विश्वकप एसिया छनोट : कुवेतलाई नेपालले ७ विकेटले हरायाे, ग्लाेबल छनाेटमा पुग्ने सम्भावना बलियाे

 साउन ११, २०७६ शनिबार १०:१०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

कप्तान पारस खड्काको विस्फाेटक अर्धशतक तथा बसन्त रेग्मी र सन्दीप लामिछानेको सशक्त स्पिन बलिङले कुवेतलाई ७ विकेटले पराजित गरी नेपाल आईसीसी टी-२० विश्वकक एसिया छनोटको उपाधिनजिक पुगेको छ ।

आइतबार सिंगापुरलाई पराजित गर्न सके नेपालले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म यूएईमा हुने टी-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६८ रनको शानदार पारी खेले । कप्तान पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए ।

३.५ ओभरमा कुवेतका कप्तान मोेहम्मद कासिफको बलमा आउट भएका ज्ञानेन्द्रले १३ बलमा १९ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे । तेस्रो नम्बरमा आएर शरद भेषावकरसँग मिलेर कप्तान पारसले दोस्रो विकेटका लागि ७८ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालको सहज जित निश्चित भएको हो ।

१३.१ ओभरमा पारस ६८ रनको स्कोरमा आउट हुनुअघि उनले शरदसँग गरेको साझेदारी टी-२० अन्तर्राष्ट्रिमा नेपाली ब्याट्सम्यानले गरेको सर्वाधिक साझेदारी हो । यसअघि मलेसियाबिरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले ६६ रनको साझेदारी गरी कीर्तिमान राखेका थिए ।

पारस आउट हुँदा नेपाललाई जितका लागि २० रन आवश्यक थियो । तर दीपेन्द्र सिंह ऐेरी अनावश्यक शट खेल्न लाग्दा मोहम्मद कासिफकै बलमा आउट भए ।

त्यसपछि आएका यू-१९ कप्तान रोहित कुमार पौडेलले अविजित ६ रन बनाए । १५.५ ओभरमा मोहम्मद कासिफकै बलमा शरद भेषावकरले छक्का प्रहार गर्दै नेपाललाई ७ विकेटको जित दिलाए ।

उत्कृष्ट फिनिसरको रुपमा शरदले ३० बलमा ४ चौका र १ छक्काका साथ अविजित ३८ रन जोडे । कुवेतका लागि तीनै विकेट कासिफले लिए ।

यसअघि सिंगापुरको इन्डियन एसोसियशन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रनको सम्मानित योगफल खडा गरेको थियो । 

करण केसीले आफ्नो स्पेलको पहिलो बलमै ओपनर मीट भाब्सरलाई आउट गरेपछि कुवेतको विकेट पतन सुरु भएको थियो । छैटौं ओभरको पहिलो र अन्तिम बलमा बसन्त रेग्मीले क्रशसः रभिजा सान्दरुवान र अदनान इद्रीसलाई आउट गरेपछि पावर प्लेको समाप्तिमा कुवेतको स्कोर ४६–३ थियो । रभिजाले १५ र अदनानले १४ बलमा २५ रनको पारी खेले ।

नवौं ओभरमा युवा स्टार सन्दीप लामिछानेले २ विकेट लिए । उनले ८।३ ओभरमा बिलाल ताहिरलाई १३ रनको स्कोरमा कप्तान पारस खड्काको हातबाट क्याच आउट गराए । ८.६ ओभरमा उस्मान वाहीदलाई एलबीडब्ल्यूको धरापमा पारे । उनले खाता खोल्न सकेनन् ।

१३।५ ओभरमा अविनाश बोहोराले मोहम्मद अस्लामलाई २३ रनको स्कोरमा आउट गर्दा कुवेत ९४–६ को अवस्थामा पुग्यो । त्यसको अर्को ओभरमा सन्दीपले शिराज खानलाई बोल्ट आउट गरे । अन्तिमक्रमका ब्याट्सम्यानहरु मोहम्म असनलाई बसन्तले आउट गरे । जन्दु अहमदलाई करणले सोमपाल कामीको हातबाट क्याच आउट गराए । 

कुवेतका कप्तान मोहम्मद कासिफले सातौं नम्बरमा ब्याटिङमा आएर ३६ बलमा ४९ रनको विस्फोटक अविजित पारी खेले । उनले १९ औं ओभरमा करण केसीलाई २ छक्का प्रहार गरे भने अविनाश बोहोराको अन्तिम ओभरमा १  चौका र २ छक्का प्रहार गरे । अन्तिम २ ओभरमा कुवेतले ३० रन जोडेको थियो ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिँदा अविनाश बोहोराले १ विकेट लिए ।

जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ । भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले आइतबारको खेलमा सिंगापुरलाई हराएमा विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्नेछ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया