जनप्रतिनिधिकै ट्रयाक्टर अवैध रुपमा बालुवा निकाल्ने काममा संलग्न

 भदौ ९, २०७६ सोमबार १९:२३:१९ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – कालीगण्डकी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकास गर्ने चार ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुलिङटार गाउँपालिकाको नदीबाट अवैध रुपमा बालुवा निकाल्दै गरेका ४ ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो  ।

बालुवा चोरी निकासी गर्दैगर्दा गाउँपालिका सदस्यदेखि नेपाली कांग्रेस बुलिङटार गाउँपालिका सभापतिको ट्रयाक्टरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बुलिटङटार गाउँपालिका–३ का सदस्य विष्णुवीर जर्गामगर र नेपाली कांगे्रसका बुलिङटार गाउँपालिका सभापति चन्द्रबहादुर मगरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले लु ३ त ६२३५, लु ३ त ९२०१, लु ३ त ६०२४ र लु ४ त २३१३ नम्बरका ट्याक्टरलाई अवैधरुपमा खोलाबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दैगर्दा नियन्त्रणमा लिइएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताउनुभयो ।

नियन्त्रणमा लिइएको लु ४ त २३१३ नम्बरको ट्याक्टर वडा सदस्य जर्घा मगर र लु ३ त ९२०१ र लु ३ त ६२३५ नम्बरको ट्रयाक्टर नेपाली कांग्रेसका गाउँपालिका सभापति मगरको रहेको प्रहरीले जनाएको छ ।

बुलिङटार प्रहरीले थप कारबाहीका लागि गाउँपालिकामा विवरण पठाइसकेको सहायक निरीक्षक सापकोटाले बताउनुभयो । गाउँपालिकाले नदीजन्य पदार्थ चोरी निकासीमा प्रयोग हुने ट्याक्टरलाई १५ हजार र संलग्न चालकलाई १० हजार गरी २५ हजार जरिबाना गर्ने नियम बनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया