पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथ

 साउन १५, २०७६ बुधबार १७:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीको सपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त पर्यटन मन्त्री भट्टराईलाई सपथ गराउनुभएको हो ।

गएको फागुनमा तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आउनुभएको थियो । 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले बुधबारदेखि नै कार्यभार सम्हाल्नु भएको छ ।

नेपाल भ्रमण वर्ष–२०२० नजिकिँदै गर्दा रिक्त रहेको सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त गर्न पार्टी भित्रैबाट दबाब थियो । प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्री बनाउने विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग छलफल नै गर्नुभएको थियो ।

नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।  

यसअघि चुनावका बेला ताप्लेजुङमा भएको चुनावी सभामा ओलीले 'योगेशलाई जिताएर पठाउनुस् मन्त्री बनाउने काम मेरो भयो' भन्ने अभिव्यक्ति नै दिनुभएको थियो । 

भट्टराईले नेपाली कांग्रेसका उम्मेद्वार केशवप्रसाद दाहाललाई २ हजार भन्दा बढी मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो । भट्टराईको १९४८९ मत आउँदा दाहालले १६८८८ मत ल्याउनुभएको थियो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया