दशैँ : पहिले जमरा र तासबुक, अहिले महरा र फेसबुक

 असोज १८, २०७६ शनिबार ९:३१:२४ | मिलन तिमिल्सिना
unn.prixa.net

पहिले जमरा राखेपछि दशैँ आउँथ्यो । यसपालि महरा बासेपछि दशैँ आयो । जमरा राख्ने दिन देशलाई दिसामुक्त घोषणा गरियो । देश दिसामुक्त घोषणा भएकै साँझ महरा दिशाहीन भएको घोषणा भयो । 

महरा दिशाहीन भएसँगै दशैँको जमरा खलबलियो । मान्छेले पूजाकोठामा राखेको जमरा बिर्सिएर अनलाइन र पत्रिकामा महरा खोज्न थाले । तासबुक बिर्सेर फेसबुक हेर्न थाले । पहिले खाने गरेको जाँड धोक्न बिर्सेर महरा ट्यागको रक्सी रोज्न थाले । 

देशको नाम रोशन हुनुपर्नेमा रोशनी भयो । कृष्ण स्वभावअनुसार कृष्ण भए, तर नाममा झुण्डिएकोजस्तो बहादुर भएनन् । उबेलाका कृष्ण पो भगवान थिए, देश विदेशबाट नाम कमाए । अहिलेका कृष्ण त मान्छे थिए, त्यसैले देश विदेशबाट बदनाम कमाए । सभाको मुखमा रहेर नाक काटे । मुखले नाक काटेपछि शरीर कुरुप भयो । उनलाई त दशैँ लागेन नै, देशलाई समेत दशा थपियो । हेर्दाहेर्दै दशैँ अर्कै भयो । 

त्यसो त अलि पहिलेदेखि नै हो, दशैँ खल्लो हुन र खलबलिन थालेको । केही वर्ष भयो, तासबुकलाई फेसबुकले जितेको । धन्न, यसपालि जमराको ठाउँ महराले लियो । जमरा राख्ने दिनदेखि सुरु भएको महराको चर्चा जमरा बिसर्जन गर्ने दिनसम्म पनि नसकिने प्रष्ट छ । घर, मावल, ससुराली जानेदेखि हातमा तास र बोतल समाउनेले पनि महराकै चर्चा गर्नेछन् । महराकै कुरा गरेर मनोरञ्जन लिनेछन् । 

घरको कोदो ब्रान्डदेखि बजारको अरु जुनसुकै ब्रान्डको रक्सी धोके पनि महरा ब्रान्डको खाइयो भनेर फूर्ति गर्नेछन् । फेसबुकमा टीका र जमरासँगै महराको कुरा गरेर फूलबुट्टा भर्नेछन् । टीका लगाउनेले जमरा कानमा सिउरिंदै महराजस्तो नभएस् भनेर आशीर्वाद दिनेछन् । फोटो खिचेर फेसबुकमै राख्नेछन् । 

सामानको भाउ बढेको चिन्ताभन्दा महराको भाउ घटेको रमाइलो धेरैलाई छ । त्यसैले यो दशैँभरी रमाइलो गर्ने अवसर मान्छेले भेटेका छन् । त्यसो त फेसबुक, यूट्युब र केही अनलाइन रमाइलो गर्नकै लागि धेरैले प्रयोग गर्छन् । फेसबुक, युट्युब र अनलाइनबाटै कसैलाई हिरो बनाउँछन् । कसैलाई जिरो बनाउँछन् ।

अरुबेला मात्र होइन, दशैँमा पनि फेसबुकमै रमाइलो गर्ने क्रम सुरु भैसकेको छ । पहिले पहिले दशैँको बेला आकाशमा चंगा उड्थे । बाटोघाटोमा केटाकेटी पिङ खेल्थे । बुढापाका रोटेपिङ र लिंगेपिङमा रमाउँथे, रमाइलो गर्थे । कोही कोही तासबुकमा भुल्थे । 

तर हिजोआज दशैँमा चंगा कमै उड्छन् । कतैकतै मात्र पिङ हालिन्छन् । पिङ हालेको ठाउँमा खेल्नेहरुको पनि त्यति घुईंचो हुन्न । चहचह हुईको आवाज सुनिन्न । 
किनकी पिङ खेल्ने जति सबै मोबाइलमा मस्त । अरुबेला त कोर्सबुकको सट्टा फेसबुकमा मस्त हुनेहरु दसैंको बेलामा पनि मोबाइल, ल्यापटप र कम्प्युटर अघिल्तिर फेसबुकमै व्यस्त । पिङ हाल्नेहरु पनि मोबाइलमै, पिङ खेल्नेहरु पनि मोबाइलमै । मोबाइलमा पिङ पनि खेल्न पाइने, चंगा पनि उडाउन पाइने । अनि आफूले टिका लगाएको अरुलाई पनि देखाउन पाइने ।

बस चढेर घर गएको, खसी काटेको, मासु खाएको, बाटोमा एक दुई ठाउँमा भेटिएको पिङमा चढेको, तास खेलेको, ससुराली र माइत हिँडेको, टीका र जमरा लगाएको सबैथोक फेसबुकमै देख्न पाइयो ।

हुन त कोर्सबुक र तासबुकभन्दा पनि फेसबुक पपुलर भैसक्यो । स्कुल कलेजमा पढ्नेहरुलाई कोर्सको बुक हेर्न अल्छी लाग्छ, तर फेसबुक हेर्न भने कहाँबाट कहाँबाट जाँगर पलाउँछ । मन पर्ने मान्छेका फेस हेर्न पाइने, आफ्नो बिग्रेको फेसलाई पनि मिलाएर राख्न पाइने, पिसाब गरेको देखि हिसाब गरेको सम्मका कुरा लेख्न पाइने, हाइ हेलो भन्दै मन पर्नेसँग मनका कुरा साट्न पाइने भएकाले फेसबुकले सबैलाई भुलाउन थालेको छ ।

हातमा मोबाइल छ, साथमा कम्प्युटर । चोरेको, मागेको, कमाएको नोट यसो खर्च गर्यो भने इन्टरनेट चल्छ । त्यसमाथि शहर शहरमा टेलिकमको फोरजी पुग्यो । फोरजीले इन्टरनेटको स्पिड बढायो । इन्टरनेट चलेपछि फेसबुक खुल्छ । फेसबुक खुलेपछि मान्छे त्यसै भुल्छ ।

आज बुढीसँग झगडा पर्यो, आज बुढासँग ठाकठुक भयो । यि मेरा बुढा, उनी मेरी बुढी । यि चाहिँ मेरी गर्लफ्रेन्ड, उ मेरो व्याईफ्रेन्ड । हरेकलाई चिनाइरहेको हुन्छ । लभ परेको, डेट गएको, भेट भएको सबै कुरा फोटो सहित फेसबुकमा अपडेट गर्न भ्याइसकेका हुन्छन् । 

जहाँ पुगे पनि, जे गरे पनि, जसलाई भेटे पनि, जे भए पनि फेसबुकमा स्टाटस लेखिरहने, फोटो हालिरहने मान्छे लाइक र कमेन्टका सधैं भोका हुन्छन् । बरु उनीहरुलाई भात र खाजा चाहिँदैन । तर लाइक र कमेन्ट भने चाहिन्छ । कुन स्टाटसमा कति लाइक र कमेन्ट आयो भनेर उनीहरु हेरिरहन्छन् । पिङ खेलेको र टीका लगाएको फोटोमध्ये कुनमा बढी लाइक आयो भनेर हिसाब गर्छन् । 

केही वर्षदेखि दशैँमा चल्दै आएको यो चलन हो । यसपालि पनि यसले व्यापक निरन्तरता पाएको छ । दशैँको बेला फेसबुकमा पिङ खेल्न र रमाइलो गर्न मात्रै होइन, अरुले के गर्दैछ र कसले के भन्दैछ भन्ने कुरा पनि मज्जाले थाहा पाइन्छ । कसको दशैँ आयो, कसको दशा आयो बुझ्न पाइन्छ । जमराको  हाइट बढेको र महराको हाइट घटेको फेसबुकमै हेर्न सकिन्छ । जमरासँग अक्षता र दक्षिणाको लेनदेन फेसबुकमै देख्न सकिन्छ । 

तासबुकभन्दा फेसबुकमा हलचल । जमराभन्दा महरा कमसल । पहिले पहिले पिङ र तासबुकलाई फेसबुकले मात्र जित्थ्यो । यसपालि त दशैँमा जमराको बीउलाई महराको निउँले खाइदियो । 

भन्छन्, भगवानले दुईवटा हात दिएका एउटा भात खान र अर्को मोबाइल चलाउन । त्यसैले मोबाइल चलाउँ, फेसबुक हेरौं । फेसबुकमै रमाउँ । फेसबुकमै पिङ खेलौं । फेसबुकमै टीकाटालो लगाउँ । फेसबुकमै दानदक्षिणाको हरहिसाब गरौं । जमराभन्दा महराको कुरा गरौं । फेसबुकमै अरु महरा खोजौं । खोजी खोजी मोहोरा बनाऔं । आफूलाई बचाउँ, अरुलाई उडाउँ । दशैँको शुभकामना । 

अन्तिम अपडेट: चैत १३, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया