मनसुनी गतिविधि कमजोर, स्थानीय वायुको प्रभावले केही ठाउँमा वर्षाको सम्भावना

 साउन ३, २०७६ शुक्रबार ८:१०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान दाङ, नवलपरासी, चितवनलगायतका ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।

यो प्रणाली अझै सक्रिय हुँदै गएकाले आसपासका जिल्लामा पनि पानी पर्ने महाशाखाको अनुमान छ । मनसुनी गतिविधि कमजोर बन्दै गइरहेकाले लगातार वर्षाको सम्भावना भने नरहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो ‘मनसुनी गतिविधि कमजोर छ ।  स्थानीय वायुको प्रभावले केही ठाउँमा पानी परिरहेको छ । स्थानीय वायुका कारण बनेको प्रणालीले कुनै ठाउँमा ठूलो पानी परे पनि अर्को ठाउँमा पर्दैन ।’ मौसमविद् पौडेलका अनुसार शुक्रबार मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मध्य र पूर्वी भूभागका केही ठाउँमा पानी पर्ने भएकाले पहाडी भूभाग तथा चुरे आसपासमा बाढी तथा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

गएको साता बिहीबारदेखि सक्रिय मनसुनी गतिविधि गएको मंगलबारदेखि केही कमजोर बन्दै गएको थियो । आउँदो आइतबारदेखि फेरि मनसुनी गतिविधि सक्रिय बन्ने देखिएकाले देशभर मौसममा बदली भई वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया