तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जना...
पुस ७, २०८१ आइतबार
६ हजार मिटरभन्दा धेरै उचाई । हावाको बेगले हेलिकोप्टरलाई नै चक्कर लगाइदिन्छ । लाक्पाले त्यही हावामा कावा खाँदै बिरामीको उद्धार गर्न थालेको १७ वर्ष भयो ।
खुम्बुपासाङल्हमु गाउँपालिका १ सोलुखुम्बुका ३८ वर्षीय लाक्पा नोर्बु शेर्पा, उचाईमा गएर उद्धार गर्ने नेपालकै दुई उद्धारकर्तामध्येका एक हुनुहुन्छ । अर्का चाहिँ संखुवासभाका छिरिङ डेन्डुक भोटे । नेपालका तालिमप्राप्त चार जना ‘लङलाइन रेस्क्यु गाइड’ मध्ये दुई जना भने विदेशमा छन् ।
पर्यटकको भारी बोक्दै उद्धारकर्ता
सामान्य परिवारका शेर्पा २० वर्ष नपुग्दै पर्यटकको भारी बोकेर उकालो लाग्नुभयो । थाप्लोमा नाम्लो राखेर उकालो लागेका शेर्पा, उद्धार कार्यमा सहभागी भएपछि आरोहण क्षेत्रमा उहाँको आवश्यकता पनि उकालो लाग्यो । अहिले उहाँ नामी उद्धारकर्ता हुनुभएको छ । हिमालतिर कसैलाई समस्या आईपर्यो भने खोजी हुने उहाँ पहिलो नम्बरमा पर्नुहुन्छ ।
शेर्पा १७ वर्षदेखि हिमालयन उद्धार संघमा आबद्ध भएर काम गर्दै आउनुभएको छ । सन् २०११ मा स्वीटजरल्याण्डमा तीन हप्ते फ्रिल्यान्ड हेलिकोप्टर रेस्क्यु स्पेसलिस्टको तालिम लिएपछि उहाँले ‘लङलाइन रेस्क्यु गाइड’ को रूपमा बिरामी तथा मृतकहरुको उद्धार गर्दै आउनुभएको छ । त्यसअघि पनि तालिमप्राप्त हाई अल्टिच्युड गाइड रहेका शेर्पा उचाईतिरको उद्धारमै सहभागी हुनुहुन्थ्यो ।
सगरमाथा आरोहणको मौसम अर्थात अप्रिल र मे महिनामा हिमालयन उद्धार संघले सगरमाथा आधार शिविरमा तीन जना चिकित्सक सहितको स्वास्थ्य शिविर संचालन गर्छ । शिविर म्यानेजरको रुपमा काम गर्दै आएका शेर्पा सगरमाथाको आधार शिविरभन्दा माथि कोही बिरामी परेको तथा घाइते भएको जानकारी पाएपछि हेलिकोप्टर लिएर उद्धारको लागि खटिनुहुन्छ ।
पाइला पाइलामा जोखिम
कठ्याङिग्रने चिसो, श्वास लिनै नपुग्ने अक्सिजनको मात्रा, हेलिकोप्टर नै घुमाईदिने खालको हावाको झोक्का, हेलिकोप्टर अवतरण गर्ने ठाउँ नहुनु जस्ता समस्यामा बाबजुद पनि बिरामीलाई शिविरसम्म ल्याउनुपर्छ ।
हेलिकोप्टरमा डोरीमार्फत झुण्डिएर बिरामी वा घाईतेको उद्धार गर्नुहुन्छ । भन्नुहुन्छ ‘बिरामीलाई डोरीमा झुण्ड्याएर आफू पनि त्यहीँ झुण्डिनु पर्छ । त्यो बेला हावाले यति धेरै घुमाईदिन्छ कि केही सोच्नै सकिंदैन, तै पनि बिरामीलाई सम्हालेर ल्याउनुपर्छ ।’
सात हजार मिटर माथिसम्म हेलिकोप्टरमा गएर उद्धार गर्ने अनुमति छ । हिउँले ढाकिएको त्यहाँ कोही निकै असजिलो ठाउँमा बिरामी वा घाईते भएका हुन्छन् । हेलिकोप्टर अवतरण गर्न नसकिने भएकोले डोरीबाट झुण्डिएर बिरामीलाई स्ट्रेचरमा राखी डोरीमै बाँधेर ल्याउनुपर्छ, यसको जोखिमको बयान गर्न शब्दै नहुने शेर्पा बताउनुहुन्छ । शेर्पा भन्नुुहन्छ ‘हेलिकोप्टरको पाईलट, र उद्धारकर्ता दुबै यति धेरै संवेदनशील हुनुपर्छ कि त्यहाँ गरिएको रौं बराबरको गल्ती पनि सिधै यमराजकहाँ पुग्ने टिकट सावित हुन्छ ।’
उहाँ थप्नुहुन्छ, ‘हिमालमा हावाको गति, लेक लाग्ने समस्या, अक्सिजनको कमी, चिसोपना, आदि धेरै कारणले स्वास्थ्यमा पनि समस्या आउँछ, त्यस्तो अवस्थामा बिरामीलाई समयमा उद्धार गर्न सकिएन भने ज्यान जाने निश्चित हुन्छ, अनि उद्धार गर्न जाँदा पनि सम्भावित दुर्घटना हामी वरिपरि नै घुमिरहेको हुन्छ । यही जोखिमका बीच मन र मस्तिष्कलाई स्थिर राखेर काम गर्नुपर्छ ।’
उहाँले अहिलेसम्म ३० जनाभन्दा धेरैको हेलिकोप्टरमै झुण्डिएर जटिल अवस्थामा उद्धार गर्नुभएको छ भने ६ हजार मिटरभन्दा माथिबाट एक सय भन्दा बढीको जीवित उद्धार गरेर बिरामी र उनीहरुको आफन्तको मुहारमा खुशी फर्काइदिनुभएको छ । उहाँले सगरमाथाबाट मात्रै सात वटा शव निकाल्नुभएको छ ।
२०७१ सालमा सगरमाथामा गएको हिमपहिरो तथा २०७२ सालको भूकम्पबाट सगरमाथा क्षेत्रमा ज्यान गुमाउने तथा घाईतेहरुको उद्धारमा पनि शेर्पाकै अगुवाई थियो । हिमालमा विपद्को बेला उद्धार गर्दै गर्दाको क्षण सम्झँदै उहाँ भन्नुहुन्छ ‘त्यहाँ यति जोखिम थियो कि एक सेकेण्ड पनि त्यहाँ बिताउन कसैको मनले मान्दैनथ्यो, तै पनि हाम्रो आवश्यकता यस्तै बेला पर्ने हो भनेर ज्यानको बाजी थापेर उद्धार कार्यमा खटियौं, यता आफन्त निकै चिन्तामा थिए, तै पनि बेवास्ता गरेर त्यहाँ उद्धारमै खटिएका थियौं ।’
नेपाली सेना तथा सशस्त्र प्रहरी बल लगायतसँग पनि हेलिकोप्टरमा झुण्डिएर उद्धार गर्न सक्ने तालिमप्राप्त जनशक्ति छ । तर उनीहरु हिमालमा गएर काम गर्न कठिन हुन्छ । हिमालमा काम गर्नको लागि त्यहाँको वातावारणसँग अनुकूल भैसकेको शरीर चाहिन्छ ।
शेर्पा भन्नुहुन्छ ‘काठमाण्डौ वा तल्लो क्षेत्रको कतैबाट पनि सिधै हेलिकोप्टरमा गएर त्यहाँ उद्धार कार्य गर्न कठिन हुन्छ, शरीरले कामै गर्दैन, केही समय त्यहीं बसेर शरीर अनुकूल भएपछि मात्र उद्धारमा जाने हो, हामी पनि हिमाल आरोहणको सिजनमा सगरमाथा आधार शिविर वा अन्य हिमाल फेदमै बसेर वातावरण अनुकूल भैरहन्छौं’, तर हिमालसँगको लामो संगतले अहिले आवश्यक परेमा आफू भने काठमाण्डौ वा अरु ठाउँबाट सिधै गएर पनि उद्धार कार्य गर्न सक्ने शेर्पाको भनाई छ ।
उद्धार कार्यमा खटिनको लागि हेलिकोप्टर चलाउने पाईलट पनि दक्ष र वातावरण अनुकूलन भैसकेको हुनुपर्छ । हिमालको उद्धारमा तालिमप्राप्त पाईलट पनि निकै कम रहेको शेर्पा बताउनुहुन्छ । उद्धारको बेलामा हावाको झोक्काले हेलिकोप्टर चलाउन निकै असहज हुने उहाँको भनाई छ ।
हिमालमा उद्धार कार्य निकै जोखिमपूर्ण छ । आरोहण कार्य पनि उत्तिकै जोखिमपूर्ण रहेकोले उद्धारकर्मी तयारी अवस्थामा रहनु आवश्यक छ । उद्धारको लागि टोली तयारी अवस्थामा नभईकन विदेशीहरु आरोहणमा जाँदैनन् । तर नेपाल सरकारले भने उद्धारकर्मी उत्पादन तथा उद्धारकर्मीहरुका लागि सेवा सुविधाकाे केही वास्ता नगरेको शेर्पा बताउनुहुन्छ । शेर्पा भन्नुहुन्छ, ‘साँच्चै भन्ने हो भने हिमालमा उद्धारको लागि कस्तो जनशक्ति चाहिन्छ भन्ने कुरा सरकारलाई थाहा नै छैन कि जस्तो पो लाग्छ, नत्र त कुन न कुनै सरकारी संयन्त्रले खोजी त गर्नुपर्ने हो नि ।
तीतो अनुभव सुनाउँदै शेर्पा भन्नुुहुन्छ ‘सरकारी कार्यालयमा जाँदा जोखिमपूर्ण काम धानिरहेको भनेर हौसला दिनु त परै जाओस, यो डलर कमाउने शेर्पा यसबाट कसरी फाईदा लुट्न सकिन्छ भनेजस्तो व्यवहार गर्छन्, यो उद्धार मात्र नभई आरोहण सहयोगी भएर हिमालतिर जाने शेर्पाहरुको पनि भोगाई हो ।’
उहाँको पेशालाई परिवारले भने मन पराएका छैनन् । काठमाण्डौमा पढ्दै गरेको दुई छोरा र श्रीमतीले पनि जोखिमपूर्ण भएकोले यो काम छाडेर अरु नै काम गर्न दबाब दिईरहेको भन्दै उहाँ भन्नुहुन्छ ‘जोखिम भए पनि मैले रोजेको पेशा हो भन्दै जाने गरेको छु, छाडौं भन्दा काम जिम्मा लगाउने मान्छे पनि भेटिंदैन ।’
अहिले आफ्ना र हिमालमा काम गर्ने अरु सबैजसोका छोराछोरीहरु काठमाण्डौ लगायत शहरमा पढ्दै गरेकोले बिस्तारै हिमालमा काम गर्ने जनशक्ति अभाव हुने शेर्पाको अनुमान छ । उदाहरण दिँदै उहाँ भन्नुहुन्छ, ‘पहिले हिमालतिर चौंरी र भेडा चराउनेहरु धेरै थिए, त्यसैले प्रशस्त गोठ थिए, अहिले जनशक्ति नपाएर गोठहरु हराउँदै गएका छन्, हिमाल आरोहणको स्थिति पनि त्यही अवस्थातिर जाँदैछ ।’
नेपालको उद्धार कार्यमा खटेर मात्र आवश्यक्ता पूरा गर्न नसकिने भन्दै शेर्पा नेपालको आरोहण मौसममा यहाँ काम गर्ने र अन्य समयमा अष्ट्रिया, अमेरिका लगायतका देशमा गएर हिमाली क्षेत्रमा उद्धारकै काम गर्दै आएको शेर्पा बताउनुहुन्छ ।
शरीरमा रगत जम्ने किसिमको चिसो, मान्छे नै उडाईदिने बेगको हावा, सेकेण्डमै बदलिने मौसम, श्वास फेर्न नपुग्ने अक्सिजन, हिउँबाट निकालेर ल्याउनुपर्ने घाईते तथा मृतकका शव, यी सबै कारण हिमालमा उद्धारकार्य जटिलताको उच्चतम बिन्दुमा हुन्छ । यहाँ हुने सामान्य गल्तीले पनि ज्यान जान्छ ।
यही जटिलताको बेगसँग १७ बर्षदेखी जुधिरहेका लाक्पा नोर्बु शेर्पा नेपालमा हिमाल आरोहणको माध्ययमबाट पर्यटक ल्याउन सकिने प्रशस्त संभावना भए पनि त्यहाँ चाहिने विभिन्न जनशक्तिको बारेमा सरकार बेखबर र बेप्रवाह रहेको भन्दै सरकारले नै यस्ता जनशक्ति व्यवस्थापन र उनीहरुको समस्याको बारेमा ख्याल गर्नुपर्ने बताउनुहुन्छ ।
सबै फोटो: लाक्पा नोर्बु शेर्पा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।