फेसबुकमा हरियो सारी र फुलेको दारी !

 साउन ४, २०७६ शनिबार ८:१५:४८ | मिलन तिमिल्सिना
unn.prixa.net

पुलिस चौकीमा केस नपर्दासम्म र घरको चौकोसमा ठेस नलाग्दासम्म कुर्सीमा अढेस लागिलागि फेसबुक चलाउने बानी लागिहाल्यो ।

नानीदेखि नै मोबाइलमा चल्ने र कुरा छल्ने लत बसेपछि के गरौँ र कसो गराैँ मात्रै भैरहने ! आफ्नो फेस र भेष आफैलाई मन नपरेपछि फेसबुकमा अरुको फेस र भेष हेरेर फोटो बिगार्ने चलन पनि नौलो हुन छाड्यो ।

साउन लागेदेखि यता महिलाका हात र पहिरन हरिया हुन थाले, उता फेसबुकमा चाहिँ धेरैको फेस, फेसन र केशले मोबाइलका स्क्रीनमा मानिस चिन्नै नसकिने गरी विरुप भएर देखा परे ।

उहिले वर्षभरि लुतो फाल्ने दिन पर्खेर बस्ने आमाले त्यो चलन बिर्सेर साउने सक्रान्तिका दिन बिहानै हरियो सारी लगाइन् । हातमा हरियै चुरा र निधारमा हरियै टीका थपेर सेल्फी खिचिन् र फेसबुकमा राखिन् ।

दिउँसो छोरीले दुवै हत्केलाभरि मेहन्दी दलिन् र उसैगरी फेसबुकमा टाँसिन् । आमाले श्रीमानको लामो आयूको कामना गरिन् । छोरीले मनमनले प्रेमीसित बाइकमा लङ् ड्राइभ जाने दिन सम्झेर मनमा काउकुती लगाइन् ।

फेसबुकमा आमाछोरी नै को भन्दा को तरुनी देखिने भनेर प्रतिस्पर्धा चलिरहेको देखेर अधवैंशे बाउको मन बैराग्यले भरिन थालेर चाँडै बुढो हुने रहर जाग्यो । बाबुको बैराग्य देखेर तन्नेरी छोरोलाई पनि कपाल र दारी फुलाउन मन लाग्यो । त्यसपछि बाबु र छोराबीच फेसबुकमा फेस बिगारेर को भन्दा को बुढो बन्ने होडबाजी सुरु भयो ।

कपाल फुल्न थालिसकेका बाउको अनुहार त दुई चार दिनमै हुने यस्तै हो, नौलो भएन । फेसबुकले नदेखाए पनि केही दिनमा अरुले उनको चाउरे अनुहार देखिहाल्छन् । मान्छे बुढो उमेरमा बुढै भएछ भनेर बुझिहाल्छन्, चिनिहाल्छन् । तर २५-३० वर्षको लक्का जवान छोरोलाई पनि फेस बिगारेर बनाएको ८०-९० वर्षको चाउरिएको र खुइलिएको अनुहार अहिल्यै देखाउने अचम्मको सोख जाग्यो ।

तन्नेरीलाई साउन लागेपछि यस्तो सोख नजागोस् पनि किन ? सरकारले दिने भनेको बेरोजगार भत्ता आउने भर छैन, रोजगार बन्ने आफ्नो क्षमता छैन । बुढो हुनासाथ वृध्द भत्ता पाइन्छ । त्यसमाथि साउनदेखि त सरकारले महिनाको १ हजार वृद्धभत्ता पनि बढाएको छ । चाँडै बुढो हुनुमा बेफाइदा छैन, फाइदै फाइदा छ ।

तन्नेरी उमेरमा कोर्सबुकमा भन्दा बढ्ता ध्यान फेसबुकमा छ । कोर्सबुक छाडेर फेसबुकमा रमाउन थालेपछि जाँचमा राम्रो नम्बर आउँदैन । जाँचमा राम्रो नम्बर नआएपछि भनेजस्तो जागिर पाइँदैन ।

बाबुबाजेले जोडेको जग्गाजमिन सिध्दिन लागिसक्यो । अलिअलि भएको पनि बाँझै छ । बाँझो जग्गा खनेर खेती गर्न अल्छी लाग्छ । अनि जागिर पनि नपाइने, खेती गर्न पनि अल्छी लाग्ने भएपछि केही न केही उपाय त गर्नै पर्यो । सबैभन्दा सजिलो उपाय भनेको सरकारको भत्ता लिने हो । अनि बेरोजगार भत्ताको भर नभएपछि त वृद्धभत्ता नै पर्खनुपर्यो । तर वृद्ध हुने कहिले कहिले ?भत्ता पाउने कहिले कहिले ?

वृद्ध हुने उमेरसम्म पर्खनुको सट्टा अहिले नै फेसबुकमा बुढो भएको देखाएपछि त सरकारले केही न केही गर्छ कि ! किनकि दुई तिहाइको बलियो सरकार पनि फेसबुक नहेरी गम्भीर निर्णय गर्दैन । फेसबुकमा विरोध नहुँदासम्म चुप लाग्छ । फेसबुकमा विरोध आएपछि आफ्नो काम र निर्णय सच्याउँछ ।

फेसबुकबाटै नागरिकको धारणा बुझ्छ । फेसबुकमै नागरिकको फेस हेर्छ । फेसबुकभरि सबै बुढो देखेपछि पक्कै सबैलाई वृद्धभत्ता बाँड्छ । अहिलेदेखि नै वृद्धभत्ता पाउन थालेपछि दुःख गर्न पर्दैन । दिनरात फेसबुक नै चलाएर बस्न पाइन्छ । भत्ता नपाउँदासम्म आफूलाई बुढो देखाइन्छ, भत्ता बुझिन्छ । भत्ताले पुगेपछि फेरि जवान देखाइन्छ, लाइन मारिन्छ ।

दिमागमा यही भरिएपछि अधवैंशेदेखि जवान ठिटाहरुसम्मले आफ्नो कपाल फुलाए । घरका मान्छेले समेत चिन्न नसक्ने गरी फेसबुकमा फोटो बिगारे । तर सरकारले हेर्नुभन्दा पहिले अरुले नै फेसबुकभित्र फुलेको कपाल र चाउरेको छाला केलाएर नालीबेली थाहा पाउने डर बढ्यो । फेस एपमा ठेस लाग्ने डर बढेपछि बल्ल छँदाखाँदाको उमेर छोपेका तन्नेरी बुढाहरु पुरानै जवानीमा फर्केका छन् ।

केही दिन फेसबुकमा फुलेर चिन्न नसकेका बाउलाई बल्ल आमाले चिन्न थालेकी छन् । फुलेको र चाउरिएको फोटो देखेर ठिटोलाई ब्रेकअप गर्नै लागेकी प्रेमिका होसमा आएकी छिन् । बाउ र छोरोलाई बुढो हुने रहर जागे पनि आमा र छोरीलाई चाहिँ बुढी देखिने मन लागेन । कारण प्रष्ट छ । भर्खर सुरु भएको साउनको महिना । भर्खर लगाएको मेहन्दी, चुरा र सारी । हरियो सारीमा बुढी भएको सुहाउँदैन । चाउरी परेको छालामा मेहन्दीको रङ्ग खुल्दैन । त्यसैले त आमा र छोरी हिजो पनि तरुनी, आज पनि तरुनी । बावु र छोरा केही दिन बुढा, अहिले फेरि तन्नेरी ।

बाका दारी फेसबुक एपमा भन्दा पहिल्यै फुलेका हुन् । तर दारी फुले बा पनि अझै आफूलाई जवान ठान्छन् । डण्डीफोरले हेरिनसक्नुको विरुप छोरो पनि आफूलाई ह्याण्डसम ठान्छ । आमा र बाको त झन् के कुरा गर्नु । आमा हरियो सारीमा मख्ख, बा फुलेको दारीमा ढकमक्क ! 

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया