मेयर र उपमेयर पक्षबीचको झडपमा घाइते भएका स्थानीयको ज्यान गएपछि मेयरविरुद्ध किटानी जाहेरी

 भदौ १९, २०७६ बिहिबार २०:४४:३० | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषाको हंशपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलसहित ४ जनामाथि किटानी जाहेरी दर्ता भएको छ ।

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडपमा परि ज्यान गुमाएका ५५ वर्षीय तपेश्वर मण्डलका छोरा राजकुमार मण्डलले मेयर मण्डलसहित ४ जनामाथि जाहेरी दर्ता गराउनु भएको हो ।

राजकुमारले बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा मेयर रामज्ञान, वडा नम्बर ३ का अध्यक्ष उदयप्रसाद सिंह, कार्यपालिका सदस्य  श्याम राउत, वडा नम्बर ४ का स्थानीय लालबाबु यादवमाथि  ज्यान मार्ने उद्योगमा संलग भएको भन्दै किटानी जाहेरी दर्ता गराएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको केन्द्र कार्यालय मेयर रामज्ञान मण्डलले वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि उपमेयर रेणु झाले अवरोध गर्दा दुवै समूहबीच झडप भएको थियो ।

त्यस क्रममा प्रहरीले हस्तक्षेप गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झडप भएको थियो । झडपको क्रममा प्रहरीको लाठीचार्जबाट उपमेयर झासहित ६ जना घाइते भएका थिए । जसमा उपमेयर पक्षका स्थानीय तपेश्वर मण्डल गम्भीर घाइते भएका थिए । उनको झण्डै एक महिनापछि उपचारको क्रममा बुधबार साँझ जनकपुर अञ्चल अस्पतालमा ज्यान गएको हो ।

वडा नम्बर २ का स्थानीयहरुले मेयर रामज्ञानसहितलाई कारबाही हुनुपर्ने माग गर्दै बिहीबार जनकपुरमा मोटरसाइकल जुलुससमेत प्रदर्शन गरेका छन् ।  

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १६, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया