म आफै हलो जोतेर आएको हुँ, मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ : प्रधानमन्त्री ओली

 असोज ८, २०७६ बुधबार १५:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सके सानो ठाउँमा पनि धेरै उत्पादन गरेर लाभ गर्न सकिने बताउनुभएको छ ।

‘म आफै हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमिन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ’, प्रधानमन्त्री ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भन्नुभयो । 

आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमिनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उहाँले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने बताउनुभयो । 

उहाँले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे जानकारी दिनुभयो ।     

नेपालको कुल क्षेत्रफलको २८ प्रतिशत भूमि (झण्डै ४१ लाख २१ हजार हेक्टर) कृषि भूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल २६ लाख ४१ हजार हेक्टरमामा मात्र खेती गरिएको छ । 

‘हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमिनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमिनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ’, उहाँले भन्नुभयो, ‘सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।’    

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यतया बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गर्नुभयो ।    

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया