युट्युबमा खुलासा गर्नेकै सनसनीपूर्ण खुलासा !

 भदौ ७, २०७६ शनिबार ८:४०:५० | मिलन तिमिल्सिना
unn.prixa.net

‘ओइ बाबु भात खान आइज, कति खेलाउँछस् त्यो मोबाइल र ल्यापटप’ कोठामा बसेर एकसुरले युट्युब हेरिरहेको केटोलाई आमाले बोलाइन् ।

‘पख्नुहोस् न यहाँ एउटा नयाँ भिडियोको क्लिप आयो । जोडजाड गर्दैछु’ केटोलाई भोकभन्दा युट्युबको लत मीठो भैसकेको छ ।

‘केही काम पाइनस है तैँले ? फेरि जे पायो त्यही भिडियो बनाएर मान्छेलाई उल्लु बनाउन खोज्दैछस् । खुरुक्क आइज’, आमाले हप्काइन् ।

‘कति कराएको भन्या, यहाँ युट्युबमा भ्यूज बढाउने कत्रो चक्कर छ आफ्नो । बुझ्नु सुझ्नु छैन’ हातमा मोबाइल खेलाउँदै केटो भात खान बस्यो ।

‘खुब भ्यूज र स्यूज, जे पायो त्यही राख्या छ, मान्छेलाई उल्लू बनाएको छ, आज फेरि के राख्न लागिस् नचाहिने कुरा’ आमाले भात पस्किँदै भनिन् ।

‘आ...चुप लाग्नुस् तपाईँ, अहिले हेर्नुहोला नि’ केटोले आमालाई जित्यो ।

भात खाँदै गर्दा केटोको मोबाइलमा घण्टी बज्यो । ‘ए हो र फेरि अर्को क्लिप भेटियो ? ल ल म एकछिनमा आइहाल्छु । अस्तिको भन्दा अलि बबाल तरिकाले राख्नुपर्छ है । थम्बनेलमै खतरा दिनुपर्छ क्या यसपालि । सनसनीपूर्ण देखाएर नयाँनयाँ खुलासा गर्नुपर्छ’ मोबाइलमा कुरा गर्दै केटो आधी भात थालमै छोडेर उठ्यो ।

‘हे भगवान ! कसले बनायो होला यो युट्युब र फेसबुक ? जे मन लाग्यो त्यही राख्या छ । राख्ने उस्तै, पत्याउने उस्तै । आफ्नै छोरो उस्तो छ, कसलाई के भन्ने ?’ आमा एक्लै फतफताइन् । केटो क्यामरा भिरेर बाहिर निस्क्यो ।

‘बाबु फेरि कता हिँड्न लागिस् हँ ? खालि त्यही क्यामरा र मोबाइल बोकेर कति कुदेको ?’  भर्याङमा भेटिएका बाबुले सोधे ।

‘आ कति ल्याङ गरेको हो ड्याड ? ममले पनि उस्तै ल्याङ गर्ने, ड्याडले पनि उस्तै ल्याङ गर्ने । काम गर्न दिनुस् न । यहाँ छोराको युट्युब हेरेर खुशी हुनु त कता हो कता, खालि रोक्न मात्रै खोज्ने’ केटो मुर्मरियो ।

‘तैँले युट्युबमा जे मन लाग्यो त्यही राखेर मान्छेलाई अझै भ्रममा पार्दैछस् हैन ? यस्तो काम तँलाई किन गर्नुपर्‍यो ?’ बाउले त्यसै छाडेनन् ।

‘आ ड्याड भ्यूज बढाउनु पर्यो नि । युट्युबमा नम्बर बढाउन परेन ? नाम पनि दाम पनि’ केटोले खुलासा गर्‍यो ।

‘तैँले राखेको भिडियो हामी त पत्याउँदैनौं, दुनियाँले कतिदिन पत्याउलान् र ?’ छोरोको कामबाट आजित भएका बाउले अर्को खुलासा गरे ।

‘हेडलाइन सनसनीपूर्ण राख्नुपर्छ ड्याड । ‘लौ हेर्नुस् यस्तो खुलासा, डरालाग्दो खुलासा, भर्खरै आयो डरलाग्दो खबर’ लेख्ने अनि भिडियो क्लिप यताउता जोडजाड पारेर बबाल हाल्नुपर्छ । सबैले हेर्छन् । हेर्नेले हेरिराछन् । नपत्याए बाल भएन । युट्युबमा नम्बर बढिहाल्छ, अरु जेसुकै होओस्’ नियम कानुन, नैतिकता केही थाहा नपाएको केटोले आफ्नै रहस्य खोल्यो ।

‘थुक्क तेरो बुद्धि । युट्युबमा नम्बर बढेर के हुन्छ ? पढाइमा कहिल्यै नम्बर बढाउन सकिनस् । युट्यबमा बढाउने नम्बर पढाइमा बढा न । अनि चर्चा कमाउनको लागि युट्युबमा भए, नभएका कुरा राख्नै पर्दैन । राम्रो पढ्ने, राम्रो अंक ल्याउने, राम्रो काम गर्ने गरेपछि यसै चर्चामा आइन्छ नि । पढाइमा जिरो, त्यसै हिरो’ बाउले फेरि अर्को खुलासा गरे ।

‘पढाइमा नम्बर बढाउन सकेको भए को युट्युबमा नम्बर बढाउने धुनमा लाग्थ्यो र’ छोराले फेरि आफ्नै सनसनीपूर्ण खुलासा गर्‍याे । त्यही बेला मामा आइपुगे । ‘ए भान्जा बाबु यो सनसनीपूर्ण खुलासा भन्दै युट्युबमा जे पायो त्यही राख्ने तिमी नै हौ ?’ मामाले मोबाइल हेर्दै सोधे ।

‘ए मामाले पनि हेर्नुभयो ? ल हेर्नुहोस् ड्याड, कहिल्यै फेसबुक र युट्युब नहेर्ने मामाले त मैले राखेको भिडियो हेरिसकेछन् । तपाईं मलाई रोक्न खोज्नुहुन्छ’ केटो मख्ख पर्‍याे ।

‘हेर भाञ्जा बाबु, एकपटक हेरेँ । अब तिम्रो युट्युब जिन्दगीभर हेर्दिनँ । जे पायो त्यही राखेको छ । कहाँको भिडियो ल्याएर कहाँ जोडेको छ । भए नभएको कुरा राखेर मान्छेलाई उल्लू बनाउन खोजेको छ । मान्छे एक पटक पो झुक्किन्छ । सधैं त झुक्किँदैन नि । अब यसै गर्यौ भने तिम्रो चाहिँ सनसनीपूर्ण खुलासा गरिदिन्छु म’ मामाले उल्टै थर्काए ।

‘हैन मामा पनि उस्तै पो ल्याङ गर्छन् त । जमाना नै यस्तै छ क्या मामा । जति धेरै खुलासा उति धेरै भ्यूज, जति धेरै भ्यूज उति धेरै चर्चा । अब जमाना हाम्रो हो । सबै हाम्रा पछि लाग्या छन्, हामै्र भिडियो हेरेर कुद्या छन्, देख्नु भएन ? मान्छेले जे हेर्न खोज्छन्, त्यही देखाइदिने हो ? जे मा मान्छे बिक्छन् त्यही बिकाउने हो’ केटोले अझै आफ्नो खुलासा गर्न छाडेन ।

‘हेर भाञ्जा, तिमीले भए, नभएको कुरा जोडेर, फूलभुट्टा भरेर, चर्चाको लागि जे पनि गरेर मान्छेलाई भ्रममा राखिरह्यौ भने अब म मामा चाहिँ हैन, अर्को मामा आउँछ तिमीलाई भेट्न ? अनि दशैँमा म मामाकोमा टीका लगाउन आउनुपर्ने भाञ्जाको बास प्रहरी मामाकोमा होला । ख्याल गर है भाञ्जा । युट्युब र फेसबुकमा जे पायो त्यही राख्नेको अब खैरत छैन’ मामाले फेरि अर्को सनसनीपूर्ण खुलासा गरे ।

त्यहीबेला साथीको फोन आयो ।

‘आउन खोजेको त हो नि यार । यहाँ ममी ड्याडीदेखि मामासम्मले ल्याङ गरे । युट्युबमा यस्तै हाल्ने हो भने अब हाम्रो पो खुलासा हुने भयो यार । चाडबाडको बेला मामाघर बस्नुपर्ने भयो भने त बर्बाद हुन्छ । के गर्ने होला ?’ केटोले टाउको कन्यायो ।

अन्तिम अपडेट: चैत ४, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • कमल कार्कि

    Aug. 24, 2019, 3:12 p.m.

    एकदमै चित्तबुझ्दो टिप्पणि आजभाेलिका युट्युवका पत्रकार भन्नेलाई सिकाउन जरूरिनै छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया