पुडासैनी आत्महत्या प्रकरण : कँडेलको बयान लिन सुरु, लामिछानेको बयान पनि आजै

 भदौ ९, २०७६ सोमबार ११:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा युवराज कँडेलको बयान लिन सुरु गरिएको छ ।

आइतबार अस्मिता कार्कीको बयान लिइएको र सोमबार कँडेल र टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान लिन लागिएको हो ।

बयानका लागि लामिछाने र कँडेललाई बिहान अदालतमा लगिएकोमा पहिला कँडेलको बयान लिने काम सुरु भएको अदातलका श्रेस्तेदार रुद्रमणी गिरीले जानकारी दिनुभयो । एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान लिन सुरु भएको उहाँले बताउनुभयो ।  

कँडेलको बयान सकिएपछि कार्यक्रम प्रस्तोता लामिछानेको बयान लिने काम सुरु हुने र त्यो सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुने छ ।

बयान लिएर बहस गर्ने काम साेमबार नै सकिए अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । बहसका लागि वकिलहरु धेरै भएकाले सोमबार नै सकिने वा नसकिने यकिन छैन । पक्ष विपक्षमा बहस सकिए उनीहरुलाई तारेखमा छोड्ने वा धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश अदालतले दिन सक्छ ।

पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलयमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको हो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया