टिकट लिने लाइन र अनलाइन व्यवस्थित गर्न यात्रुको सुझाव

 असोज ७, २०७६ मंगलबार १३:२९:५१ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – आफ्नो घर बझाङ जानको टिकट लिन निरज रोका आइतबार बिहानै ४ बजे गोंगबु बसपार्क पुग्नुभयो । झण्डै ७ घण्टा लाइन बस्दा पनि उहाँले टिकट पाउनुभएन । ठेलमठेल भिडमा उहाँले १२ बजेसम्म पालो कुर्नुपर्‍यो । 

धनगढी जाने टिकट लिन ४ घण्टा लाइन बसेकी पुष्पा थपलियाले पनि उस्तै सास्ती भोग्नु पर्‍यो । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइन नहुँदा झन् समस्या भएको उहाँको गुनासो छ । 

दशैँमा घर जानको लागि काठमाण्डौको नयाँबसपार्कमा यसरी लाइन लाग्न थालेको मंगलबार तीन दिन भैसकेको छ । लाइन बस्नुपर्ने यात्रुको साझा समस्या हो भने सबैको एउटै उदेश्य जसरी पनि टिकट लिनु हो ।

दशैँमा काठमाण्डौबाट झण्डै २० लाख नागरिक बाहिरिने गरेको आँकडा छ । नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, बल्खु, कोटेश्वर लगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्न सकिने यातायात व्यवस्था विभागले जनाएको छ । तर बसको टिकट पाउन युद्ध नै जित्नुपर्ने जस्तो बाध्यता रहेको यात्रुको गुनासो छ ।

भद्रगोल अग्रिम टिकट बुकिङ

दशैँको मुख्य दिन आउन १५ दिन अघिदेखि नै यसवर्ष आइतबादेखि अग्रिम टिकट बुकिङ खुलेको हो । तर टिकट बुकिङ भद्रगोल भएको यात्रुको गुनासो छ । दशैँमा घरजाने भन्दा मन जति फुरुङग हुन्छ त्यो भन्दा बढी कसरी जाने भन्ने चिन्ताले यात्रुलाई निराश बनाउने गरेको छ । 

अघिल्ला वर्षहरुमा जस्तै घण्टाै लाइन बस्नुपर्ने, टिकट नै नपाइने जस्ता समस्या यसवर्ष पनि दोहोरिएका छन् । टिकट काउन्टरमा भिड व्यवस्थित छैन । बसपार्कमा मात्रै यात्रु सहायता कक्ष छ । त्यहाँ केही प्रहरी र स्वयंसेवक खटिएका छन् । लाइन नै व्यवस्थित नहुँदा धकेलाधकेल भने गर्नुपरेको छ ।

चिनजान भएकालेचाहिँ छिट्टै टिकट पाउने गरेको पनि लाइन बस्ने यात्रुको गुनासो छ । टिकट सहजै पाइन्छ भनेर यात्रु कसैगरी पनि आश्वस्त हुन नसकेकाले भिडभाड बढेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउनुहुन्छ । 

लाइन र अनलाइन व्यवस्थापन गर्न सुझाव

अनलाइनबाट पनि बसको टिकट लिन सकिन्छ । तर अनलाइन टिकट सेवा सीमित मात्रै छ । राप्ती यातायात, पश्चिम नेपाल बस व्यवसायी, मकालु, मेट्रो, जगदम्बा यातायात, साझा यातायात सहित १४ कम्पनीको मात्रै अनलाइनबाट टिकट काट्न सकिने बस सेवा डटकमले जनाएको छ । इ–सेवा, आईएमईलगायतबाट टिकट लिन सकिन्छ । अनलाइन सेवालाई प्रभावकारी, टोकन सिस्टम, बैंकबाट भुक्तानी गर्न सक्ने व्यवस्था भए थप सहज हुने यात्रुले बताएका छन् । 

यसो भन्छन् व्यवसायी

दोहोरो टिकट लिनेलाई कारवाही, टिकट काउन्टरमा बस्नेको सहजै पहिचान हुने व्यवस्था तथा ठाउँठाउँमा यात्रु सहायता कक्षको बन्दोबस्त गर्न सके पनि राहत हुन्थ्यो । तर यसमा सरकार गम्भीर नबनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ ।

‘अनलाइन टिकट व्यवस्था प्रभावकारी नहुनु यात्रुको मात्र होइन हाम्रो पनि गुनासो हो, प्रविधिलाई प्रयोग गर्न सकेनाैँ । यसका लागि व्यवसायी भन्दा सरकार नै बढी जिम्मेवार छ’ उहाँले प्रश्न गर्नुभयो, ‘सरकारले प्रस्ट नीति किन ल्याएन ? प्राइभेट कम्पनी केहीले गरेका छन् त्यो आफ्नो ठाउँमा छ ।’ सबैले अनलाइन सेवा प्रयोग गर्न नजान्ने र सहज पनि नभैसकेकाले लाइन बस्नुको विकल्प नभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अझै केही वर्ष यसैगरी काउन्टर र लाइन नै हुन्छ । यसपाली लाइन व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएका छन्, तर महासंघले सकेजती व्यवस्थित गर्ने प्रयास गरेको छ ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया