पचासभन्दा बढी शहरमा अब टेलिकमको फोरजी सेवा

 असोज १५, २०७६ बुधबार २०:५०:५५ | रासस
unn.prixa.net

काठमाण्डाै - सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।

टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाण्डौ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि झण्डै १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ ।

सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नम्बर १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ ।

यस्तै  प्रदेश नम्बर २ को जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ । प्रदेश नम्बर ३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गण्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सञ्चालनमा आएको छ ।

गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ । 

सम्बन्धित समाचार

प्रदेश ५ को तौलिहवा, तानसेन, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूर पश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सञ्चालनमा आएको छ ।

फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्‍याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको छ । याे सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ ।

सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वपूर्ण साधनका रुपमा हेरिएको छ । सरकारले डिजिटल नेपाल निर्माण गरी देशको सर्वाङ्गीण विकास गर्न फोरजी सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि  चिनियाँ कम्पनी जेडटीई कर्पाेरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महिना बाँकी रहेको भए पनि निर्धारित समयमै काम सकिने देखिएको छ । दैनिक १६ देखि १८ घण्टासम्म निरन्तर खटिई काम सम्पन्न गरिएको थियो ।

टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाण्डौ र बुटवलमा राखेको छ । टावरको फाउन्डेशन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ ।

गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानमा आवश्यक परीक्षण गरेको थियो ।

के हो फोरजी सेवा ?

फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा सुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो ।

फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबीपीएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ ।

फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलग अलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ ।

कसरी गर्ने ‘एक्टिभेट’

टुजी र थ्रीजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ ।

थ्रीजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया