धनकुटामा राहदानी वितरणबाट १ करोडभन्दा बढी राजस्व संकलन

 साउन १८, २०७६ शनिबार १८:२९:२० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा– जिल्ला प्रशासन कार्यालय धनकुटाले गएको आर्थिक वर्षमा राहदानी वितरण बापत एक करोड १३ लाख ९० हजार राजश्व संकलन गरेको छ ।

गएको आर्थिक वर्षमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दुई हजार ९६ जनाले राहदानी लिनको लागि निवेदन पेस गरेका थिए । त्यसमध्ये गएको आर्थिक वर्षमा दुई हजार ८४ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी सुधिर साफीले बताउनु भयो । 

त्यसैगरी राहदानी लिनको लागि निवेदन पेस गर्नेमा ६ सय ७ जना महिला र एक हजार ४ सय ८९ जना पुरुष रहेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत राहदानी लिँदा ढिलो हुने भएपछि चाँडो राहदानीका लागि कार्यालयले ९ सय ८० जनाको निवेदन काठमाण्डौ सिफारिस गरेको थियो । कार्यालयले सिफारिस गरेकामध्ये चार सय ४० जना महिला र पाँच सय ४० जना पुरुष रहेको सूचना अधिकारी साफीले जानकारी दिनुभयो । 

कार्यालयबाट वितरण गरिएको राहदानी लिनेहरुमा पाँच सय ८७ जना महिला र एक हजार ४ सय ९७ जना पुरुष गरी दुई हजार ८४ जना मात्र रहेका छन् । बाँकी रहेका राहदानी कार्यालयमा आइसकेको भए पनि गएको आर्थिक वर्षभित्रमा लिन आएका छैनन् । 

बितेका वर्षहरुको तुलनामा गएको वर्ष महिलाहरुले राहदानी लिने क्रम बढेर गएको छ । वैदेशिक रोजगारीमा जानको लागि महिलाहरु बढी मात्रामा राहदानी बनाउन आउने गरेको सूचना अधिकारी साफीले बताउनु भयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया