’ । हेर्नेहरु सबै ट्वाल्ल पर्थे । 

प्रभाषकी आमा ममताले नेपाली भाषा बुझ्नुहुन्छ, तर बोल्न आउँदैन । ‘यैसे नहिँ चलते बेटा’, आफ्नो छोरालाई जुरुक्क भुइँबाट उठाएर काखीमा च्याप्दै ममताले हिन्दी भाषामा भन्नुभयो, ‘यह थोडी ना तेरा घर हे !’ तर एक वर्षको बालकलाई यो आफ्नो घर होइन भन्ने कुरा के थाहा ? उसलाई त आफ्नो घरमा जसरी रमाउनु थियो । आफ्नो बुवाको हातको औँला समातेजसरी औँला समात्नु थियो । 

तर उनले आफ्नो बुवाका हातका औंला समात्नै नपाई बुवा उनीबाट टाढिए । मलेसियाको भूमीले प्रभाषको खुशी लुटेर लग्यो ।

उमाशंकरको मलेसिया यात्रा 

उमाशंकर आफूभन्दा कान्छा भाइहरु जटाशंकर र शिवशंकर यादवसँगै काठमाण्डौमा बस्नुहुन्थ्यो । तीनै भाइ घर बनाउने काम गर्नुहुन्थ्यो । काम चलिरहेको थियो । उमाशंकरले आफ्नै कमाइले बिहे पनि गर्नुभयो । माइलो भाइ जटाशंकरको पनि बिहे भयो ।

परिवार ठिकठाक चल्दै थियो । तर उहाँलाई नेपालमै बसेर हाउजिङको काम गरिरहन मन लागेन । नेपालको कमाइ चित्त बुझेन या भनौँ बढी पैसा कमाउने रहर जाग्यो । अनि सन् २०१८ को अगस्टमा वैदेशिक रोजगारीको लागि मलेसिया पुग्नुभयोे ।

ट्रान्स वल्र्ड म्यानपावरबाट मलेसियाको आटा इन्डष्ट्रीमा कम्पनी कामदारको रुपमा उमाशंकर मलेसिया जानुभएको थियो । कम्पनीले भ्याकुम क्लिनर उत्पादन गथ्र्यो । उहाँका कान्छा भाइ पनि त्यसै कम्पनीमा जानुभएको थियो । दुवै जनाको कमाइ ठिकै थियो । एकजनाको मासिक एकहजार रिंगिट पथ्र्यो । ओभरटाइम गरेर कमाइ अझै बढी हुन्थ्यो । 

उमाशंकर मलेसिया उडेको ४ महिनामै घरमा विपत्ति आइपर्यो । बृद्ध बुवाले प्राण त्याग्नुभयो । घरबाट बुवाको निधन भएको खबर सुनेपछि उमाशंकर र उहाँका भाइले नेपाल फर्किने प्रयास गर्नुभयो । तर तत्कालै घर पुग्न नसकिने परिस्थितिका कारण उहाँ बुवाको निधनमा पनि घर आउन पाउनुभएन । दुई छोरा मलेसिया गएपछि घरमा माइलो छोरा जटाशंकर हुनुहुन्थ्यो । उहाँले नै बुवाको काजकिरिया गर्नुभयो । 

‘त्यस्तो पीडामा पनि दाइ र भाइ दुवैजना कम्पनीको काममा हुनुहुन्थ्यो’, काठमाण्डौमा भेटिनुभएका उमाशंकरका माइला भाइले अँध्यारो मुख लाउँदै भन्नुभयो, ‘मन त घरमै थियो होला नि तर परदेशको नोकरीले उहाँलाई बुवाको अन्तिम संस्कारमा पनि घर आउन दिएन ।’

भन्छन् नि एकपटक पहिरो गएको ठाउँमा फेरि पहिरो जान्छ । बुवाको निधनबाट विक्षिप्त भएको परिवार तंग्रिन नपाउँदै त्यो परिवारमा अर्को ठूलो विपत्ति आइलाग्यो । बुवाको निधन भएको ४ महिना नबित्तै अघिल्लो महिना उमाशंकरले पनि प्राण त्याग्नुभयो ।

उहाँले किन त्यसो गर्नुभयो, परिवारलाई थाहा छैन । काम गर्न अर्काको देश गएका श्रीमान झुण्डिएर मरेको खबर सुनेपछि ममता यादव बेहोस हुनुभयो । 

त्यो पीडाले बादल मडारिएको ममताको अनुहारमा अझै पनि उज्यालो परेको छैन । दुब्लो पातलो शरीर, भित्र पसेका आँखा र ओठमा बनावटी हाँसो लिएर उहाँ राहत लिन आफ्ना माइला देवरलाई लिएर वैदेशिक रोजगार विभाग, काठमाण्डौ पुग्नुभएको थियो ।

अपत्यारिलो घटना

आफ्ना भाइ शिवशंकरभन्दा उमाशंकर कम्पनीमा एक तह माथि हुनुहुन्थ्यो । दुवै भाइ कम्पनीले दिएको एउटै कोठामा बस्नुहुन्थ्यो । उनीहरुसहित त्यो कोठामा ६ जना अरु नेपालीहरु पनि थिए । 

उमाशंकरको सोमबार छुट्टी हुन्थ्यो भने भाइको आइतबार । घर आउन नपाए पनि शिवशंकरले महिनैपिच्छे घरमा पैसा पठाइ रहनुहुन्थ्यो । तर उमाशंकरले भने मलेसिया गएदेखि घरमा पैसा पठाउनुभएको थिएन । १० महिना भइसकेको थियो घरमा पैसा नपठाएको । उमाशंकरका कान्छा भाइ शिवशंकर यादव सोमबार ड्यूटी गर्न कम्पनी जानुभएको थियो । छुट्टीको दिन घरमा पैसा पठाउने तयारीमा हुनुहुन्थ्यो, उमाशंकर । 

‘एकैपटक पठाउँछु भनेर १० महिनादेखि पैसा पनि पठाएको थिएन, सबै पैसा आफैसँग थियो’ शिवशंकरले भन्नुभयो, ‘बिदाको दिन थियो, घरमा पैसा पठाउँछु भनेर कोठामै बसेको थियो, तर साँझ त मरेको पाइयो ।’

साँझ कामबाट फर्किंदा शिवशंकरले दाइ खाटमा झुण्डिएको अवस्थामा फेला पार्नुभयो । देखेर शिवशंकरको होशहवास नै उड्यो । 

हत्या भएको परिवारको दाबी

घाँटीमा सर्टले बाँधेर खाटको डण्डीमा झुण्डिएको अवस्थामा शव भेटियो । त्यो पनि सात किलोको खाटमा ७० किलोको मान्छे । खुट्टा भुईंमा लत्रिएको थियो । यसरी नि कोही घाँटीमा पासो लगाएर मर्न सक्छ ? उमाशंकरको अवस्था यस्तै थियो, जब भाइ शिवशंकर काम गरेर साँझ कोठा फर्किनुभयो । 

३० वर्षीय हट्टाकट्टा उमाशंकर त्यसरी झुण्डिएर मरे होलान भनेर परिवारका कसैले पनि पत्याएनन् । उहाँका माइला भाइ अझै पनि त्यो नियोजित हत्या भएको हुनसक्ने बताउनुहुन्छ ।

‘पैसा लुट्नको लागि कसैले हत्या गरेको हो, नत्र त्यसरी पनि कोही मर्छ’, जटाशंकर भन्नुहुन्छ, ‘यदि दाइ आफैं मरेको भए उसँग पैसा त हुन्थ्यो नि, पैसा नै छैन भनेपछि अरुले पैसा लुटेर मारेको भन्ने भएन र ?’

तर हत्या गरेको नै भए पनि शंका कसलाई गर्ने ? कोठामा कोही पनि थिएनन् । कोठामा सँगै बस्ने अरु ६ जनामध्ये कोही काममा थिए । कोही छुट्टीमा बाहिर घुम्न गएका थिए । दाइजस्तै सोझा शिवशंकरले कसलाई शंका गर्ने, कसलाई आरोप लगाउने भन्ने आँट गर्नै सक्नुभएन । तर उहाँको मनले अहिले पनि विश्वास गर्दैन कि त्यो आत्महत्या नै थियो ।

‘मलाई त अहिले पनि विश्वास लाग्दैन’, आफ्नो दाइले आत्महत्या गरेको होइन भन्ने प्रष्ट पार्न खोज्दै उहाँले भन्नुभयो, ‘बिहान दिदीसँग फोन गरेको थियो उसले, त्यतिबेला एकदमै खुसी थियो, आत्महत्या गर्नुपर्ने जस्तो कारण केही पनि थिएन ।’

दाइले हत्या गरेको भनेर विश्वास नलागे पनि आफूसँग प्रमाण नहुँदा मलेसियामा एक्ला शिवशंकर निरीह बन्नुभयो । शिवशंकरले आफ्नो दाइको घटनाबारे थप अनुसन्धानको माग गरे पनि कसैले उहाँको कुरा सुनेनन् । अस्पतालले घाँटी कस्सिएर ज्यान गएकोे भन्ने रिपोर्ट बनाइदियो । अस्पतालले नै झुण्डिएर मरेको भन्ने रिपोर्ट बनाइदिएपछि दूतावासले पनि केही गर्न सकेन ।

त्यसको एक हप्तापछि प्रक्रिया पुर्याएर शव नेपाल आइपुग्यो । तर उमाशंकरको हत्या कसले गर्यो, १० महिनासम्म कमाएको पैसा कसको खल्तीमा गयो, त्यो कुरा भने मलेसियामै रह्यो ।

‘दाइ सोझो हुनुहुन्थ्यो त्यसको फाइदा अरुले लुटे’

माइला भाइ जटाशंकरका अनुसार उमाशंकर धेरै सोझो हुनुहुन्थ्यो । ‘दाइ साह्रै साझो थियो, जसले जे भन्यो त्यै मान्थ्यो, त्यसैको फाइदा अरुले लुटे’, उहाँले भन्नुभयो, ‘अर्काको देशमा त कसैको भर हुँदैन नि, तर उ त सबैको अगाडि पैसा देखाउँथ्यो, मसँग यति पैसा छ उति पैसा छ भन्दै हिँड्थ्यो ।’

कहिलेकाहीँ बियर पनि पिउने बानी थियो उमाशंकरको । त्यसैको फाइदा लुट्यो हत्याराले भन्नुहुन्छ जटाशंकर । ‘बियरमा बिष मिसाएर पिलाएको रहेछ’, उहाँले भन्नुभयो, ‘मरेपछि उसैको सर्टले घाँटीमा बाँधेर खाटमा झुण्ड्याइदियो ।’

जे हुनु भैसक्यो । शंका गरेर अब हुने पनि केही होइन । श्रीमतीको सुहाग, छोराको हाँसो र परिवारको खुशी एकैपटक लिएर मलेसियामै सास फालेका उमाशंकर अब कहिल्यै फर्कनुहुन्न ।

अन्तिम अपडेट: साउन २८, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया