नवलपरासीबाट लागुऔषधसहित दुई जना पक्राउ

 साउन २५, २०७६ शनिबार १९:३२:३३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी - नवलपुरका दुई ठाउँबाट प्रहरीले शनिबार दिउँसो दुई जनालाई लागुऔषध सहित पक्राउ गरको छ ।

प्रहरीले मध्यविन्दु  नगरपालिका-८, फूलबारीकाे पूर्व पश्चिम राजमार्गबाट पोखरा महानगरपालिका -१८, घर भएका २० वर्षीय कृष्ण गुरुङलाई लागुऔषध सहित पक्राउ गरेको हाे ।  उनको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।

भैरहवाबाट पोखराका लागि छुटेको ना ५ ख ८६ ९८ नम्बरको बसमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा गुरुङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । पक्राउ परेका गुरुङको साथबाट प्रहरीले डाइजोपाम २५८ एम्पुल, नुफिन २५८ एम्पुल र फेनेरागन २५८ एम्पुल गरी ७७४ एम्पुल लागुऔषध बरामद गरेको छ ।

यस्तै प्रहरीले शनिबार नै मध्यविन्दु नगरपालिका-१०, अरुणखोला बजारबाट पोखरा महानगरपालिका-११, रानीपौवा बस्ने ३२ वर्षीय कुमार राईलाई पनि लागुऔषधसहित पक्राउ गरेको हाे । ना ५२ प २७ ०७ नम्बरको स्कुटरमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा राईलाई पक्राउ गरिएको हाे । उनको साथबाट डाइजोपाम ३६ एम्पुल, नुफिन ३६  एम्पुल र प्रोमाथाईजन ३५  एम्पुल गरि एक सय सात एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

पक्राउ परेका दुवै जनालाई  जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया