टी-२० सिरिज : नेपालद्वारा नेदरल्याण्ड्स ४ विकेटले पराजित

 असोज २०, २०७६ सोमबार १४:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाकाे आफ्नाे दाेस्राे खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएकाे छ।

नेदरल्याण्ड्सले दिएकाे १३४ रनकाे लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएकाे हाे ।

नेदरल्याण्ड्सलाई १३३ रनमा राेक्न ४ विकेटकाे महत्वपूर्ण याेगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएकाे हाे ।

अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा क्रिजमा रहेका करन केसीले पहिलाे बलमा छक्का, तेस्राेमा चाैका तथा चाैथाे बलमा फेरि छक्का प्रहार गरेपछि स्काेर बराबर भएकाे थियाे । पाँचाैँ बलमा १ रन लिँदै केसीले नेपाललाई प्रतियाेगिताकाे दाेस्राे जित दिलाएका हु्न् ।

यसअघि १३४ रनकाे लक्ष्य दिने क्रममा नेदरल्याण्ड्सका लागि म्याक्स ओ'दाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाएका थिए । 

बलिङतर्फ करन केसी र सन्दीप लामिछानेले ४-४ तथा ललित राजव‌शीले १ विकेट लिएका थिए । एक विकेट भने रन आउटका रुपमा आएकाे थियाे ।

१३४ रनकाे लक्ष्य भेट्न मैदानमा उत्रेकाे नेपालले मध्यम सुरुवात गरेकाे थियाे । टिमकाे स्काेर २५ रन हुँदा पवन सर्राफ आउट भए । त्यसपछि २९ रन हुँदा आरिफ शेख दाेस्राे विकेटका रुपमा आउट भए । दिपेन्द्र  सिंह ऐरी पनि व्यक्तिगत ८ रन बनाएर आउट भए ।

त्यतिञ्जेलमा नेपालकाे स्थिति ११ ओभर ४ बलमा ६१ रन थियाे । त्यसपछि विनाेद भण्डारी क्रिजमा आए तर १४औँ ओभर चलिरहँदा ओपनिङमा आएका कप्तान पारस खड्का व्यक्तिगत ३३ रन बनाएर चाैथाे विकेटका रुपमा पतन भएपछि नेपालकाे स्थिति अलि धराशायी भएकाे थियाे । 

१७औँ ओभरमा राेहित पाैडेल ५ रनमा तथा १८ औँ ओभरमा विनाेद भण्डारी २६ रन बनाएर आउट हुँदा नेपाल ६ विकेट गुमाएर १०६ रनकाे स्थितिमा थियाे ।

जितका लागि बाँकी १२ बलमा २८ रन आवश्यक हुँदा साेमपाल कामी करन केसीलाई साथ दिन क्रिजमा आए । १९ औँ ओभरमा ११ रन आएपछि नेपाललाई अन्तिम ६ बलमा  १७ रन आवश्यक हुँदा स्ट्राइकमा रहेका करन केसीले पहिलाे बलमा छक्का, तेस्राेमा चाैका तथा चाैथाे बलमा फेरि छक्का र पाँचाैँमा १ रन प्रहार गरेपछि नेपालले झण्डै झण्डै गुमाइसकेकाे खेल आफ्नाे पक्षमा पार्न सफल भयाे । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया