नेपालगञ्ज उपमहानगरले दैलेखकाे नारायण नगरपालिकासँग समन्वय नगरी गाई पठाएकाे खुलासा

 भदौ १७, २०७६ मंगलबार २०:२:३ | अमर सुनार
unn.prixa.net

दैलेख – नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएकाे भनिएका गाई नारायण नगरपालिकाले आफ्नो जिल्ला क्षेत्रमा प्रवेश गराउन रोकेपछि चालकहरुले सुर्खेतको जंगलमा छोडेकाे खुलेको छ ।

गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र उपमहानगरपालिकाले गठन गरेका छानबिन समितिहरुले चासो लिएपछि नयाँ तथ्य सतहमा आएको हाे ।

बिहीबार नेपालगञ्जबाट ट्रकमा राखेर गाई हिँडाइएको थाहा पाएपछि आफूले दैलेखको सिमाना रानीमत्ताबाट यता आउन नदिन जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीलाई टेलिफोन गरेको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले उपमहानगरपालिकाको छानबिन समितिसँगको भेटमा बताउनुभयो ।

घटना विवरणअनुसार रानीमत्तामा प्रहरीले रोक्ने थाहा पाएपछि गाई पठाउने निकाय नेपालगञ्ज उपमहानगरपालिकाले सुर्खेतको छिञ्चु पुगेको ट्रककाे टोलीलाई छिञ्चुबाटै बाटोमा गाई छोड्दै जानू भन्ने खबर गरेको आधारमा चालकहरुले ठाउँठाउँ गाई झार्दै सुर्खेत उपत्यकादेखि झण्डै ८–१० किलोमिटरमाथि कट्कुवा जंगलमा खसालेकाे बताइएको छ ।

नेपालगञ्जबाट दैलेखका लागि ल्याइएका भनिएका गाई सुर्खेतको कट्कु्वा जंगलमा ट्रकबाट भिरमा खसालेर मारिएको भन्ने विषयमा ५ वटा ट्रकका चालक र सहचालक समेत ८ जनालाई प्रहरीले पक्राउ गरी गौहत्याको मुद्दा चलाएको छ ।

गौहत्या सन्दर्भमा नेपालगञ्ज उपमहानगरपालिकाले छानबिन गर्न नेपालगञ्ज उच्च अदालतका बार अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षता वरिष्ठ पशु चिकित्सक डा. जनक भण्डारी, मानव अधिकारकर्मी अधिवक्ता बसन्त गौतमसमेतको ७ सदस्यीय छानबिन समितिले सोमबार दैलेखमा नारायण नगरपालिका, जिसस, स्थानीय प्रशासनलाई भेटघाट गरेको छ ।

नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा मारिनुमा अन्तिम समयमा दैलेखले आफ्नो जिल्ला सिमानामा ल्याउन प्रहरी लगाएर रोक्नु पनि खोजीको विषय बनेको नेपालगञ्ज उपमहानगरपालिकाले छानबिन टोलीको चासोले झल्काएको छ ।

वनको बँदेल र दुम्सीले मकै बाली खाएको विषयमा नगरपालिकामा क्षतिपूर्ति माग्ने अवस्थामा नेपालगञ्जका छाडा गाई किन ल्याउन दिने भन्ने ध्येयले गाई ल्याउन नदिन प्रहरीलाई गुहारेको नारायण नगरपालिका नगरप्रमुख खड्काले टिप्पणी गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्याकुरेलले एक महिना पहिले छाडा छाडिएका भए पनि होल्याण्ड र जर्सी गाई भएकोले कृषकलाई ‘निःशुल्क दिने व्यवस्था मिलाउनू’ भनी मौखिक रुपमा कुरा गर्नुभएको तर कुनै परीक्षण नगरी बिनासहमति एकै पटक गाई हिँडाएको भन्ने जानकारी गराइएपछि रोकिएको नगरप्रमुख खड्काले स्पष्ट पार्नुभयो ।

‘पठाउने विधि प्रक्रिया पूरा नभएको अवस्थाले आकस्मिक दुर्घटना भयो तर उद्देश्य गलत देखिन्न’, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले प्रतिक्रिया दिनुभयो । ‘यहाँका स्थानीय तहसँग चिठी माग्नुपर्थ्याे, नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिकाको निर्णय गराएको हुनुपर्थ्याे’, प्रमुख थापाले भन्नुभयो । 

‘आफू दैलेखकै बासिन्दा भएको नाताले केही पाल्नलायक गाई कृषकहरुलाई निःशुल्क दिने र बाँकी श्रीस्थान अनि कोटिला धार्मिक स्थलमा खुला छाडिदिने उद्देश्यले पठाएको तर अकल्पनीय घटना भयो’, उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर प्याकुरेलले टेलिफोनमा प्रतिक्रिया दिनुभयो ।

प्याकुरेलले सुर्खेतमा घर बनाए पनि मतदाता नामावली नारायण नगरपालिका–६ मा यथावत छ ।

प्रमुख कार्यकारी अधिकृत प्याकुरेलका आफ्नै भाइ नारायण नगरपालिकामा पशु सेवा प्राविधिक चित्र प्याकुरेल र नारायण नगरपालिका–७ की वडा सदस्य निर्मला खड्कासमेतले निशुल्क गाई लिन चाहने कृषकहरुको नामावली समेत तयार पारेको गाई नआउँदै जानकारीमा आएको थियो ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ५, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया