अर्घाखाँचीमा नेकपाका ५ सय ७९ कार्यकर्ता कांग्रेसमा प्रवेश

 भदौ ३१, २०७६ मंगलबार १३:४४:५१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको पाणिनि गाँउपालिकामा नेकपाका ५ सय ७९ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुमा तत्कालीन एकिकृत नेकपा माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवार समेत रहेका छन् । पाणिनि गाँउपालिका वडा नम्बर–८, पालीमा स्थानीय तहको चुनावमा तत्कालीन एकीकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्त सहितका ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु खनालले जानकारी दिनुभयो । 

नेपाली कांग्रेस अर्घाखाँचीले सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत मंगलबार पालीमा भएको कार्यक्रममा नेकपा परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमले बताउनु भयो ।

एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेकपा जनतामुखी हुन नसकेको, विकासका काममा पक्षपातपूर्ण व्यवहार गरेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र आफ्नो गाउँको विकासमा दुइ तिहाइको सरकारले कुनै पहल नगरेको भन्दै आफूहरु कांग्रेसमा प्रवेश गरेको तत्कालीन एमाओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार नुमहमल अलिले बताउनु भयो । 

आफ्ना समस्या र स्थानीय स्तरका विकासमा आफूहरुलाई नेपाली कांग्रेसले साथ र सहयोग दिएकाे र जनताको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसमा प्रवेश गरेको तत्कालीन एकीकृत माओवादीबाट वडा सदस्य पदका उम्मेदवार मधु पन्तले जानकारी दिनुभयो । 

नव प्रवेशीहरूलाई नेपाली कांग्रेसका नेता चन्द्रबहादुर केसी, पूर्वमन्त्री रेवतिप्रसाद भुसाल, पार्टी सभापति विष्णु खनाल, पूर्व सभापति कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति अच्युत गौतम लगायतले प्रवेश गराउनु भएको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया