तनहुँमा चितुवा आतंक: पिङ खेलिरहेका बालककाे चितुवाकाे आक्रमणबाट ज्यान गयाे

 असोज २२, २०७६ बुधबार ७:३४:५१ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

तनहुँ - चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा मंगलबार एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा भानु नगरपालिका–१, जामुनेगैह्रा बस्ने विष्णु बानियाँका चार वर्षीय छोरा आशिष बानियाँ रहेका छन् ।

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । 

‘दशैँको दिन टीका लगाएर घर नजिकै पिङ खेल्ने क्रममा चितुवाले आक्रमण गरेको रहेछ’, प्रहरी नायब उपरीक्षक लामिछानेले भन्नुभयो, ‘भानु नगरपालिकामा चितुवाको त्रास रहेकाले बालबालिकालाई एक्लै नछाड्न आग्रह गर्दछु ।’

भानु नगरपालिकामा यसअघि पनि चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गइसकेकाे छ । चितुवाले आक्रमण गरी यसअघि दुई बालक र दुई बालिकाको ज्यान लिएको थियो । 

२०७४ फागुन १ गते भानु नगरपालिका–३, दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४, जोखानेकी चार वर्षीया रञ्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका–२, ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२, भकुण्डथोककी नौ वर्षीया पुष्पा अधिकारीको ज्यान गएको थियो । 

यसअघि असोज १५ गते भानु नगरपालिका–२ मा रहेकाे सामुदायिक वनमा निर्माण गरिएको खोरमा एउटा चितुवा नियन्त्रणमा लिइएको थियो । चितुवाले फेरि आक्रमण गरेपछि भानु नगरपालिकामा अरु चितुवा पनि रहेको अनुमान गरिएको छ । चितुवाले फेरि आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया