पर्याप्त पानी नपर्दा रोपाइँ बढेन, धान उत्पादन घट्न सक्ने !

 साउन २१, २०७६ मंगलबार २०:३७:५३ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डौ – पर्याप्त पानी नपर्दा यस वर्ष धान रोपाइँ बढ्न सकेको छैन । साउनको तेस्रो हप्तासम्म पनि सबै ठाउँमा एकनासको पानी नपर्दा धान रोपाइँ सयमअनुसार बढ्न नसकेको हो ।

साउनको तेस्रो हप्ता १८ गतेसम्म देशभर ८६ प्रतिशत धान रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । विभागअन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मनसुनका कारण यस वर्ष पोहोरको तुलनामा कम रोपाइँ भएको हो ।

गएको वर्ष यो समयसम्म ८९ प्रतिशत धान रोपाइँ सकिएको थियो । गएको हप्ता ८० प्रतिशत रोपाइँ हुँदा यस हप्तामा जम्मा ६ प्रतिशत मात्रै बढेको केन्द्रका प्रमुख सवनम शिवाकोटीले जानकारी दिनुभयो ।

‘यो बेला धेरैजसो ठाउँमा धान रोपाइँ सकिन्थ्यो’ उहाँले भन्नुभयो, ‘तर समयमै पानी नपर्दा र तराईमा बाढीले गर्दा धान रोपाइँ पोहोरको जति हुन सकेन । केही ठाउँमा पानी नपर्दा किसानले वैकल्पिक बाली पनि लगाउन थालेका छन ।’

साउनको झण्डै तेस्रो हप्तासम्म प्रदेश १ मा सबैभन्दा कम ८० प्रतिशत र सबैभन्दा बढी सुदूर पश्चिम प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ भएको छ । यस्तै प्रदेश २ मा ८१ दशमलव ९९ प्रतिशत, प्रदेश ३ मा ८८ दशमलव ६७ प्रतिशत गण्डकी प्रदेशमा ८६ दशमलव ५९ प्रतिशत धान रोपाइँ भएको केन्द्रले जनाएको छ ।

यस्तै प्रदेश ५ मा ८८ दशमलव ८६ प्रतिशत, कर्णाली प्रदेशमा ९४ दशमलव १० प्रतिशत र सुदूर पश्चिम प्रदेशमा ९५ दशमलव ३३ प्रतिशत धान रोपाइँ भएको केन्द्रकी प्रमुख सवनम शिवाकोटीले जानकारी दिनुभयो ।

गएको असार मसान्तमा आएको पानीले तराईमा बाढी आउँदा रोपो डुबानमा परेको छ । डुबानकै कारण सबैभन्दा बढी धान रोपाइँ हुने प्रदेश १ र २ मा यस वर्ष सबैभन्दा कम रोपाइँ भएको छ । 

१० दिन ढिला गरी जुन २० मा मित्रिएको मनसुन कमजोर हुँदा पनि समयमै यस वर्ष धान रोपाइँ हुन सकेको थिएन । पछि पानी परे पनि तराईमा बाढी आउँदा बीउ नै डुबानमा परेपछि किसानलाई धान रोप्न कठिनाइ भएको केन्द्रका प्रमुख शिवाकोटीले बताउनुभयो ।

‘पानी ढिलो पर्दा धान रोपाई ढिलै शुरु भयो । पछि ठूलो पानी पर्दा बाढी आयो । बाढीले बीउ बगाएपछि सबैभन्दा ठूलो समस्या भएको हो’, उहाँले भन्नुभयो, ‘अहिले धान रोप्न बीउ छैन । त्यसमाथि पानी नपर्दा केही जिल्लाका किसानले मास लगाउन थाल्नु भएको हो ।’

धान उत्पादन घट्न सक्ने !

समयमै पानी नपर्दा र तराईमा बाढीले गर्दा यस वर्ष धान उत्पादन घट्न सक्ने कृषि विज्ञले बताएका छन । नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ धान बाली विज्ञ हरिकृष्ण उप्रेतीले ढिलो सुरु भएको मनसुन र बाढीका कारण यस वर्ष १० प्रतिशत धान उत्पादन घट्न सक्ने बताउनुभयो ।

‘यस वर्ष कम्तीमा १० प्रतिशत धान उत्पादन घट्ने प्रक्षेपण छ’, उहाँले भन्नुभयो, ‘धान रोपाइँ हुने क्षेत्रमा पर्याप्त पानी नपरेर रोपाइँ हुन नसक्दा धान उत्पादन घट्ने देखिएको हो ।’

गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । गएको वर्ष समयमै पानी पर्दा र साउन अन्तिमतिर तराईमा बाढी आए पनि त्यसले धानबालीलाई सहयोग गरेको थियो ।

तर यस वर्ष ढिलो पानी पर्दा प्रदेश २ मा ढिलो रोपिएको रोपो नै बाढीमा डुबेपछि धान उत्पादन घट्ने देखिएको वरिष्ठ धान बाली वैज्ञानिक उप्रेतीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया