‘ननइस्यु’ लाई ‘इस्यु’ बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ : प्रधानमन्त्री

 असोज १३, २०७६ सोमबार १५:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका कामको चर्चा नगरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले देशमा केही पनि भएको छैन भनेर निराशा फैल्याउने, असन्तुष्टि फैल्याउन खोज्ने एकथरी प्रवृति पनि देखिएको बताउँदै असन्तुष्टि जनाउनु भएको हो । 

सोमबार ललितपुरको भैंसीपाटीमा रहेको सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्री निवास तथा सम्पर्क कार्यालयहरुको शिलान्यास गर्दै उहाँले सरकारले विकास निर्माणको कामलाई तीव्रता दिए पनि त्यसको चर्चा नगरिएको गुनासो समेत गर्नुभयो ।

‘केही पनि भएन भनेर निराशा फैलाउन खोज्ने, भएका कामहरुको चर्चा नगर्ने एकथरी प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘ननइस्यु’ लाई ‘इस्यु’ बनाएर सरकारको विरोध मात्रै गर्ने सिलसिला चलाइएको छ ।’ त्यस अवसरमा प्रधानमन्त्री ओलीले सरकार हरेक दिन एक कदम अघि बढिरहेको दाबी पनि गर्नुभयो ।

उहाँले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिएको पनि बताउनुभयाे । प्रधानमन्त्री ओलीले एक वर्ष पूरा नहुँदै मेलम्ची खानेपानी काठमाण्डाै ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ठेकेदार कम्पनी भागेका कारण मेलम्चीको खानेपानी आउन ढिलाइ भएको प्रधानमन्त्री ओलीकाे  स्पष्टीकरण थियो ।

ओलीले बेसहारा भएर बसेका नागरिकलाई सरकारले उचित व्यवस्था गर्ने बताउनुभयो । सडकमा बेसहारा भएर कुनै नागरिक बसेको भए खबर गर्न पनि प्रधानमन्त्री ओलीको सार्वजनिक अपिल छ । उहाँले देशलाई छिट्टै भिखारी र माग्नेमुक्त बनाउने घोषणा गर्नुभयो ।

उहाँले प्रदेश प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारसँग निरन्तर सम्पर्क गर्नुपर्ने भएकाले ललितपुरमा उनीहरुका लागि निवास तथा सम्पर्क कार्यालय स्थापना गरिएकाे स्पष्ट पार्नुभयो । उहाँले ललितपुरको सैँबु आवास क्षेत्रमै केही समयभित्रै संघीय मन्त्रीहरुको निवास बनाउने कार्य पनि सुरु हुने बताउनुभयो ।

सरकारले चालू आर्थिक वर्षभित्रै स्टेट गेष्ट हाउस, सभा हल र संघीय संसदका सांसदहरुको आवास निर्माणको कामलाई सुरु गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

यसअघि प्रधानमन्त्री ओलीले तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी सिंहदरबारमा संघीय संसद भवन र बालुवाटारमा प्रधानमन्त्री निवास नयाँ भवनको पनि शिलान्यास गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया